फागुपूर्णिमा (होली) का महत्वहरू

फागुपूर्णिमा वा होली वसन्त ऋतुको शुरुआती चरणमा मनाइने पर्व हो । हामी खश पर्वतेहरूले हाम्रो पात्रो अनुसार चतुर्दशी तिथिमा पूर्णिमा तिथि मिसिँदा (पूर्व विद्धा) यो पर्व मनाउँदछौं भने तराई क्षेत्रमा होलिका दहन गरिने भएकोले पूर्णिमा तिथिमा परेवा तिथि मिसिएपछि (परा विद्धा) मनाइने चलन छ ।

पहिलो दिन सन्ध्याकालमा होलीका दहन गरिन्छ भने दोस्रो दिन अवीर, रंग एक अर्कालाई लाएर अवीर र रंग खेल्ने काम गरिन्छ । नेपाल अधिराज्यको तराइ क्षेत्रमा यो चाड मुख्यतः देवर भाउजु बीच रंग खेली मनाइने चाड भए पनि साथीभाई बीच आपसी मनोमालिन्य हटाउन खेल्ने चलन परापूर्व कालदेखि रहेको पाइन्छ ।

कीर्णौःपिष्टातकौधैः कृतदिवसमुखैः कुंकुमसिनात गौरेः
हेमालंकारभाभिर्भरनमितशिखैः शेखरैः कैकिरातैः।
एषा वेषाभिलक्ष्यस्वभवनविजिताशेषवित्तेशकोषा
कौशाम्बी शातकुम्भद्रवखजितजनेवैकपीता विभाति । –‘रत्नावली’, १.११

वैदिक र पौराणिक महत्व :
होली मनाउने वैदिक र पौराणिक मत दुवै चलन चल्तीमा छन् । वैदिक कालमा यो पर्व नवान्नेष्टि नामले चिनिन्थ्यो । नेपालको तराई क्षेत्रमा यो दिन खेतमा पाक्तै गरेका अधकल्चा अन्नहरू होलीका डढाउन तयार पारिएको अग्निमा अर्पण गरी प्रसाद स्वरुप खाने चलन चलाइएको देखिन्छ जसलाई भन्ने गरिन्छ ‘ओराहा’ । त्यसरी पूर्ण रुपमा नपाकेको अन्नलाई ‘होला’ भनिन्छ । नयाँ अन्न ‘होला’ अग्निलाई अर्पण गरी मनाइने भएकोले यो पर्व होलिकोत्सव हुनपुगेको हो । प्राचीन संस्कृत साहित्यमा होलीको वर्णन गरिएको छ । श्रीमद्भागवत महापुराणमा रशको समूहद्वारा राशको वर्णन, भगवान कृष्णको लीलाहरूमा होलीको वर्णन, ‘रंग’ उत्सवको वर्णन, कालिदाशको ‘कुमारसंभवम्’ तथा ‘मालविकाग्निमित्रम्’ ऋतुसंहारमा एउटा सर्गनै ‘वसन्तोत्सव’ भनेर वर्णित भेटिन्छ ।

सनातन हिन्दू ग्रन्थमा देवी देउताको मदन, राधा–कृष्णको मदन, राम सीताको मदन, उमा महेश्वरको मदन आदि अनेकानेक प्रसंग मिसाएर वर्णन गरिएको छ भने त्यै फागु प्रह्लाद, हिरण्यकशिपु, आगोमा भस्म नहुने होलीकाको कथामा प्रह्लादको अर्थ ‘आनन्द’ हुन पुग्छ । ऋष र उत्पीडनको प्रतीक होलीका (बाल्ने दाउरा) बल्दा प्रेम र उल्लासको प्रतीक प्रह्लाद (आनन्द) अक्षुण्ण रहन गएको देखाइएको छ ।
होली पर्व प्राचीन भएपनि यसको स्वरुप र उद्देश्य समयसंग बदलिदै गएको छ । प्राचीन कालमा यो पर्व विवाहित महिलाहरूद्वारा परिवारको सुख समृद्धिका लागि खेलिन्थ्यो र पूर्ण चन्द्रको पूजा गरिने चलन थियो कारण चन्द्रमा यै दिन जन्मिएका थिए । होलीका दहन गर्ने दिन सार्वजनिक स्थल या घरको छेउमा झण्डा या डण्डा गाडी होलीका अग्नीका लागि दाउरा जुटाई अन्न डढाईने चलन थियो ।

कंशको निर्देशनमा राक्षशनी पुतना श्रीकृष्णलाई मार्न जाँदा उसले श्री कृष्णलाई विषपूर्ण दुग्धपान गराई । बालक श्रीकृष्णले उसको दूध चुस्दा चुस्दै उ मरी र उसको शरीर पनि लुप्त भयो । नन्द गाउँ (मथुरा) बासीले पुतनाको पुतला बनाई दहन गरेपछि मथुरामा होली मनाउन थालिएको प्रसंग जोडिएको पाइन्छ भने पार्वतीलाई मद्दत गर्न आएका कामदेव भगवान शिवको तपस्या भंग गर्दा शिवजीको क्रोधबाट भष्म हुन पुगेपछि शिवलाई शान्त गर्न शिव र पार्वती बीच बिहे गराइएको थियो ।

कृष्णले गोपिनीको बस्त्र हरण गरेको, विष्णु भक्त प्रल्हादलाई मार्न हिरण्यकश्यपुले आफ्नी बहिनी होलीकालाई आगोमा होमाएको जस्ता पक्षसँग पनि यो पर्वलाई जोडिएको छ । फागुपूर्णिमा अर्थात मदनोत्सव वायु पुराण, भविष्य पुराण र महाभारतमा उल्लेखित पर्व हो । महर्षि नारदको सल्लाहमा तत्कालिन राजा युधीष्ठिरले आफ्ना राज्यमा भएका सम्पूर्ण कैदीहरूलाई उनीहरूका बाँकी सम्पूर्ण कशुर माफ गरी आजैको दिन अभयदान दिएका थिए । त्यहि अभयदान पाएको बेलादेखि फागू पर्व रंग खेलेर उन्मुक्त भावनामा मनाइने चलन चलेर गएको हो पनि भनिएको भेटिन्छ ।

जे सुकै भएता पनि विभिन्न ४ युग (सत्य, त्रेता, द्वापर, कली) मा होली विभिन्न किसिमले बेग्लाबेग्लै नामले मनाउँदै आइएको पाइन्छ । यो पर्व वसन्त ऋतुको सन्देशवाहक पर्व भएकोले संगीत र रंग यसको प्रमुख अंग हो । फाल्गुण महिनामा मनाइएकोले फाल्गुनी हुँदै फागु भनिएको हो । यो पर्व नेपालमा वसन्त पञ्चमीमा वसन्त श्रवण गरिसकेपछि शास्त्रीय रुपमा शुरु भएको मानिन्छ ।

प्रतीकात्मक अर्थ
अग्निको वासनात्मक आकर्षणलाई प्रतीकात्मक रूपमा जलाएर साँचो प्रेमको विजय हुन् पुगेको खुशीयालीमा विजयोत्सवको रुपमा यो पर्व मनाउन थालिएको प्रसंग पनि कतै कतै उल्लेख गरिएको देखिन्छ भने मनुस्मृति अनुसार यसै दिन मनु जन्मिएको तथा ती मनुनै यस पृथ्वीका पहिलो मानव हुन पुगेको हुदा यसैलाई पृथ्वीमा मानव बंशको उत्पत्ति भएको दिन मानी यो उल्लास पर्व मनाउन थालेको बुझिन्छ । यसै दिन भगवान बिष्णुको नरनारायण स्वरुपको जन्म भएको थियो भनेर भगवान विष्णुको २४ अवतार मध्ये चौथो अवतार मानी त्यसैको खुशियालीमा फागु मनाइएको उल्लेख पनि पाइन्छ ।

प्रणय, प्रेम र श्रृंगार
फागुलाई मदनोत्सव भनिन्छ । यहाँ मदनको अर्थ हो प्रणय, प्रेम र श्रृंगार । हाँस र हँसाउ, जसले रंग लाइदिन्छ उसलाई रंग लाइदेउ, क्षमा गर, सहनशील बन यसको मुख्य सन्देश हो । फाल्गुणपूर्णिमा चन्द्रमाको जन्म दिन हो । नेपालमा फागूपूर्णिमालाई चीर पर्व पनि भन्ने गरिन्छ । फागुपूर्णिमा सद्भावको प्रतीक हो । पूर्वाफाल्गुणी नक्षत्र पूर्णिमाको दिन रहन पुग्दा यो महिनालाई फाल्गुन भनिएको हो । फागु सालको परागकण पनि हो । यसै महिनादेखि साल फुल्न शुरु गर्छ । यसको शाब्दिक अर्थ पहेँलो रङ पनि हो ।

फाल्गुण पूर्वाफाल्गुनी नक्षत्र हो वायुपुराणका निम्ति । फाल्गुनीको अर्थ हो, जुन दिनको संस्कारले व्यक्तिलाई सुन्दर बनाउँछ । फाल्गुन र लिंग पर्यायवाची पनि हुन् । फाल्गुन शिवलाई विशेष पुज्ने महिना पनि हो । फाल्गुन शौभाग्य शयनको महिना पनि हो, त्यसैले उन्मत्त हुन्छ फाल्गुने बैंस । फागुपूणिर्मालाई चन्द्रमाको जन्मदिन पनि मानिन्छ । जुन नेपालका शिवको शिरको गहना पनि ठानिन्छ । फागुने बैंस’ थामिनसक्नु, सम्हालिनसक्नु हुने गर्दछ, नेपाली परम्परामा । ‘संस्कृत कोष’ अनुसार अग्निमा डढाइएको अन्नलाई ‘होलिका’ भनिन्छ । प्राचीनकालमा अग्निमा अन्नद्वारा हवन गरी अन्त्यमा यज्ञभष्म शिरमा लगाई मनाइने गरिन्थ्यो । अहिले पनि यज्ञादी कर्म सकिएपछि डढेको चरु लाउने चलन छँदैछ ।

फागुको महत्व र होली मनाउने पद्धति
चाड पर्व मनाउनुको पछाडी केही नैसर्गिक, सामाजिक, ऐतिहासिक एवं आध्यात्मिक कारण रहन्छन् । यी चाड मनाउनुको पछाडि चाड मनाउने व्यक्तिले उस्को सामाजिक जीवनमा लाभ पाओस भन्ने अभिप्राय लुकेको हुन्छ । फेरी चाड पर्व मनाइँदा नै समाजको आध्यात्मिक उन्नति सम्भव हुन्छ । त्यसकारण चाड पर्वको शास्त्राधार के हो थाहा पाउनु जरुरी हुन्छ । होली संक्रांति सरह कि देवी हुन् ।
मानव शरीरको षड्विकारहरू माथि विजय प्राप्त गर्ने क्षमता होलीका देवीमा रहेको मानिन्छ । त्यसैले मानव विकार माथि विजय प्राप्त गर्न होलिका देवी संग प्रार्थना गरिन्छ । अग्निप्रति कृतज्ञता व्यक्त गर्नु यसको दोस्रो अंग हो । होली अग्निदेवताको उपासनाको एक अंग हो । अग्निदेवताको उपासना गर्दा व्यक्ति विशेषको तेजतत्व बढन पुग्छ र उसको रजो र तमो गुण घट्दछ ।
त्यसकारण होलीका दहन रात्रीकालमा गरिएको हो । पृथ्वी, पानी, तेज, वायु र आकाश यी ५ तत्वहरूको सहायताले देव तत्वलाई पृथ्वीमा ल्याउने माध्यम यज्ञ हो । पृथ्वीमा स्पन्दन नहुँदा त्रेतायुगमा पञ्च तत्वमा विष्णुतत्व प्रकट हुन पुग्यो । यज्ञको ज्वालासंगै यज्ञकुण्डमा विष्णुतत्व प्रकट भएको दिन फाल्गुनपूर्णिमाको दिन थियो ।

दुष्प्रवृत्ति एवं अमंगल विचार नाश गरी, सद्प्रवृत्तिका मार्ग देखाउने, ईश्वरीय चैतन्य प्राप्त गर्ने आध्यात्मिक साधनामा अग्रसर हुने, अग्नी देउताप्रति कृतज्ञता व्यक्त गर्ने पर्व हो फागु । गुइँठा, उखु, सुपारीको पात, दाउराको सामाग्रीको साथै आवश्यक पूजा सामाग्रीहरू तयार गरी थाली, बेसार (कुमकुम, चन्दन, फूल, तुलसी पत्र, अक्षता, अगरबत्ती, फूलपाती, आरती, कपूर, कपूरार्ती, दीयो, सलाई, कलश, आचमनी, पञ्चपात्र, ताम्रपात्र, घण्टा, तेल बाती, गुलियो परिकारको नैवेद्य तयार पारी अग्ीनको पूजा गरिन्छ ।

फागु पूर्णिमानै मदनोत्सव
वसन्त पञ्चमीदेखि नै मदनोत्सव मनाइने परम्परा मान्छेको उत्पत्ति र उसको ऋतुकाल धर्मसंग सम्बन्धित तुल्याइएको छ । छः ऋतुमा बाँडिएको मौसमसंग हाम्रो परस्पर सहसम्बन्ध स्थापित छ । जसरी प्रत्येक जीव–जन्तुका लागि भिन्नभिन्न ऋतुहरू प्रकृतिले छुट्याइ दिएको छ, त्यसरी नै हाम्रा ऋषिमुनिहरूले वसन्त ऋतुलाई मानव मात्रका लागि छुट्याइएको हो । ऋषि मुनिहरूले वसन्त पञ्चमीको दिनदेखि हर्षोल्लासका साथ मदनोत्सव मनाउने संकेत गरे । महका लागि माहुरीलाई यसैबेला आकृष्ट तुल्याए । त्यसकारण वसन्त ऋतु मदनोत्सवका रुपमा रती र कामदेवको उपासना पर्व मानिन पुग्यो । त्यसैले हाम्रा पुर्खाहरूले वसन्त पञ्चमीमा सरस्वती र कामदेवको उपासना गर्न सिकाए ।

‘भ्यालेन्टाइन डे’ उच्छृङ्खलताको प्रतीक हो भने मदनोत्सव पत–पत्नी सम्बन्धी र नातेदारहरू वीचको मर्यादित आपसीप्रेम, अभिव्यक्ति एवं सुदृढ़ीकरणको शालीन पर्व हो । ‘भ्यालेन्टाइन डे’ को विपरीत मदनोत्सव विवाहोत्तर अथवा विवाह पूर्व सम्बन्धका लागि होइन यो विशुद्घ रूपमा दाम्पत्य सम्बन्ध बलियो बनाउने पर्व भएको कारण नैतिक–सामाजिक दृष्टिले पूर्णरुपमा स्वीकार्य छ, श्रीमदभागवत महापुराण अनुसार, भगवान श्रीकृष्णले तिनलाई पति रूपमा चाहने गोपिनीहरूसंग यसै दिवसमा वृन्दावनमा महारास गरे । श्रीकृष्ण कामदेव भन्दा नि सुन्दर भएका कारण मदनमोहन अर्थात कामदेवलाई पनि मोहित गर्ने अथवा मन्मत अर्थात सबै प्राणीहरूको मनलाई मथ्ने र कामदेवको मन मथ्ने भनिएको छ ।

ऋतुराज वसन्तको आगमन पछि प्रकृतिमा कामदेवले वाण छोड़छन् रे । त्यसैकुरोलाई स्वीकार्दै मदनोत्सवको वर्णन गर्दै कालिदास भन्छन्, मदनोत्सव, वसन्तोत्सव, कामदेवोत्सव लोकानुरन्जनका लागि हो । तन र मन मदनोत्सवको समयमा सर्वाभरण भूषित भएर घुम्दा अषोक वृक्ष फुल्न थाल्छ । वसन्त र कामोत्सवको दुन्दुभी बज्न थाल्छ । त्यतिखेर हरेक दिन रात वसन्त युक्त हुन्थ्यो अहिले होलिका या होलीको दिन आएर टुङ्गियो ।

‘काम’ हिन्दू दर्शनका संपूर्ण पुरूषार्थहरूमा श्रेष्ठ पुरुषार्थ हो । नर कामदेव स्वरुप र प्रत्येक नारी रति हुन् । वसन्तोत्सवमा काम र रतिको पूजा विधान समेटिएको हुन्छ । उपनिषद, वेद, पुराणले कामप्रति सहजता देखाई प्रष्ट्याएको छ । त्यसैले कुमार चरित जस्तो ग्रन्थले होली र फागुको उल्लेख ‘मदनोत्सव’ भनेर गरिदिएको छ । वसन्त ऋतु कामको सहचरी हो । यसैले वसन्त ऋतुमै मदनोत्सव मनाउने विधान बताइएको हो ।

हाम्रो संस्कृतिले कामलाई दैवी स्वरूप मानेर कामदेवको रुपमा स्वीकार्यो । काम विकृत हुन् पुग्दा भगवान शिवले आफ्नो क्रोधाग्निले ‘काम’ लाई भष्म गरे र ‘अनन्ग’ अर्थात अंग विहीन अवस्थामा जीवित गरे । ‘काम’ को सहचर्य उत्सव मनाउन थालियो । काम जबसम्म मर्यादामा रहन्छ त्यतिखेरसम्म त्यसलाई भगवानले पनि विभूति स्विकार गरेको छ । कामले मर्यादा छोड्दा आत्मघाती हुन् पुग्छ । शिवको तेस्रो नेत्र (विवेक) ले त्यसलाई भस्म गरिदिन्छ । हाम्रा प्रत्येक चाड पर्व हाम्रो सांस्कृतिक चेतनाको प्रतीक हुन् ।

आशा, आकांक्षा, उत्साह अनि उमंग प्रदाता हुन् । इनले मनोरञ्जन, उल्लास एवं आनन्द दिएर हामीलाई हाम्रो जीवनलाई सरस बनाउँदछन् । त्यसकारण युगौंदेखि चलेका हाम्रा सांस्कृतिक धरोहर, परम्परा, मान्यता एवं सामाजिक मूल्य मान्यताका मूर्त प्रतिविम्ब ठानिएका छन् । यी चाड पर्व हामीलाई हाम्रो संस्कृतिको अन्तर सम्बन्ध दर्शन गराउने तत्व हुन । सत्, चित, आनन्द रूपी त्रिगुणात्मक ब्रह्मको १ अंग हुन् । त्यसैले हाम्रो चाडले हामीलाई आनन्द दिन्छन् । मानव जीवनमा मंगल एवं शौभाग्यलाई आमन्त्रित गर्दछन् ।

होली वसन्त ऋतुको यौवनकाल हो, ग्रीष्म ऋतुको आगमनको सूचक हो । यो ‘नवान्नवेष्टि यज्ञ’ पनि हो । फाल्गुन शुक्ल पूर्णिमाकै दिन हाम्रा प्राचीन आर्य पुर्खाहरू नयाँ अन्नको बाला बोकी अग्निहोत्र कार्य गर्थे । यसलाई ‘यव ग्रहण यज्ञ’ भनिन्थ्यो । अन्नको बालोलाई संस्कृत मा ‘होलक’ भनिन्छ । वसन्त ऋतुमा सूर्य दक्षिणायणबाट उत्तरायण हुन् पुग्छ । फलफूलहरूमा मुजुरा लाग्दा मौसममा ‘अमृत प्राण’ भरिन्छ । त्यसैले होली पर्व ‘मन्वन्तरको आरम्भ’ हुन् पुगेको हो । रंगले भरिएको चाडले जीवनलाई रंगीन बनाउछ । आत्माको मधुरतम र प्रियतम भाव अनुभव गर्नु यस पर्वमा प्रकट हुने अनुराग हो ।

हामी पाठकको रचनात्मक प्रतिक्रिया, कमेन्ट, सेयरको सराहना गर्दछौं । तर नेपालदुतमा प्रकाशित समाचार वा अन्य सामग्री जस्ताको तस्तै वा परिमार्जनसहित विद्युतीय कारोबार ऐन विपरीत अन्य न्युज पोर्टलमा प्रकाशित नगर्न अनुरोध छ ।