कांग्रेस नेता केसीले भने, ‘विप्लव र सरकार दुवै लुटेरा’

नेपाली कांग्रेसका केन्द्रिय सदस्य अर्जुन नरसिंह केसीले बन्दुकको नाममा नेकपा (विप्लप) ले र सत्ताको आडमा ओलीले देश लुटेको आरोप लगाएका छन् । प्रेस युनियन कास्कीले पोखरामा आयोजना गरेको पत्रकार सम्लेनमा बोल्दै उनले विप्लप माओवादीलाई सरकारले प्रतिबन्ध लगाएर देशलाई नयाँ द्वन्दमा धकेलेको बताए ।

‘विप्लवका गतिविधि माथि निगरानी गरेर नियन्त्रणमा ल्याउने हो । पार्टीमाथि नै प्रतिवन्ध लगाउन त मिल्दैन नि’, उनले भने, ‘राजनीतिक पार्टीमाथि प्रतिवन्ध गर्ने काम अलोकतान्त्रिक र संविधान विपरीत हो ।’

पूर्वमन्त्री समेत रहेका केसीले जनताको सुरक्षा र स्वतन्त्रता सुनिश्चित गर्ने दायित्व सरकारको भएको भन्दै सिके राउतसँग भएको सम्झौता गलत भएको बताए । सिके राउतले सरकारलाई प्रयोग गरेको उनको आरोप छ ।

सरकारले जेलबाट सिके राउतलाई छुटाएर ११ बुँदे सहमति गर्नु नाटकीय भएको टिप्पणी गरे । ‘विखण्डनकारीलाई जेलबाट छुटाउनु पनि नाटकीय हो । ११ बुँदे सहमति पनि नाटकीय शैलीमा भयो’, केसीले भने ।’ बर्तमान सरकारले जनतालाई शान्ति सुरक्षा दिन नसकेको उनको गुनासो छ ।
जनताको सुरक्षा र स्वतन्त्रताको प्रत्याभूति गराउनु सरकारको दायित्व भए पनि उक्त दायित्वबाट सरकार चुकेको बताउँदै उनले वाइडबडी, फोरजी प्रकरणलगायतमा भएको आर्थिक अनियमितताको स्वतन्त्र छानबिन हुनुपर्नेमा जोड दिए ।

प्रतिपक्षको भूमिका कमजोर भएको भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले कांग्रेस जिम्मेवार प्रतिपक्ष भएकाले आफूहरू संयम र धैर्य बन्नाका साथै लोकतान्त्रिक प्रक्रिया बमोजिम अघि बढिरहेको स्पष्ट पारे ।

पार्टी नीतिगत एवं नेतृत्वगत रुपमा पारदर्शी भएर अघि बढ्नुपर्छ भन्ने विचारका साथ आफूहरू पार्टीको सुधार गर्ने क्रममा रहेको उनको भनाइ थियो ।