
लायन्स इन्टरनेशनल ३२५ बी १ नेपालको सातौं राष्ट्रिय महाधिवेशन आगामी बैशाख १३ र १४ गते पोखरामा हुँदैछ । महाधिवेशनले नयाँ गभर्नर, प्रथम भाइस डिष्ट्रिक्ट र द्धितीय भाइस डिष्ट्रिक्ट गभर्नर चयन गर्ने भएकाले यसलाई महत्वका साथ हेरिएको छ । गभर्नर र प्रथम भाइस डिस्ट्रिक्ट गभर्नर यस भोटका आधारमा सिधै चयन हुनेछन् भने द्धितीय भाइस डिस्ट्रिक्ट गभर्नर बन्नका लागि चुनावकै बाटो अवलम्वन गर्नुपर्नेछ । यस पटक डिष्ट्रिक्ट ३२५ बी १ मा करिब १२ हजार लायन मतदाता छन् ।
यस महाधिवेशनबाट निर्वाचित हुने सेकेण्ड भाइस डिष्ट्रिक्ट गभर्नर आगामी २ वर्षपछि यस भोटकै आधारमा स्वतः गभर्नर हुने व्यवस्था लायन्स विधानमा छ । महाधिवेशनमा सेकेण्ड भाइस डिस्ट्रिक्ट गभर्नर पदमा निकै चासो र चर्चा हुने गर्दछ । यस पटकको महाधिवेशनबाट सेकेण्ड भाइस डिष्ट्रिक्ट गभर्नरमा विशेश्वर आचार्य र ध्रुव श्रेष्ठले उम्मेदवारी दिएका छन् । उनीहरू दुवै चुनावी मैदानमा उत्रिएका छन् ।
आचार्य र श्रेष्ठ दुवै पोखराकै रहेकाले निकै चासोको रुपमा हेरिएको छ । यतिबेला पोखरामा लायन्सको चुनावी सरगर्मी ह्वात्तै बढेको छ । लायन्सका केही पूर्व गभर्नर तथा अगुवा नेता खुलेरै आआफ्ना पक्षमा लागेका छन् भने केही मौन छन् । केही पूर्व गभर्नर सहमतिका आधारमा मिलेर अघि बढेर लायन्सभित्र एकता कायम गराउनुपर्नेमा देखिएका छन् ।
घोाषणापत्रसहित आचार्य चुनावी मैदानमा
उम्मेदवारमध्येका एक विशेश्वर आचार्य लायन्स रहँदासम्म आफूले गर्ने कामबारे घोषणापत्र नै सार्वजनिक गरेर चुनावी मैदानमा उत्रिएका छन् । उनले भेटघाट, छलफल र सुझाव संकलनलाई तीव्ररुपमा अघि बढाएका छन् ।

उम्मेदवार आचार्यले आफू अझै पनि लायन्स भित्र सहमति, सहकार्य र एकताकै पक्षमा रहेको बताएका छन् । ‘लायन्स जस्तो पवित्र संस्थामा एकता खल्बल्याउन हुन्न’, उनले भने, ‘लायन्स भित्र सहमति, सहकार्य र एकता हुन नसके लायन्सप्रतिको जनविश्वास गुम्छ भने इतिहास पनि धरापमा पर्छ । त्यसैले म एकताकै पक्षमा छु । सकभर सहमति बनोस् भन्ने चाहन्छु ।’
उनले लायन्सको अनवरत यात्रालाई सफलतापूर्वक अवतरण गराउन आतुर रहेको भन्दै यसमा सबैको सहयोग आवश्यक रहेको बताए । लायन्सको गर्विलो इतिहासलाई थप उचाइमा पुर्याउने भन्दै यसका लागि आफूले जस्तोसुकै त्याग गर्न तयार रहेको स्पष्ट पारे ।
उनले भने, ‘लायन्समा अनवरत रुपमा २० वर्ष व्यतित गरें । निकै संघर्ष गरें, त्याग गरें । निकै धेरै अनुभव बटुलेको छु । यही संघर्ष, त्याग र अनुभवले लायन्सको मर्यादा, गरिमा र इतिहासलाई उँचो बनाउने सोंचका साथ अघि बढेको छु । आशा छ मेरो यो यात्रामा सबै लायन मित्रहरूले हृदयदेखि नै सहयोग गर्नेछन् र मेरो सपना साकार हुनेछ ।’
यसैबीच सेकेण्ड भाइस डिष्ट्रिक्ट गभर्नर पदमै उम्मेदवारी दिएका ध्रुव श्रेष्ठले पनि उम्मेदवारी मनोनयसंगै चुनावी अभियानमा लागेको बताइन्छ । उनी पनि भेटघाट र छलफलमा सक्रिय भएको बताइन्छ ।
आचार्यको सचिवालय शुभारम्भ
लायन्स इन्टरनेशनल ३२५ बी १ नेपालमा सेकेण्ड भाइस डिष्ट्रिक्ट गभर्नर पदमा उम्मेदवारी दिएका विशेश्वर आचार्यको सचिवालय शुभारम्भ भएको छ । चुनावी प्रचारप्रसारका लागि सचिवालय स्थापना गरिएको हो ।
पोखराको न्यूरोडस्थित सचिवालयको शुक्रबार लायन्स क्लव अफ पोखरा सेन्टरका पूर्व अध्यक्ष एवं अग्रज लायन्स नेता गौरवराज भण्डारी, माधवप्रसाद पौडेल, मिलन सुवेदी, क्लबका वर्तमान अध्यक्ष रामजी ध्वजु र उम्मेदवार विशेश्वर आचार्यले संयुक्तरुपमा उद्घाटन गरे ।

सचिवालय शुभारम्भगर्दै उम्मेदवार आचार्यसहित लायन्स नेताहरु
उक्त अवसरमा लायन्स नेता भण्डारीले लायन्समा गर्विलो इतिहास बनाउन सफल विशेश्वर आचार्यको उम्मेदवारीले निकै ठूलो आशा जगाएको बताए । उनले आचार्यले लायन्समा निर्वाह गरेको भूमिकालाई कसैले नजरअन्दाज गर्न नहुने स्पष्ट पारे ।
‘लायन्समा आचार्य भरोषाको नेता हुनुहुन्छ’, उनले भने, ‘उहाँ दूरदर्शी लायन्स नेता हो । उहाँमा लायन्स हाँक्न सक्ने खूबी पनि छ ।’
उम्मेदवार आचार्यले आफ्नो चुनावी अभियान औपचारिक रुपले नै शुरुआत भएकाले बताए । उनले आफ्नो लायन्स मिसनमा पूर्ण सफल हुने दावी गर्दै सबैलाई साथमा लिएर मिशन पूरा गर्ने प्रतिवद्धता जनाए ।
पोखरा, काठमाडौंसहित मोफसलका लायन्स क्लबको भ्रमण गर्नेक्रममा आफ्नो पक्षमा निकै उत्साह देखिएको उनले बताए ।




