अन्नपूर्ण आधार शिविरलाई पुरानै अवस्थामा फर्काउने तयारी

अन्नपूर्ण आधार शिविर (एबिसी) लाई यही फागुन १३ गते आएको हिमआँधीले ठूलो क्षति पुर्याए पनि पर्यटकको सुविधालाई दृष्टिगत गर्दै यहाँका व्यवसायी यस स्थललाई पुरानै अवस्थामा फर्काउने तयारीमा जुटेका छन् ।

अकल्पनीयरूपमा आधार शिविर क्षेत्रमा आएको हिमआँधीका कारण यहाँस्थित होटलका छाना नै उडाएको र हिउँ जमिरहेका कारण होटलभित्रको क्षतिबारे अझै यकिन हुन नसकेको स्थानीयवासी बताउँछन् ।

हिमआँधीका बखत उक्त स्थानमा कुनै मानिस नरहेका कारण कुनै मानवीय क्षति भने नभएको अन्नपूर्ण सेन्चुरी लजका सञ्चालक जेबी गुरुङले बताए । ‘क्षति त अकल्पनीय रूपमा नै भएको छ’, उनले भने, ‘एबिसी पुग्ने गरी आउने स्वदेशी एवं विदेशी पर्यटकको आशा एवं विश्वासलाई मध्यनजर गरी पुनः निर्माणको तयारी थालिसकेका छौँ ।’

हिउँ पग्लिनसकेका कारण पुनःनिर्माणमा केही असहजता भए पनि पर्यटकलाई वैशाखको पहिलो हप्तामा नै आधार शिविरमा पुगी बस्न सक्ने गरी पुनःनिर्माणको तयारी थालिएको उनले जानकारी दिए ।
आजभन्दा झण्डै ४ दशक अघिसम्म एबिसी जाने पर्यटक यहाँका भेडीगोठ र स्थानीयवासीले बनाएका चित्रा वा भकारीले बारेका झुपडीमा बस्ने गरेको स्थानीयवासी एवं होटल स्नोल्याण्डका सञ्चालक जगनबहादुर गुरुङले जानकारी दिए । गुरुङ र अर्का पर्यटन व्यवसायी स्व डम्बरबहादुर गुरुङले विसं २०३८ मा पहिलोपटक एबिसीमा पर्यटकलाई लक्षित गरी सुविधासम्पन्न होटल सञ्चालन शुरु गरेका थिए ।

त्यसपछि यहाँस्थित होटललाई क्रमशः सुविधा सम्पन्न बनाउने लक्ष्यअनुरूप वर्षेनी पूर्वाधार थप हुँदै गएको उनले जानकारी दिए । एबिसीमा मात्रै हाल ४ होटेल छन्, जसमा झण्डै १ सय बढी बस्नसक्ने व्यवस्था छ । गुरुङका अनुसार पछिल्लो ३ दशकयता एबिसी जाने पदयात्रा मार्गका सिनुवा, बाम्बो, हिमालयन, दोभान, देउराली, माछापुच्छ्रे आधार शिविर र एबिसीसमेतमा जम्मा २६ होटल सञ्चालनमा छन् ।

एबिसीमा जीवनको लामो समय बिताएका ६७ वर्षीय गुरुङले आफ्नो लामो समयदेखिको अनुभवमा यस पटक एकाएक ठूलो हिमआँधी आएको बताए । परापूर्वकालदेखि नै अन्नपूर्ण पदमार्ग क्षेत्रको देउरालीदेखि माथिको क्षेत्र धर्म तथा संस्कृतिसमेतका आधारमा अत्यन्त संवेदनशील क्षेत्र भएको उनले बताए ।

यहाँस्थित बुद्धशिला, पुजनीयम बराह र यहाँबाट देखिने १ सय ८ धारासहितका धार्मिकस्थललाई अत्यन्त श्रद्धा विश्वासका साथ पूजाआजा गर्ने गरिएको बताउँदै उनले यस क्षेत्रमा कुखुरा, बंगुर, भैँसीको मासु ल्याउन नहुने जनविश्वास रहेको बताए । ‘यस क्षेत्रमा कुखुरा, बंगुर र भैँसीको मासु ल्याउन नहुने प्राचीनकालदेखिको प्रचलन हो’, गुरुङले भने, ‘निषेधित वस्तु लुकाएर ल्याएमा पनि अनिष्ट हुने जनविश्वास छ ।’

शक्ति, संस्कृतिजस्ता कुरालाई कदापि बिर्सन नहुने बताउँदै उनले युवापुस्ताले पनि प्रचलित आस्था एवं विश्वासलाई सधैँ आत्मसात गर्नुपर्नेमा जोड दिए । अन्नपूर्ण आधार शिविरमा यसपटक के कारणले यत्रो क्षति भयो त्यसको यकिन कारण भने अझै नखुलेको बताउँदै उनले पर्यटकको सेवालाई लक्षित गरी भत्के बिग्रेका पूर्वाधारलाई चाँडै नै पूर्ववत् अवस्थामा फर्काउने गरी आफूहरू सक्रिय बनेको उल्लेख गरे ।

स्वदेशी एवं विदेशी पर्यटकको आकर्षक गन्तव्य एबिसी भएका कारण यहाँको क्षतिप्रति सरकार गम्भीर बन्नुपर्ने अन्नपूर्ण गाउँपालिकाका प्रमुख युवराज कुँवरले बताए । क्षतिपश्चातको पुनःनिर्माणमा स्थानीयवासीले निकै चासो देखाएको बताउँदै उनले ठूलो हिमपातसँगै आधार शिविर र यस क्षेत्रका पदमार्गमा भएको क्षतिको पुनःनिर्माणलगायतका विषयमा तत्काल कदम चालिने उनले बताए ।

गाउँपालिकाबाट आधार शिविर एवं पदमार्ग क्षेत्रमा भएको उचित क्षतिपूर्तिका लागि नेपाल सरकारसँग तत्काल पहल गर्ने उहाँले जानकारी दिए । आधार शिविरमा ठूलो क्षति भएपनि स्थानीयले पूर्ववत् अवस्थामा फर्काउने गरी गरेको तयारीमा गाउँपालिका, प्रदेश सरकार एवं संघीय सरकारको ध्यान तत्काल पुग्नुपर्ने स्थानीय समाजसेवी एवं अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव, २०७४ मूल आयोजक समितिका संयोजक ललित गुरुङले बताए ।

‘ठूलो क्षति व्यहोरेर पनि यहाँका व्यवसायी वैशाखको पहिलो हप्तामै पर्यटकलाई एबिसीमा नै बस्न सक्ने गरी व्यवस्था मिलाउन लागेका छन्’, उनले भने, ‘यस्तो अवस्थामा उनीहरूलाई सरकार एवं सम्बन्धित निकायले अभिप्रेरित गर्नुपर्ने टड्कारो आवश्यकता छ ।’ पदमार्ग क्षेत्रको माछापुच्छ्रे आधार शिविरसम्म बाटो खुला गरिसकिएको बताउँदै उनले भने, ‘एबिसीमा पुनःनिर्माण सम्पन्न नहुँदासम्म तत्कालका लागि करीब डेढ घण्टाको हाइकिङ गरी पर्यटकलाई त्यहाँ पुर्याएर पुनः माछापुच्छ्रे आधार शिविरमा नै ल्याएर बसाउन सकिने अवस्था छ ।’

सन् १९५० जुन ३ तारिखका दिन फ्रान्सेली नागरिक मौरिस हर्जोगको टोलीले अन्नपूर्ण प्रथम हिमालको आरोहण गरी विश्व कीर्तिमान राखेसँगै यस क्षेत्रले विश्वव्यापी चर्चा पाएको हो । समुद्री सतहबाट ८ हजार ९१ मिटर उचाइको अन्नपूर्ण प्रथम आरोहणको सफलतापछि सन् १९५३ मे २९ मा तेन्जिङ नोर्गे र एडमण्ड हिलारीले विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेका थिए ।
अन्नपूर्ण हिमालको आरोहण भएको डेढ दशकपछि सन् १९६६ मा विश्वप्रख्यात पदयात्री एरिक सिप्टनले समुद्री सतहदेखि ४ हजार १ सय ३० मिटरको उचाइमा रहेका अन्नपूर्ण आधार शिविरको पदयात्रा गरेसँगै अन्नपूर्ण क्षेत्र क्रमिकरूपमा पदयात्राका लागि आकर्षक गन्तव्य बन्दै गएको हो ।