यसवर्षको लगातारको हिमपातका कारण उपल्लो मुस्ताङमा दिनहु चौपाया मर्ने क्रम रोकिएन ।स्थानीयबासीको मुख्य आर्यआर्जनको श्रोत मानिएको पशुपालन व्यवसायलाई चिसो र आहारको अभावले चौपाया मरेपछि यहाँका किसान चिन्तित बनेका हुन् ।
उपल्लो मुस्ताङका पशुपालक किसानले खर्कमै चौपाया हुर्काउछन् ।खर्कमै छाडिएका चौपाया हिउँदयाममा पनि गोठालाकै भरमा जिम्मा लगाईन्छ ।यस वर्ष सिमावर्ती क्षेत्र लगायत उपल्लो मुस्ताङमा सयौंको संख्यामा पालन गरिएका चौपाया हिमपातको प्रभावले मर्न पुगे ।
सीमावर्तीक्षेत्रमा अत्यधिक हिमपात र माईनस तापक्रम हुदा त्यहा पालन गरिएका याकचौरी र भेडाबाख्रा ढण्डीले मरे र मर्ने क्रम जारीनै छ ।गत पुस महिना देखि फागुनको दोश्रो हप्ता सम्म पटक पटक परेको हिमपातले कोरला आसपासका खर्कका घाँसे मैदान चरनक्षेत्र ढाकिए ।हिउँले चरनक्षेत्र ढाकिदा खर्कमा पालिएका चौपाया संकटमा परेका हुन् ।
उपल्लो मुस्ताङ धेरैजसो भूभाग सुख्खा मरुभुमी छ ।खेतिपाती उस्तो हुदैन र पर्यटक पनि उस्तो जादैनन् ।यहाँका स्थानीयको बर्खे व्यवसाय भनेकै पशुपालननै मुख्य श्रोत हो भने,हिउँदयाममा गाउँनै रित्तो हुनेगरी बेशी झर्छन् ।धेरैजसो चौपाया धनीहरु चौरीयाक रेखदेख गर्ने गोठालालाई सुम्पिएर बैकल्पिक व्यवसायका लागि तल ओर्लने उपल्लो मुस्ताङको पूख्यौली चलनचल्ती हो ।
चौरी पालक किसानले खर्कमै चौपाया उत्पादन तथा हुर्काउनका लागि लेकका बिभिन्न खर्कमा छाड्ने गर्छन् ।उपल्लो मुस्ताङको सीमावर्ती आसपासका गाउँहरुमा अझै २ फिट बढी हिउँ छ ।भौगोलिक हिसाबले बिकट गाउँ चुम्जुङमा चौपाया उद्दार गर्न कठिन भएको मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी विश्वश्वर रेग्मीले जानकारी दिए ।‘उपल्लो मुस्ताङमा सयौंको सख्यामा चौपाया हिमपातका कारण मरे भन्ने जानकारी पाईयो,उनले भने,‘संकटमा परेका चौपायाको उद्दार गर्न अझै कठिनाई छ ।के कति क्षति भयो भन्ने तथ्याङ्क संकलनका लागि सीमा प्रहरीको टोली घटना स्थल प्रस्थान गरेको छ ।’
सहायक प्रमुख जिल्ला अधिकारी रेग्मीका अनुसार लोमान्थाङ ४ चुम्जुङको खर्कमा करिव २ सय याकचौरी मरेको जानकारी आएको बताए ।त्यस्तै,उपल्लो मुस्ताङबासीले दलाई लामाको नाममा पुजा(छत्तर)छाडेका १२ सय भेडाबाख्रा मध्ये करिव ४ सय भेडाबाख्रा हिमपातको प्रभावले मरेको जानकारी आएको रग्मीले खुलाए ।यसका साथै अन्यब्यक्तिको पनि भेडाबाख्रा हिमपात र चिसोले मरेको भन्ने जानकारी आएको तर बिस्तृत बिवरण नआईसकेको उनको भनाई छ ।
चुम्जुङ गाउँकी समाजसेवी ,हाल पोखरा बस्ने पेमा गुरुङका अनुसार उपल्लो मुस्ताङमा यसवर्षको हिमपातको असरले चौरीयाक तथा भेडाबाख्रा पालन व्यवसाय धरासयी हुने अवस्था आएको बताईन् । चिसो र चरनक्षेत्र अभावले चौपायालाई शास्ती बढेको उनको भनाई छ ।उनका अनुसार चुम्जुङ गाउँका नुडादु गुरुङको करिव ४ सय ५० वटा भेडाबाख्रा,कुङ्गा गुरुङको चौरीयाक २० वटा,वाङ्दी गुरुङको चौरीयाक ३२ वटा र सोनाम गुरुङको याकचौरी २२ वटा चिसो र घाँस खान नपाई मरेको हो ।
चुम्जुङका चौरीयाक गोठाला कुङ्गा गुरुङले चौरीयाक हिमपातले धमाधम मर्दा आफुहरुको पुख्यौली व्यवसाय धराम परेको टेलिफोनमा बताए ।यस्तो ठुलो क्षति कहिल्यै नव्यवहोरेको र सरकारले पीडित किसानलाई राहत उपलब्ध गराउन माग गरे ।उनले चौरीपालन तथा भेडाबाख्रा पालन व्यवसाय संकटमा परेकाले परम्परागत व्यवसाय जोगाउन संम्वन्धित निकायले पहल गर्न आवश्यक रहेको उल्लेख गरे ।
यस्तै,लोघेकर दामोदरकुण्ड गाउँपालिकाको घमी र ढाक्मरको लेकमा बस्ने घ्याचुङ सोनाम, ढोमा छिरिङ पछिरिङ र ठिने गुरुङ लगायतका गोठालाको चौरीयाक गोठबाट करिव ५० जति मरेको र चरन अभावले चौपाया धमाधम मर्ने क्रम भईरहेको पेमाले जानकारी दिईन् ।उनले धमाधम चौपाया मर्न थालेपछि चौरी गोठालाहरु रोईरहेको जनाईन् ।
लोमान्थाङ गाउँपालिका जस्तै लोघेकर दामोदरकुण्ड गाउँपालिका घमी र घीलिङका लेकमा पालन गरिएका चौरीयाक पनि चरन अभावले मर्न थालेको छ ।हालसम्म उक्त लेकका करिव २५ जति चौरी घाँस खान नपाएर भोकै मरेको र अझै मर्ने क्रम जारी रहेको उनको भनाई छ ।
चुम्जुङ जस्तै लोमान्थाङको लेकमा बस्ने गोठालाहरुको चौरीयाक गोठबाट करिव २० वटा जति मरेको र अझै बढ्न सक्ने पेमाले बताईन् । धमाधम चौरी मर्न थालेपछि उक्त लेकका चौरीयाक गोठलाई सुरक्षितका चरनका लागि १ मासिक २५ हजार तिर्नेगरी ढि र सुर्खाङको लेकमा ल्याईएको हो ।उपल्लो मुस्ताङमा लगातारको हिमपातले चरनक्षेत्र पुरै ढाकिएको हो ।
उता, लोमान्थाङ गाउँपालिकाकै केकाप भन्ने स्थानमा गएका नर्वु साङ्वो,याङजेन कघ्याचो र साङ्वो गुरुङ आदी सम्पर्कमा नआएको उनले जानकारी दिईन् ।




