
अध्यक्ष
नेकपा, धादिङ–पोखरा जनसम्पर्क मञ्च
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धादिङ–पोखरा जनसम्पर्क मञ्चले संगठन भित्र आर्थिक अनियमितता पुष्टि गर्न चुनौती दिएको छ । नवगठित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धादिङ–कास्की जनसम्पर्क मञ्चले वीरबहादुर थापा नेतृत्वको जनसम्पर्क मञ्चमा आर्थिक अनियमितता भएको आरोप लगाएपछि मञ्चले यस्तो चुनौती दिएको हो ।
सोमबार केही पत्रकारमाझ आफ्नो संगठनको धारणा सार्वजनिक गर्दै मञ्चका अध्यक्ष वीरबहादुर थापाले संगठनभित्र कुनै अनियमितता नभएको जिकिर गर्दै त्यसको पुष्टि गर्न चुनौती दिए ।
प्रश्न गर्दै उनले भने, ‘संगठन ऋणमा छ । केही कार्यक्रम गर्दा खर्च पुग्दैन । के को अनियमितता हुनु ?’ संगठन एकता गर्दा करिब १ लाख ५० हजार रुपैयाँ ऋण लागेको र उक्त ऋण अझै बाँकी रहेको उनले बताए । उनले एकता भेला गर्दाको खर्चको हिसाव किताव सबै दुरुस्त रहेको स्पष्ट पारे ।
‘केही साथीहरू पदको लोभमा परेर संगठनबाट बाहिरिएका हुन्’, उनले भने, ‘केही साथी भ्रममा परेर त्यता लागेका हुन् । केही फर्किसके, केही फर्किनेक्रममा छन् ।’
अध्यक्ष थापाले संगठनमा बस्नु, नबस्नु आफ्नो स्वतन्त्रताको कुरा भए पनि गलत, भ्रमपूर्ण र झुटा आरोप लगाउन नमिल्ने जिकिर गरे ।
मञ्चका सचिव कृष्ण धरेलले संगठनलाई बद्नाम गराउन हल्ला फिँजाइएको भन्दै त्यस्ता हल्लाको पछि नलाग्न आग्रह गरे ।
मञ्चका सदस्य गोकर्ण लम्सालले संगठनभित्र कुनै अनियमितता नभएको बताए । उनले संगठनले आयोजना गरेका कार्यक्रमका आम्दानीका सबै बिल, रसिद आफूहरूसंग सुरक्षित रहेको स्पष्ट पारे ।
उनले भने, ‘अहिले संगठन छाडेका साथीहरूले पनि त्यतिबेला काम गर्नुभएको हो, सहयोग गर्नुभएको हो । अहिले संगठन छाडियो र मन परेन भन्दैमा गलत आरोप लगाउँदै हिंड्न पाइँदैन । उहाँहरूले आरोप पुष्टि गर्न सक्नुपर्छ ।’

तस्वीर सहयोग : रामप्रसाद पाण्डे ‘राजु’
मञ्चका आर्थिक विभाग प्रमुख सरोज कुँवरले पैसा नपुगेर तनाव भएको बेला अनियमितता भनेर आरोप लाग्दा झनै तनाव उत्पन्न भएको बताए । उनले भने, ‘संगठनभित्र १ रुपैयाँ अनियमितता भएको पुष्टि कसैले गर्न सक्छ भने जीवनभर राजनीति गर्दिन ।’





