नेकपा धादिङ जनसम्पर्क मञ्च विभाजित

- गोकर्ण अधिकारीको नेतृत्वमा अर्को संगठनको जन्म

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धादिङ–पोखरा जनसम्पर्क मञ्च विभाजित भएको छ । तत्कालिन एमाले र माओवादी केन्द्र मिलेर गठन भएको जनसम्पर्क मञ्च १ वर्ष पनि नपुग्दै विभाजित भएको हो । नेतृत्वसंग शुरुआती अवस्थादेखि नै असन्तुष्ट रहेकाहरूले शुक्रबार एक भेला गरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धादिङ–कास्की जनसम्पर्क मञ्च गठन गरेका छन् । उनीहरूले नेकपा धादिङको निर्देशन बमोजिम संगठन निर्माण गरेको उल्लेख गरेका छन् ।

कमिटीको संयोजकमा गोकर्ण अधिकारी छन् । २ पार्टी मिलेर जनसम्पर्क मञ्च निर्माण हुँदा उनी नेतृत्वका आकांक्षी थिए । त्यतिबेला उनले विधान नबनाई संगठन निर्माण हुन नसक्ने, निर्माण भएको कमिटी आधिकारिक नहुने भन्दै स्वीस्कार नगर्ने बताएका थिए ।

कमिटीको उपसंयोजकमा तेज बस्याल, सचिवमा युमगराज अगस्ती, उपसचिवमा लक्ष्मी बस्नेत छन् । सचिव अगस्ती पनि २ संगठनबीच एकता हुँदा सचिवको आकांक्षी थिए । यस्तै, आर्थिक विभाग प्रमुखमा सुरेन्द्र विक चयन भएका छन् भने कमिटीको कार्यसमितिमा बुद्धराज बस्याल, राजेन्द्र बस्नेत, भगवती खतिवडा छन् । यस्तै सल्लाहकारमा युवराज खतिवडा, शम्भु अधिकारी, गोपाल नेपाली र प्रेम नेपाली छन् । उनीहरूले संगठनको निर्देशिका बमोजिम सदस्यता लिन आग्रह समेत गरेका छन् ।

यसैबीच नेपाल कम्युनिष्ट पार्टी धादिङ–पोखरा जनसम्पर्क मञ्चका अध्यक्ष बीरबहादुर थापाले कास्की जनसम्पर्क मञ्च आधिकारिक नभएको र भ्रम फिजाउने प्रपञ्चमात्र गरिएको बताएका छन् । उनले संगठनको नीति भन्दा बाहिर गएर काम गर्नेलाई कार्वाही हुने चेतावनी दिए । अध्यक्ष थापाले पार्टीको निर्देशन एकातिर र केही साथीमा बुझाइ अर्को तिर भएकाले समस्या आएको स्पष्ट पारे ।

‘नेकपा धादिङका मुख्य नेताहरू शालिकराम जमरकट्टेल र भूमी त्रिपाठीले ‘संगठनभित्र छलफल गरेर विधान तयार गर्नू’ भनि पत्र दिएको तर केही साथीमा आफूहरूले आधिकारिकता पाएको भ्रममा हुनुहुन्छ । विधान निर्माणका लागि संगठनले कमिटी बनाएर अघि बढ्छ’, अध्यक्ष थापाले भने । उनले थपे, ‘यस विषयमा उहाँहरू (ती साथीहरु) ले कुनै सल्लाह गर्नुभएको छैन । हामी शनिबार नै संगठनको बैठक बस्दैछौं । यस विषयमा छलफल हुन्छ ।’

मञ्चका उपाध्यक्ष रेशम सिंखडाले संगठन भन्दा बाहिर जानेलाई पनि माया गरिरहँदा समस्या आएको बताए । उनले भने, ‘अध्यक्षज्यू सबैलाई माया गर्ने, कसैसंग कडा बन्न नजान्ने स्वभावको हुनुहुन्छ । अराजक बन्नेलाई कार्वाही गर्नुभएन । अहिले समस्या आयो ।’ उनले पार्टीको मूल नेतत्वमा समेत कुरा नमिलेको, एकता नभएको अवस्थामा एउटा संगठनमा हतार गरेर केही नहुने जिकिर गरे ।

मञ्चका नेता ईश्वर कुमार श्रेष्ठले पद नपाउनेहरूले केही साथीमा भ्रम फिँजाएर कमिटी बनाएको दावी गरे । उनले संगठनका केही साथी भ्रममा परेर त्यता लागेको भन्दै बुझेपछि उनीहरू मूल कमिटीमै फर्कने विश्वास व्यक्त गरे ।

अर्का नेता योगप्रसाद सापकोटा नवराजले असन्तुष्ट साथीहरूले अहिले केही घुर्कीमात्र लगाएको भन्दै अन्तिममा मूलसंगठनमै फर्कने दावी गरे । उनले भने, ‘उहाँहरूले मूलधारको राजनीति राम्रोसंग बुझ्नुभएको छ । अन्तिममा मूल संगठनमा फर्किनुको कुनै विकल्प छैन ।’ संगठन भित्र असन्तुष्टि हुनु स्वभाविक नै हो तर संगठन भित्रै छलफल हुनुपर्नेमा उनले जोड दिए ।

एउटा कास्की र अर्को धादिङ पार्टीको निर्देशनमा
स्रोतका अनुसार वीरबहादुर थापा नेतृत्वको कमिटी नेकपा कास्की र गोकर्ण अधिकारी नेतृत्वको कमिटी धादिङ–कमिटीको निर्देशनमा सञ्चालित हुन गरी कमिटी गठन भएका हुन् । कास्की जनसम्पर्क मञ्चका संयोजक अधिकारी केही अघि सम्पन्न राष्ट्रिय फलफूल तथा थोक तरकारी व्यवसायी संघको सचिव पदमा नेकपा कास्कीका अध्यक्ष कृष्ण थापाले पत्र नै काटेर धादिङ कै सरस्वती श्रेष्ठ सरुलाई समर्थन गरेपछि रुष्ट बनेका थिए ।

थापाको लिखित निर्देशन पछि अधिकारी सचिव पदमा पराजित भएका थिए । त्यसैबेलादेखि उनी नेकपा कास्कीसंग तीव्र आक्रोशित थिए । अधिकारीले संघ–संस्थामा पनि पार्टी राजनीति गरेर नेकपा कास्कीले आफूमाथि अन्याय गरेको गुनासो गर्दै आएका थिए ।

नेकपा जनसम्पर्क मञ्च भित्रैका १ नेताले संगठन निर्माण भएको करिब ८ महिना व्यतित गर्दा समेत सिन्को भाँची काम नभएको, जिम्मेवारी पाउनैपर्ने साथीहरूलाई जिम्मेवारी नदिंदा समस्या आएको दावी गरे । जनसम्पर्क मञ्चका कतिपय नेता ठूला नेताको पुच्छर र हनुमान बन्दा समस्या आएको उनले बताए ।

‘यो समस्यालाई बेलैमा हल नगर्ने हो भने अझ विग्रह आउन सक्छ । यसमा नेतृत्व जवाफदेही बन्न जरुरी छ’, उनले भने । ‘नेकपा धादिङ र कास्कीको निर्देशनमा चल्ने गरी २ कमिटी निर्माण भएका छन् । यो विडम्वना हो । एउटै पार्टीको सानो संगठनमा २ जिल्लाका नेताको टकराव हुन आवश्यक छैन । यसले कसैलाई फाइदा पुर्याउँदैन’, उनले थपे ।

गठन गर्दा त्रुटि र आशंका
नेकपा धादिङ–कास्की जनसम्पर्क मञ्च गठन गरेपछि धादिङवासी बहस र चर्चा तीव्र भएको छ । कास्की जनसम्पर्क मञ्चले गठन गर्दाकै अवस्थामा त्रुटि गरेको छ । पहिला तदर्थ समिति गठन गरेर त्यहि समितिबाट १ विधान मस्यौदा समिति बनाउनुपर्ने थियो ।

तदर्थ समितिको समयसीमा करिब ६ महिना हुनुपर्ने थियो । ६ महिनामा विधान निर्माण गरी अधिवेशनमा गएर सोही विधान अनुमोदन तथा नयाँ नेतृत्व चयन हुनुपर्ने थियो । तर कमिटी निर्माण नगरि सिधै विधान मस्यौदा समितिलाई पूर्णता भनिएकोमा आशंका उव्जिएको छ ।
यसलाई वीरबहादुर थापा नेतृत्वको सम्पर्क मञ्चले घुर्कीमात्र भएको दावी गरेको छ ।

एक नेताले भने, ‘उहाँहरूले कमिटी निर्माण गर्नुभएको छैन । विधान मस्यौदा समितिमात्र भन्नुभएको छ । त्यसैले घुर्की लगाएर मूल नेतृत्वलाई तर्साउने काम मात्र गर्नुभएको हो । उहाँहरू फर्किनुहुन्छ ।’

३ जनालाई कार्वाही
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धादिङ–पोखरा जनसम्पर्क मञ्चले आफ्ना ३ जना सदस्यलाई कार्वाही गरेको छ । मञ्चको शनिबार सम्पन्न बैठकले संगठनका सदस्य गोकर्ण अधिकारी, युगमराज अगस्ती र युवराज खतिवडालाई कार्वाही गर्ने निर्णय गरेको हो । उनीहरूलाई ६ महिना संगठन र पार्टीको साधारण सदस्यता समेत नरहने गरी निष्काशन गर्ने निर्णय गरिएको मञ्चका सचिव कृष्ण धरेलले जानकारी दिए । उक्त निर्णयलाई नेकपा कास्की र धादिङमा पत्रमार्फत जानकारी गराइने उनले बताए ।

यस विषयमा नवगठित कास्की जनसम्पर्क मञ्चका संयोजक गोकर्ण अधिकारीले संगठन सदस्यता नै विस्तार नगरी कार्वाही भन्नु हास्यास्पद बाहेक केही नभएको प्रतिक्रिया दिए ।