‘मूलधारको राजनीतिमा युवालाई पन्छाउने काम’

मूलधारको राजनीतिमा युवापुस्तालाई पन्छाउने काम हुने गरेको युवा नेताहरूले बताएका छन् । खासगरि युवालाई कुनै सामान्य जिम्मेवारी दिएर एक ठाऊँमा तह लगाउने र नेतृत्वमा आउन नदिने प्रचलन ब्याप्त रहेको उनीहरूले बताए ।

पोखरामा शनिबार यूथ थिंकर्स सोसाइटी, पोखराले आयोजना गरेको अन्तरक्रिया कार्यक्रम ‘नेपाली राजनीतिमा युवाको भूमिका र अवसर’ को क्रममा बोल्दै युवा नेताहरूले यस्तो बताएका हुन् । अन्तरक्रियामा विवेकशील साझा पार्टीका केन्द्रीय सदस्य तथा युवा संगठन संयोजक अब्दुस मियाँ, नयाँ शक्ति पार्टीकी नेतृ मानुषी यमी भट्टराई र नेकपा सम्बद्ध विद्यार्थी नेतृ सरिता पुरी प्यानलिस्ट थिए ।

विवेकशील साझा पार्टीका युवा संगठन सँयोजक अब्दुस मियाँले युवाहरूलाई अघि बढ्नका लागि राज्यको नीति नै बाधक भएको बताए । उनले राज्यले कुनै कार्यकारी पदका लागि उमेरको हदबन्दी तोक्नु नै युवापुस्ताका लागि बाधक भएको बताए ।
‘नेपाली सिनेमामा युवापुस्ताको प्रवेश पायो । र, अहिले यो क्षेत्रमा हरेक युवाको क्रेज देखिन थालेको छ । त्यस्तै खेलकुदमा पारस खड्का र सन्दीप लामिछानेहरू आए र त्यस क्षेत्रको उचाई बढ्यो । व्यवसायमा युवापुस्ता आएपछि उनीहरूले तरक्की गरिरहेका छन् । तर राजनीतिमा अझै पनि युवापुस्तालाई पछार्ने काम हुन्छ । त्यसैले यस क्षेत्रमा युवापुस्ताको आकर्षण कम छ । हामीले यही कुरालाई सुधार्न आवश्यक छ ।’ मियाँले भने ।

नयाँ शक्तिकी नेतृ मानुषी यमी भट्टराईले युवा उमेर समूहका महिलालाई राजनीतिमा अझै बढि समस्या रहेको अनुभव सुनाईन् । आफ्नै अनुभव साट्दै उनले यो कुराको भुक्तभोगीको रुपमा आफैलाई उदाहरणको रुपमा पेश गरिन् । युवापुस्ताले मूलधारको राजनीतिमा आउनका लागि अझै संघर्ष गर्नुपर्ने उनले बताईन् ।

नेकपा विद्यार्थी नेतृ सरिता पुरीले पनि त्यस्तै अनुभव साटिन् । उनले आफ्नो पार्टी लोकतान्त्रिक भएपनि कतिपय सवालमा असन्तुष्टि पोख्दा स्पष्टिकरण सम्म दिनुपरेको बताईन् । यद्यपी उनले यसका लागि युवाले आवाज उठाउन आवश्यक रहेको सुनाईन् ।
‘अहिले हाम्रो मातृ पार्टी सरकारमै छ । तैपनि हामी आफ्नो असन्तुष्टि पोख्न हच्किँदैनौँ । यसैगरि सबैले आफ्नो ठाऊँबाट आवाज उठाउन सक्यौँ भने हामी मुलधारको राजनीतिमा आउन सक्छौँ’, पुरीले भनिन् । नेतृत्व विकासको यो सामाजिक सवालमा युवाहरू राजनीतिक आस्थाभन्दा माथि उठेर एक ठाऊँमा उभिनुपर्ने उनको धारणा थियो ।

कार्यक्रममा सहभागीले प्यानलिस्टहरूलाई लक्षित गर्दै विभिन्न प्रश्न उठाएका थिए । प्यानलिस्टलाई यूथ थिंकर्स सोसाइटी, पोखराकी अध्यक्ष सजुमा घिमिरेले सहजीकरण गरेकी थिईन् । सोसाइटीकै सदस्य सरोज गौतमले कार्यक्रममा सहभागीहलाई धन्यबाद ज्ञापन गरे ।