यही माघ ६ गते मेरी ममतामयी आमाको निधन भयो । मानिस जन्मन्छ, मृत्यु वरण गर्छ । यो कुनै नयाँ कुरा होइन, स्वभाविक प्रक्रिया हो । अझ भनौं, प्रकृतिको नियम हो । यसलाई कसैले रोक्न सक्दैन । यस्तो जान्दा जान्दै पनि मान्छे जन्ममा खुसी हुने र मृत्युमा रुने डराउने, विह्वल हुने गर्छ । मेरी आमा ९५ वर्षकी हुनुहुन्थ्यो । उहाँ कमजोर र अशक्त हुनुहुन्थ्यो । लगभग विस्तारामा पर्नु भएको थियो । तर पनि आमा मृत्युदेखि डराइरहनु भएको थियो ।म भने आमाको अन्तिम क्षणसम्मलाई कसरी सरल र सहज बनाउन सकिन्छ भनी प्रयत्नमै थिएँ । मैले मर्नदेखि डराएका धेरै मानिसको अवस्थालाई नजिकैबाट देखेको छु । बुढेसकाल ज्यादै पीडादायी छ । ज्येष्ठ नागरिकहरु घर, परिवार र आफन्तबाट अपमानित बनेको पनि मैले देखेको छु । अहिलेको व्यस्त समय र विदेश छोराछोरी भएको समय, उनीहरुका लागि अझ कहालीलाग्दो छ । यसतर्फ सरोकारवाला सघं, संस्था र हामी सबैले सोच्नुपर्ने बेला आएको छ ।
शरीर बूढो हुनु, शारीरिक रुपमा काम गर्न नसक्नु, विगतका घटनाले मन पोल्नु, रोग व्याधिले सताउनु, आर्थिक पहुँच नहुनु, छोराछोरी, नातिनातिनाबाट अपहेलित हुनु वृद्धवृद्धाका मुख्य समस्या हुन् । निराकरण गर्न मिल्ने समस्या हटाएरै, नमिल्ने समस्यालाई पनि कम गर्दै लैजानु जरुरी छ । आजका बालबालिका भोलि वयस्क हुन्छन् । आजका वयस्क पनि चाडै वृद्धावस्थामा पुग्छन् । भोलि हामी पनि त्यस्तै अशक्त हुन्छौं, यी वृद्धहरुले भोगेका समस्या हाम्रा पनि हुन्छन् भन्ने सोच हामीमा हुनुपर्छ ।यति सोच समाज, आफन्त, छोराछोरीमा हुने हो भने वृद्धावस्थाका धेरै समस्या सहज हुन्छन् । हाम्रो देशमा अहिलेसम्म ज्येष्ठ नागरिकका लागि मनोरञ्जन गर्ने, प्रवचन सुन्ने, छलफल चलाउने, घुमफिर गर्ने रमणीय पार्क, आफ्ना अनुभव सुनाउने ठाउँ, आफूले जानेको सीप उपयोग गर्ने, सभा, सम्मेलन गर्ने स्थानको अभाव छ । अझ यस्तो व्यवस्था छदै छैन भन्दा पनि हुन्छ । यस्ता ठाउँ निर्माण र विकास गर्न सके वृद्धवृद्धाबाट पनि राष्ट्रले र समाजले केही कुरा सिक्ने थियो । त्यति नभए पनि उराठलाग्दो बूढेसकाल अलि कम विरसिलो बन्ने थियो ।
मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा ज्येष्ठ नागरिक र एकल महिलालाई १ सयरुपैयाँ सामाजिक सुरक्षा भत्ता दिने घोषणा भई नियम बन्यो । सुरुमा त यसलाई त्यति धेरैले रुचाएन्न । पछि पछि त यो ठूलो विषय भयो र अहिले मासिक २ हजारका दरले ज्येष्ठ नागरिकले भत्ता पाउन थालेका छन् । यसले वृद्धवृद्धाको मुहारमा मुस्कान थपेको छ । कहाँ जाने हो बा भनेर सोध्दा सामाजिक भत्ता लिन हिडेको भन्दछन् । किन आत्तिएर आजै हिड्नुभो भन्दा हामीलाई राज्यले सम्मान गरेको हो किन नजानु त यो हाम्रो अधिकार हो भन्दछन् । यसरी वृद्धवृद्धा पनि हक, अधिकारका बारेमा सुसूचित रहेको देखिन्छ । त्यसैले हाम्रो देशले दिने सामाजिक सुरक्षा भत्तालाई महत्वकै दिएरै हेरिएको छ । सरकारले गर्ने सहयोग कति महत्वपूर्ण हुन्छ भन्ने कुरा यही विषयले पनि पुष्टि गर्छ । अझ बेरोजगार युवा, गरिबीको रेखामुनि रहेका जनता र श्रम गरे उत्पादन बढाउने किसानलाई यस्तै खालको सहयोग गर्न राज्यले कति जाति हुन्थ्यो ।
हाम्रा अभिभावकले हामीलाई यहाँसम्म ल्याउन गरेको परिश्रम र योगदानको कदर हामीले गर्नैपर्छ । आफ्नै सन्तान अमानवीय हुँदाको पीडा असह्य हुन्छ ।
अब यहाँ आफ्ना अविभावकलाई जिउँदो छदा कस्तो व्यवहार गर्ने भन्नेबारे केही कुरा राखौं । हाम्रा बाबाआमा, हजुरबा, हजुरआमा र अग्रजहरु धेरैजसो जीवनको उत्तराद्र्धमा छन् । उनीहरुलाई सम्मान पूर्वक राख्ने, समय अनुसार तातो चिसो खानेकुरा दिने । औषधि पानीको व्यवस्था गर्ने । दिनरात एक्लै नछाड्ने, साथ दिने उचित प्रवन्ध मिलाउनु जरुरी छ । पोषिलो र तागतिलो खानेकुरा उपलब्ध गराउने, न्याना कपडाको व्यवस्था र सजिलो विस्तारा व्यवस्थापन गरिदिनु हाम्रो दायित्व हो । सजिला चर्पी र बाथरुमको पनि व्यवस्था मिलाउँदा उनीहरुलाई थप सहज हुन्छ । उनीहरुसँग नजिकै बसेर कुरा गर्ने, उनीहरुका अनुभवलाई सुनिदिने गर्नु पनि हाम्रो कर्तव्य हो । आफूले थाहा पाएका नयाँ नयाँ कुरा सुनाउने, देश विदेशका खबर सुनाउने, हाम्रा आफन्तका उन्नति र प्रगतिका बारेका बताउने गर्दा उनीहरुलाई युगसँगसँग आफूहरु रहेको आभास हुन्छ । उनीहरुमा एक्लोपन पनि विकास हुन पाउँदैन । वृद्धवृद्धामा जोश, जाँगर भरिन्छ ।
वृद्धाहरु सँगसँगै बसेर खाने, पिउने, वेला बखत सबै परिवार बसेर सहभोज गर्ने, सँगै बसेर टिभी हेर्ने, मीठा गीत सुनाउने गरे उनीहरुको जीवन निरस हुन पाउँदैन । सबैको साथ रहेको आभास हुन्छ । आत्मबल बढ्छ । चाड पर्वमा सँगै बसेर माया बाड्ने, उत्सव मनाउने, छोटा भ्रमणमा लैजाने गर्दा उनीहरुमा नयाँपन महसुस हुन्छ ।
हाम्रा अभिभावकले हामीलाई यहाँसम्म ल्याउन गरेको परिश्रम र योगदानको कदर हामीले गर्नैपर्छ । यो हाम्रो कर्तव्य र मानवता दुवै हो । आफ्नै सन्तान अमावीय हुँदाको पीडा असह्य हुन्छ ।उनीहरुलाई लागेका इच्छा, चाहना सम्भव भएसम्म पूरा गरिदिए आफ्नो योगदान र जीवन संघर्ष पनि सार्थक भएको सम्झेर उनीहरुको मुहारमा मुस्कान छाउँछ ।
मानिसको अस्तित्व मृत्युसँगै सकिन्छ । जन्म र मृत्युबीचको समय नै मानिसको जीवन हो । मृत्युपछि गरेका काम, सांस्कारको खास अर्थ हुँदैन ।हाम्रा अभिभावकले अथक मेहनेत गर्दा पनि पूरा गर्न नसकेका सपना साकार बनाउन सन्तानले योगदान गरिदिए त्यो जति खुसीको कुरा अरु हुँदैन । मरेपछि कपाल खौरिनु, सेतो पहिरन धारण गर्नु, कोरा बारेर बस्नु, कसैलाई नछुनु, दान गर्नु, गरुड पुराण लगाउनुभन्दा बाचुञ्जेल बाआमा, हजुरबा हजुरआमाको सेवा गर्नु निकै श्रेयष्कर छ । जीवित छउञ्जेल खानपिन, कपडा, उपचार, उनीहरुको इच्छाको परवाह गरी छिछी दूरदूर गर्नेहरु मृत्युपछि तामभाmमाका साथ अन्तिम संस्कार गर्छन् ।
वृद्धावस्था भएपछि धेरैको ध्यान मठ, मन्दिर, गुम्बा चर्च र जस्जिदतिर गएको देखिन्छ । उहाँहरुको जीवनदृष्टि कमजोर हुनु र धर्मको नाममा खुसेको विकृति यस्तो भएको हो । दान, दक्षिणा, पूजाआजाले जीवन सुखी हुने, आफन्तले सुख पाउने, मानिसको भलो हुने सोच वृद्धाहरुमा विद्यमान देखिन्छ । यी चिजमा सिधै निषेध गर्नुभन्दा व्यवहारिक रुपमा बुझाए वृद्धवृद्धाले पनि कुरा बुझ्छन् । कुरा बुझ्दैनन्, बुढेसकाल भनेको यस्तो हो भनेर तिरस्कार गरे उनीहरुको जीवन थप निरस हुँदै जान्छ । आफ्ना अग्रजलाई रमणीय स्थान घुमाउने, फूलबारीतिर लगिदिने, बिहान, बेलुका सँगै लिएर घुम्ने, उनीहरुका कुरा सुन्नेसम्म गरिदिन सके पनि उनीहरुले एकांकी जीवनबाट एक हदमा मुक्ति पाउँछन् ।
आजका युवायुवतीले वृद्धवृद्धालाई यस्तो गरिएको देखिँदैन । फुर्सद, पैसा छैन भनी सामान्य इच्छासमेत पूरा गरिदिनतिर सन्तानले ध्यान दिँदैनन् ।किरिया भनेको अर्काे अर्थमा कर्म हो । बाआमाका लागि अवश्यक कर्म, दुखसुखमा साथ दिए, यही नै किरिया हो । यही नै कर्तव्य हो । बाचुञ्जेल तिरस्कार, हेला गर्ने र मरेपछि आँसु चुहाउनुको अर्थ छैन । हामील मान्दै आएको मृत्यु संस्कार अवैज्ञानिक, पुरातनवादी, भड्किलो, बोझिलो र खर्चिलो छ । यसमा परिवर्तन जरुरी छ । आफ्ना आफन्त, प्रियजनको निधनले सबैलाई दुखित बनाउँछ नै । दुःखको समयमा साथ, सहयोग चाहिनेमा खान नदिएर, कपडा लगाउन निषेध गरेर, छुनसम्म नदिएर कमजोर बनाएर सन्तानलाई राख्दा पीडा असह्य हुन जान्छ । आफन्तको शोकमा रहेका मानिसलाई लगाउन, खान नदिएर कमजोर बनाएर कमजोर अवस्थामा अनेक दान गर्न लगाउने, खर्च गर्न लगाउने हाम्रो संस्कार निकै अव्यवहारिक छ । यसमा परिवर्तन जरुरी छ । धेरै परिवर्तनको वकालत गर्नेहरु पनि आफूलाई पर्दा भने नयाँ संस्कार अपनाउन सक्दैनन् ।
शोक ७ सात दिनसम्म मात्र बारें ।मेरी आमाको अभाव महसुस त मलाई जीवनर नै भइरहन्छ ।
परिवर्तन आफैंबाट सुरु गर्नुपर्छ भनी मैले बुवाको २०७९ साल पुस २८ मा निधन हुँदा पनि कपाल काटिनँ, सेतो वस्त्र लगाइनँ,, कात्रो बेरिनँ, छोइ छिटो गरिनँ, तर्पन, पिण्ड, पूजा गरिनँ ।गहुँत नछर्किए पनि मेरो घर अपवित्र रहेन । गाईदान नगरे पनि बाआमा स्वर्ग नपुगी कतै झुण्डिएको देखिनँ । स्वर्ग, दुःख, नरकको डर देखाएर दुःखको क्षणमा गर्न वाध्य पारिने यस्तो दान हाम्रो समाजका लागि उपयुक्त र शोभनिय छँदै छैन ।
मेरी आमाको निधन २०७५ साल माघ ६ गते भयो । मैले मृत्यु संस्कारमा सुधार गर्ने प्रयत्न गरे ।उहाँको शोक ७ सात दिनसम्म मात्र बारें ।मेरी आमाको अभाव महसुस त मलाई जीवनर नै भइरहन्छ । यसबाट केही नातेदार र साथी मसँग परपर भएका छन् । कति साथी र आफन्त भने झन् उत्साही भएका छन् । यो मानिसले जीवनमा गुज्रिनै पर्ने अवस्था हो । हामी वैज्ञानिक युगमा छौं । बोलेर र लेखर आधुनिक युगको मान्छे बन्न सकिँदैन । व्यवहारले त्यसलाई पुष्टि गर्नुपर्छ । धेरैले मृत्यु संस्कारमासुधार खोजेको देखिन्छ तर आफैंबाट सुधार गरिहाल्न सकेको देखिँदैन । यीनै कुरालाई मनन गर्दै पुरानो प्रथालाई चिनेर नयाँ ढंगबाट परिवर्तनगामी सरल र सहज संस्कार अब जरुरी छ । जीवभर रुवाउने र मृत्यु भएपछि रुने संस्कारले हामीलाई कहीँ पु¥याउँदैन । यसले हामीलाई गिज्याइरहेको छ ।
संसार २ प्रकाको छ ः देखिने र नदेखिने । हामी कुन संसारमा बाँच्ने, हाम्रै रोजाइ हो । सत्यको बाटो कि असत्यको बाटो ? आफूले भोगेको विश्वास गर्ने कि अरुले अरुले सुनाएको ? जीवनलाई समीक्षा गरौं, के व्यवहारिक हुन् के ढोङ हुन् सोचौं ।यो समालोचनात्मक सोचाइले हामीलाई पक्कै सभ्यताको उचाइतिर र व्यवहरिक विन्दुतिर लैजान्छ ।
आमाबाको जीवनभर मैले सकेसम्म इमान्दार र कर्तव्य परायण भएर काम गरें । के काम खानु हुन्छ, के लाउनु हुन्छ, कहाँ जान चाहनु हुन्छ ? समस्या के के छन् ? औषधी पानी के कसो भो ? सबैको ख्याल गरी त्यसको प्रबन्ध गरे । मरेपछि मलाई पीडा भयो, शोकमा परें । त्यही शोक बारें । अब उहाँहरु हुनुहुन्न, उहाँहरुका अधुरा सपना अझै छन्, उहाँहरुका मार्गदर्शन मस्तिष्कमा ताजै छन् ।उहाँहरुका सपना, योजना र चाहना पूरा गर्नु मेरो कर्तव्य हो । जीवनवादी र परिवर्तनगामीहरुलाई सघाउनु पनि हाम्रो दायित्व हो । जीवन रहेसम्म मेरो यो दायित्व रहिरहन्छ । मेरो जीवन भनेकै यही दायित्वको अर्काे नाम न हो ।
पोखरा–१३, कास्की




