४ हजार चिनियाँ गाई गण्डकी ल्याउन सम्झौता

- दूधमा प्रदेशलाई आत्मनिर्भर बनाउने योजना

गण्डकी प्रदेशमा पशुपालनको आधुनिकीकरण र विकासका लागि नमूना गाईफार्म स्थापना गर्ने सम्वन्धी सम्झौतापत्रमा आज गण्डकी प्रदेश सरकार र चाईनिज एकेडेमी अफ एग्रीकल्चर साईन्सेस (सिएएमएस) ईन्जिनियरिङ्ग कम्पनीकाबीच सम्झौता भएको छ ।

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव शरदचन्द्र श्रेष्ठ र सिएएमएसका प्रमुख ईन्जिनियर उ डेनसेङ्गकाबीचमा नमूना गाईफार्म स्थापना गर्नेसम्वन्धी सम्झौतापत्रमा हस्ताक्षर गरी आदानप्रदान गरियो ।

सम्झौतामा दुग्ध विकासको माध्यमबाट ग्रामीण गरीबी निवारण गर्न चीन सरकारको सम्पूर्ण लगानीमा सिएएमएसले चिनिया गाईको नमूना फार्म स्थापना गर्ने तथा आर्थिक, प्राविधिक र समन्वयको काम गर्ने उल्लेख छ ।फार्ममा चिनिया ‘होलिस्टेन फ्रिजायन’ जातको दैनिक ३५ लिटर दूध दिने गाइको बाच्छी दुई चरणमा गरेर ४ हजारको संख्यामा ल्याईने सम्झौतामा उल्लेख छ ।

उक्त फार्मलाई गाईको स्रोत केन्द्रको रुपमा विकास गरी यहाँका स्थानीयजातका गाईको नश्ल सुधार गर्ने सोच पनि सरकारले लिएको छ । फार्मका लागि आवश्यक करीब एक हजार हेक्टर ९२० हजार रोपनी० जमीनको प्रवन्ध भने प्रदेश सरकारले गर्नुपर्नेछ ।

त्यसका साथै फार्मसम्म पुग्नको लागि बाटो, बिजुली तथा खानेपानीको व्यवस्था पनि सरकारले गर्ने भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले बताए ।

तनहुँ, गोरखा र लमजुङ्गका केही ठाउँमा फार्म राख्नको लागि सम्भाव्यता अध्ययन भईरहेको र स्थानीयबासीलाई फार्ममा शेयर सदस्यको रुपमा सहभागि गराएर उनीहरुको जमीन समेत प्रयोग गर्ने योजना सरकारले बनाएको छ ।