कांग्रेस कोषाध्यक्षहरुको तेस्रो राष्ट्रिय सम्मेलन पोखरामा

नेपाली काँग्रेसका जिल्ला कोषाध्यक्षहरूको तेस्रो राष्ट्रिय सम्मेलन पोखरामा हुने भएको छ । नेपाली काँग्रेस जिल्ला कोषाध्यक्षहरूको राष्ट्रिय कार्यसमितिले पोखरामा सोमबार पत्रकार भेटघाट गरी चैत्र २८ र २९ गते सम्मेलन गर्न लागेको जानकारी दिएको छ ।

सम्मेलनको उद्घाटन सत्र चैत्र २८ गते पोखरा सभागृहमा हुनेछ । उद्घाटन सत्रलाई पार्टीका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल सहित शीर्ष नेताहरूले संवोधन गर्ने बताएको छ ।

कोषाध्यक्षहरूको राष्ट्रिय सम्मेलन पार्टीलाई चलायमान र सुदृढिकरण बनाउनका लागि हो, नेपाली काँग्रेस जिल्ला कोषाध्यक्षहरूको राष्ट्रिय कार्यसमितिका अध्यक्ष गोविन्द पुडासैनीले भने, ‘यसले पार्टीलाई शशक्त ढंगबाट अघि बढाउन सहयोग गर्नेछ ।’

उनले सम्मेलनले पार्टीलाई गुट उपगुट अन्त्य गरी एक ढिक्काका साथ अघि बढ्न दबाबमूलक सुझाव दिने उल्लेख गरे । सम्मेलनले विदेश पलायन युवाहरूलाई स्वदेशमा नै रोजगारीको व्यवस्था गर्न सरकारलाई दबाब दिने र भातृ तथा शुभेच्छुक संस्थालाई महाधिवेशनमार्फत अघि बढाउन पार्टीलाई दबाब दिने बताइएको छ ।

यस्तै, सम्मेलनले सरकारका गतिविधि चित्तबुझ्दो नभएकाले देशव्यापी विरोधका कार्यक्रम संचालन गर्नका लागि केन्द्रलाई आग्रह समेत गर्ने छ । पार्टीभित्रको एकतासँगै सरकारका गतिविधिप्रति पनि खवरदारी गरिने छ, समितिकी महासचिव लक्ष्मी पाण्डेले भनिन्, ‘सम्मेलन पार्टीलाई व्यवस्थित बनाउन र सरकारलाई खवरदारी गर्न सफल हुनेछ ।’

कार्यक्रममा नेपाली काँग्रेस जिल्ला कोषाध्यक्षहरूको राष्ट्रिय कार्यसमितिका उपाध्यक्ष बाबुकृष्ण सापकोटा, कोषाध्यक्ष रेशम गुरुङ, बरिष्ठ सदस्य महेन्द्र थिङ र नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देलले बोलेका थिए ।

यसैबीच, नेपाली काँग्रेस कास्कीको सोमबारको बैठकले कोषाध्यक्षहरूको सम्मेलनलाई सहयोग गर्नका लागि विभिन्न समितिहरू गठन गरेको छ ।

बैठकले देवेन्द्र रानाभाटको संयोजकत्वमा मञ्च व्यवस्थापन, लक्ष्मी पाण्डेको संयोजकत्वमा अर्थ व्यवस्थापन, नवीन सिग्देलको संयोजकत्वमा प्रचारप्रसार, ओमप्रकाश गुरुङको संयोजकत्वमा स्वयंसेवक परिचालन, केवल गिरीको संयोजकत्वमा भोजन व्यवस्थापन र लक्ष्मण पहारीको संयोजकत्वमा आवस व्यवस्थापन समिति गठन गरेको हो ।