आफ्नो लामो गन्तव्यमा पुग्न हतार रहेको रात्रीकालिन बस राजमार्गको एउटा होटेलमा रोकियो। कण्डक्टरले जानकारी गराउँदै थियो त्यसै समय होटेलबाट खटाइएको एउटा केटो आएर चिच्याउन थाल्यो। “ल सबै झर्नुहोस् । दिसापिसाब गर्नुहोस् अनि हलमा आएर टिभि हेर्दै खाना खानुहोस् । खाना नखानेहरूले फर्किँदा काउन्टरमा झुण्ड्याइएको बोर्डमा एकपटक अवश्य हेर्नुहोस् ।
भोक लागेका यात्रीहरू फटाफट झर्न थाले । दिसापिसाबले आत्तिएको मपनि उत्रीएँ । यात्राले गर्दा खासै भोक लागेको थिएन । शौचालय पुग्दा निकै लामो लाइन लागेको थियो। बल्लतल्ल पालो आयो। हलमा आएर विश्राम गर्दै टिभी हेरेँ। “ल समय धेरै छैन । अब खाइसकेकाहरूले बिस्तारै काउन्टरमा पुगेर रकम तीर्दै आ-आफ्नो सिटमा गएर बस्दै गर्नुस् ” भन्ने आवाजसँगै मपनि उठेँ । काउन्टरबाट सरासर जान लागेको देखेर अघि कराउने केटाले मलाइ भन्यो -“दाइले खाना खानु भएन ?” अहँ मैले त खाइन ” मैले टाउको हल्लाएँ । “ल त्यसो भए २० रुपैयाँ तीरेर जानुस् – केटो करायो। “किन ?”- म आश्चर्यचकित भएँ । “दाजु ,खाना नखाएपछि शौचालय गएको २० रुपियाँ लाग्छ चार्ज ।” “अनि अघि दिसापिसाब गरेको पैसा लाग्दैन भनेको होइन ?” “त्यो त खाना खानेलाई पो त ! खाना नखानेलाइ होइन ।”ऊ त्यता बोर्डमा हेर्नुस् त । बोर्डमा हेरेँ । लेखिएको थियो – “खाना नखाइ गएमा दिसा गरेको १०, पिसाव गरेको ५, दुबै गरेको १५ ,हलमा रेस्ट गरेर टिभी हेरेको ५ रुपियाँ शुल्क लाग्नेछ । ”
मलाई खुब रिस उठ्यो। अर्काको ठाउँमा बहस गर्नु उचित पनि थिएन । हल्का भोक लागेजस्तो पनि भएको थियो । सबैले ताजा खाना खाइरहेको देखेपछि बरु खाएरै पैसा तीर्छु भन्ने सोचेर खाना मगाएँ । हतार हतारमा खाएर २०० रुपियाँ बुझाउँदै आफ्नो सिटमा गएर बस्दै थिएँ झ्याल बाहिरबाट त्यही केटो आएर करायो – “दाजु, ताजा खाना सकिएको रहेछ । हजुरलाई बिहानको बासीखाना पो परेछ! साहूजीले पैसा पठाउनु भएको छ ,यी लिनुहोस् ५० रुपैयाँ । बस स्ट्राट हुँदै थियो मैले झट्पट पैसा हातमा लिएँ । उसले फेरि भन्यो – ए ,दाजु ! “अब के भो फेरि ” – रिसले मेरो पारो तातेको थियो। उसले हात हल्लाउँदै भन्दै थियो – फेरि फेरि पनि सेवा गर्ने मौका दिनुहोला है दाजु ।”




