नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले शान्ति सुरक्षा र विकासमा सरकार पूर्ण असफल भएको बताएका छन् ।
नेपाल प्रेस युनियन कास्कीको नवौं अधिवेशनबाट निर्वाचितहरूलाई बधाई तथा शुभकामना दिंदै नेता पौडेलले सुशासनको धेरै कुरा गर्ने केपी ओलीले नै कुशासन गरिरहेको आरोप लगाए । उनले ओली सरकारले जनतालाई भ्रष्टाचार, महंगी, अशान्तिबाहेक अन्य केही दिन नसकेको भन्दै चुनावमा गरेको प्रतिवद्धताबाट सरकार पूर्ण च्यूत भएको बताए । उनले न्यायालय र अख्तियारमा सरकार हावी भएको आरोप पनि लगाए ।

कम्युनिष्ट भन्दा कसरी राम्रो पार्टी बन्ने भन्ने कांग्रेसको प्रमुख चुनौती नेता पौडेलले बताए । उनले भने, ‘पार्टी भित्रको कमजोरी कसैले नलुकाऔं । पार्टी भित्रै मनौं, खबरदारी गरौं । कांग्रेसलाई माथि उठाउन सबै आआफ्नो ठाउँबाट लागौं ।’ उनले कांग्रेस अझै पूरानै अवस्थामा रहिरहने हो भने झनै ठूलो क्षति व्यहोर्नुपर्ने स्पष्ट पारे ।
नेता पौडेलले कांग्रेसले अब सुशासन, भ्रष्टाचार, शान्ति सुरक्षाको मुद्धा उठाएर जनतामा जानुपर्ने भन्दै अब चुप लागेर बस्ने बेला नभएको र कांग्रेस चुप लागे जनताले दुःख पाउने बताए ।
अर्को प्रसंगमा नेता पौडेलले पोखरीमा सँगै नुहाए पनि पार्टी सभापति शेरबहादुर देउवासँग आफ्नो मन नमिलेको बताए । सभापति देउवासँग म्याग्दीको तातोपानी कुण्डमा सँगै डुबुल्की मारेको भोलिपल्ट पोखरा आएका पौडेलले व्यवहार बाझिने बेलासम्म एकता नहुने स्पष्ट पारे । उनले भने, ‘एकता त्यत्तिकै हुँदैन, तातोपानीमा पौडी खेलेर एकता हुन्छ ? एकता हुन भावना, मुद्धा र व्यवहार मिल्नुपर्छ ।’
उनले सभापति देउवासँग भावनात्मक रुपमा एकता नभएको भन्दै पार्टीको अनुशासन समिति र निर्वाचन समिति स्वतन्त्र नभएको भन्दै असन्तुष्टि जनाए । ‘नाम सुन्ने वित्तिकै यी (अनुशासन र निर्वाचन) दुबै न्यायिक समिति हुन् भन्ने बुझिन्छ’, उनले भने, ‘न्यायालय निष्पक्ष हुनुपर्छ, पक्षपाती भए जनताले न्याय पाउँदैनन् ।’
यद्यपि उनले राजनीतिमा स्थायी शत्रु र मित्र नहुने भन्दै उनले व्यवहार मिले देउवासँग मिलेर अघि बढ्ने सम्भावना रहेको संकेत समेत गरे । पौडेलले पार्टी सुधारको लागि तिथि, मिति नै तोकेर महाधिवेशनको कार्यतालिका पार्टीमा प्रस्तुत गरेको जानकारी दिए । उनले तोकिएको मितिमै महाधिवेशन हुनुपर्ने माग समेत गरे ।
कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालाले सरकार सर्वसत्ताबाद र अधिनायकवादतर्फ अघि बढ्को आरोप लगाए । उनले भने, ‘वित्तीय क्षेत्र कबमा छ । राष्ट्रबैंक अर्थ मन्त्रालयको नियन्त्रणमा छ । व्यापार घाटा बढ्नु, विदेशी लगानी घट्नु, न्यायपालिकामाथि कब्जा, प्रेसमाथि अंकुश लगाइएका छन् । यी सबै सरकारको सर्वसत्ताबाद र अधिनायकवादको संकेत हो ।’ कांग्रेस पार्टी साथमै रहेकाले नडराउन पत्रकारलाई आग्रह गर्दै उनले पत्रकारले दण्डहिनता, भ्रष्टाचार, विसंगति विरुद्ध सशक्त कलम चलाउनुपर्नेमा जोड दिए ।
नेता कोइरालाले कांग्रेसको केन्द्र्रीय समितिबाट पारित विधानप्रति असन्तुष्टि जनाए । उनले महासमितिले दिएको क्षेत्राधिकार भन्दा बाहिर गएर विधान बनाइएको भन्दै महासमिति भन्दा केन्द्रीय समिति ठूलो हुन नसक्ने स्पष्ट पारे । साथै उनले मुलुक गणतन्त्रमा डौडिएको १० वर्ष पुगिसक्दा पनि कांग्रेसको राजनीतिक प्रस्तावमा संसद पुनःस्थापनाको विषय उल्लेख नगर्नु विडम्वना भएको बताए । नेता कोइरालाले कांग्रेसको महाधिवेशन आलटाल हुन लागेको भन्दै समयमै महाधिवेशन गरेर कांग्रेसलाई नयाँ उर्जा दिनुपर्ने खाँचो औंल्याए ।
कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य गुरुराज घिमिरेले कांग्रेसको नीति, विधि, विधा र भावी रणनीति लिएर जिल्ला देखि गाउँ, कुनाकाप्चामा पुग्न आवश्यक रहेको बताए ।
कास्की कांग्रेसका नेता शुक्रराज शर्माले भविष्यका लागि आजैदेखि पार्टी सक्रिय हुनुपर्ने खाँचो औंल्याए ।
प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देलले चुनावमा मात्र खोजी गर्ने पत्रकारलाई यसपटक बोलाएर सम्मान नै गरेकोमा खुशी व्यक्त गरे । उनले पत्रकारिता र राजनीति फरक–फरक पाटो रहेको भन्दै उनले आफूले यी दुवै विषय बुझेर अघि बढ्ने स्पष्ट पारे । साथै उनले पत्रकाररिता व्यवसायिक बन्न नसक्दा समस्या उत्पन्न भन्दै अबको आफ्नो मिसन दक्ष र व्यवसायिक पत्रकार उत्पादन भएको बताए ।
कास्की कांग्रेसका सभापति कृष्ण केसीको सभापतित्वमा भएको कार्यक्रममा प्रेस युनियन कास्कीका निवर्तमान अध्यक्ष शिरोमणि बराल, कांग्रेस नेतृ सरस्वती गुरुङ, कास्की कांग्रेसका उपसभापति आइबहादुर गुरुङ, सचिव देवेन्द्र रानाभाट लगायतले बोलेका थिए ।





