प्रचण्डको संकेत : रवीन्द्रको ठाउँ धर्मपत्नी विद्यालाई नै दिने

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कास्की २ मा स्व.रवीन्द्र अधिकारीकै धर्मपत्नीलाई उम्मेदवार बनाउने संकेत गरेका छन् । पार्टीमा औपचारिक छलफल नभएको भन्दै अध्यक्ष प्रचण्डले सबैसँगको सल्लाह र समन्वयमा उपयुक्त निर्णले लिने बताए ।

‘निर्वाचन बारे पार्टीमा औपचारिक छलफल चलेको छैन । मिडियामा वामदेव गौतमजीको सन्दर्भ पनि आयो । उहाँले क्लियर गरिसक्नुुभएको छ । पार्टीमा चर्चा चलेको होईन’, प्रचण्डले भने ।’

प्रचण्डले रवीन्द्रका परिवार पनि राजनीतिक भएकोले परिवार भित्रबाटै उम्मेदवार बन्न सक्ने बताए । प्रचण्डले भने, ‘जिल्लाका साथीहरुले सिफारिस गर्नुहोला । परिवारको सदस्य भित्रबाट नै जाँदा उपयुक्त हुन सक्छ ।’

उनले भने, ‘उहाँको परिवार पनि राजनीतिक परिवार हो । नेतृत्व गर्न सक्ने उहाँकै जीवन संगिनी पनि हुुनुहुन्छ, विद्या जी । यो सबै कुराको विचार गरेर पार्टीले उपयुक्त निर्णय गर्छ ।’