१३ वर्षमा विधवा

गत वर्षको असोज महिनामा रीजा गजमेरको मोबाइलमा अपरिचितको फोन आयो । फोन उठाइन्, बोलिन् । नचिनेको मान्छे भएकाले रङ नम्बर भनेर फोन काटिन् । 

त्यसपछि त्यही नम्बरबाट दैनिक फोन आउन थाल्यो । शुरु–शुरुमा धेरै कुराकानी नभए पनि पछि फोनमै चिनजन भयो । उनलाई फोन गर्ने सुनिल विक रहेछन् । रीता र सुनिलबीच कुराकानीको क्रम लम्बिन थाल्यो । रीताले सुनिलसँग कुरा गर्ने क्रम बढाइन् । 

फोनबाटै एक अर्कालाई मन पराउन थालेका रीता र सुनिलले पहिलो भेटपछि विवाह गर्ने निधोमा पुगे । उनीहरुले वैशाख १३ गते मानेभन्ज्याङ बजारबाट भागेर विहे गरे । विवाह गर्दा सुनिल १७ र रीता १३ वर्षका थिए । 

उनीहरुसँगै बारीमा घाँस काट्न गएका थिए । रीतालाई बारीमै छोडेर सुनिल घर फर्किए । घर आएर उनी बाली उठाउन गाँउ जानुपर्ने थियो । एक घन्टापछि रीता घाँस लिएर घर फर्किदा उनीहरु सुत्ने कोठाको ढोकामा भित्रबाट चुकुल लगाइएको थियो ।

बाहिरबाट बोलाइन्, भित्रबाट कुनै आवाज आएन । ‘ढोकाको भित्रबाट चुकुल लागेको थियो, मैले बोलाएँ, केही बोलेनन्’, उनले भनिन्, ‘तर झ्यालबाट जान सकिने थियो गएर हेर्दा सुनिलले झुण्डिएर आत्महत्या गरिसकेका रहेछन् ।’