भण्डारीको डेब्युमा मैत्रीपूर्ण खेलमा नेपाल कुवेतसँग बराबरी

राष्ट्रिय पुरुष फुटबल टोलीले कुवेतसँग मैत्रीपूर्ण खेलमा बराबरी खेल्दै सुखद शुरुवात गर्यो । अब दोस्रो मैत्रीपूर्ण खेल भने मार्च २५ मा खेल्ने छ ।

पोखराका अजित भण्डारीले डेब्यु गरेको राष्ट्रिय टोलीले गोलरहित बराबरी खेल्दै आफनो डेब्युलाई सुखद बनाए । उनीसँग अन्य चार खेलाडीले पनि राष्ट्रिय टोलीबाट डेब्यु गरेका छन् । प्रशिक्षक योहान कालिनले नेपाल पुलिस क्लबबाट व्यावसायिक फुटबल खेल्दै आएका अजित भण्डारीलाई प्रशिक्षणमा प्रभावशाली प्रदर्शन गरेपछि डिफेन्सको मध्यभागमा देवेन्द्र तामाङसँग मैदानमा उत्रिएका थिए । खेल अवधिभर नेपाली टोली कुवेतको आक्रमण विफल पार्न नै व्यस्त रहँदा अजितले पनि सन्तोषजनक प्रदर्शन रह्यो ।

पुलिसकै मिडफिल्डर रवी पासवानले पनि कुवेतविरुद्ध डेब्यु गर्ने मौका पाएका छन् । रवीले खेलको ६१ औं मिनेटमा सुमन लामाको स्थानमा मैदान प्रवेश गर्दै राष्ट्रिय टोलीबाट डेब्यु गरेका हुन् । राष्ट्रिय टोलीमा परेको पहिलो अवसरमा नै रवीले डेब्यु गर्ने मौका पाएका हुन् ।
नेपाल पुलिस क्लबबाट व्यावसायिक फुटबल खेल्दै आएका रवीले यसअघि मनाङ मर्स्याङदी क्लबबाट पनि खेलिसकेका छन् । उनले मोफसलको प्रतियोगिताहरुमा उत्कृष्ट प्रदर्शन गर्दै राष्ट्रिय टोलीको यात्रा तय गरेका हुन् । रवीले धनगढीको खप्तड गोल्डकपमा सर्वोत्कृष्ट खेलिद घोषित हुँदै स्कुटर पनि जितेका थिए ।

फरवार्ड विमल रानाले पनि कुवेतविरुद्ध खेल्दै राष्ट्रिय टोलीबाट डेब्यु गरे । खेलको ७३ औं मिनेटमा नवयुग श्रेष्ठको स्थानमा मैदान प्रवेश गर्दै विमलले डेब्यु गर्ने अवसर प्राप्त गरे । उनले राष्ट्रिय टोलीमा परेको पहिलो अवसरमा नै मैदान प्रवेश गरेका हुन् । लिग च्याम्पियन मनाङ मर्स्याङदी क्लबका लागि खेल्दै आएका विमलले पछिल्लो समय विदेशी खेलाडीको उपस्थितिमा पनि क्लबमा प्रभावशाली प्रदर्शन गरेका थिए ।

मनाङका डिफेन्डर सुरज विकले राष्ट्रिय जर्सी लगाउँदै मैदान छिर्ने अवसर पाए । जुन उनको डेब्यु थियो । सुरजले अजित भण्डारीको स्थानमा ८३ औं मिनेटमा मैदान छिर्दै राष्ट्रिय टोलीका लागि पहिलो खेल खेले । नेपाल पुलिस क्लबमा रहँदा केहि समय नियमित राष्ट्रिय टोलीको क्याम्पमा परेका सुरज अन्तिम टोलीमा भने पहिलो पटक परेका हुन् ।

त्यसअघि मिडफिल्डर सन्तोष तामाङले पनि पहिलो पटक राष्ट्रिय टोलीको जर्सी लगाउने सौभाग्य पाए । खेलको ८१ औं मिनेटमा सन्तोषले भरत खवासको स्थान लिँदै मैदान प्रवेश गरे । सन्तोष त्रिभुवन आर्मी क्लबका मुख्य र भरपर्दा मिडफिल्डर हुन् ।

source:kheladinews