आमिर खानले गरे महत्वपूर्ण खुलासा

बलिउड नायक आमिर खान आफ्नो नयाँ फिल्म ‘लाल सिंह चढ्ढा’का कारण चर्चामा छन् । हालै उनले आफ्नो ५४ औं जन्मदिनको मौकामा आफ्नो नयाँ फिल्मको घोषणा गरेका हुन् । यो फिल्म २५ वर्ष अघि रिलिज भएको हलिउड नायक टम हेंगसको फिल्म ‘फरेस्ट गम्प’को भारतीय रिमेक हो ।

भारतीय मिडियामा प्रकाशित रिपोर्टका अनुसार आमिरले यो फिल्मका लागि २० किलो तौल घटाउने योजनामा छन् । यसैकारण उनी फेब्रुअरी महिनामा अमेरिका पुगेका थिए र न्यूयोर्कका चर्चित ट्रेनर जेफसँग व्यायाम पनि गरेका थिए । आफ्नो भूमिकाका लागि निकै उत्साही आमिर जीवनभरी अभिनय गर्न चाहँदैनन् । हालै उनले आफू फिल्म निर्माणका लागि अभिनय पनि छोड्न सक्ने बताएका छन् ।

पिटिआईको एक रिपोर्ट अनुसार आमिर जुन दिन पूर्ण रुपमा निर्देशन र फिल्म निर्माणको क्षेत्रमा आफूलाई उतार्छन्, त्यो दिनदेखि उनले अभिनय छोड्नेछन् । उनले भनेका छन्, ‘म फिल्म निर्माणमा निकै आकर्षित छु र मैले ‘तारे जमीं पर’ पनि निर्देशन गरेको छु । म फिल्म निर्माण र अभिनयलाई अलग्गाउन सक्दिनँ र म यो भन्न सक्छु कि मैले आफ्नो करियरको सुरुवात एक नायकको रुपमा गरेको थिएँ र यसले मलाई आकर्षित गराउँछ । जुन दिन म पूर्ण रुपमा निर्देशक बन्ने निर्णय लिन्छु, म त्यो दिनदेखि अभिनय छोड्नेछु । अहिलेका लागि म अभिनय छोड्न चाहन्नँ त्यसकारण म आफ्नो मनमा बसेको निर्देशन बन्ने सपनालाई दबाएर बसेको छु ।’

स्मरण रहोस्, आमिरले निर्माताको रुपमा लगान, सिक्रेट सुपरस्टार, दंगल, तलाश, दिल्ली बेली, पिपली लाइव, धोबीघाट, जाने तू या जाने ना जस्ता फिल्म निर्माण गरेका छन् । उनले भने, ‘मलाई थाहा छैन, म कुन गतीमा फिल्म बनाउनेछु । साधारणतया मानिसहरु आफ्नो प्रोडक्सन हाउसका लागि फिल्म बनाउँछन् किनभने उनीहरुलाई व्यापार गर्नुपर्छ । यो हाम्रो पहिलो एजेन्डा होइन । सिर्जनशीलता हाम्रो एजेन्डा हो । जबसम्म हामीले राम्रो स्क्रिप्ट पाउँदैनौं, तबसम्म फिल्म बनाउन सक्दैनौं ।