खरबारीमा आगो सल्काउँदा ज्यान गयो

लमजुङमा खरबारीमा आगो सल्काउँदा १ महिलाको जलेर मृत्यु भएको छ । मस्र्याङ्दी गाउँपालिका ५ सञ्जापु गाउँकी ५७ वर्षकी मैती गुरुङको बुधबार उपचारका क्रममा पोखरामा मृत्यु भएको हो ।

मंगलबार बेलुका घर नजिकैको खरबारीमा घाँस पलाउँछ भनेर आफैंले आगो लगाएको र आगो सल्केर आलैंचीबारीमा आएपछि नियन्त्रण गर्ने क्रममा शरीर पोलिएको सञ्जापु गाउँका स्थानीय कामसार्की गुरुङले बताए ।

उपचारका लागि लमजुङ जिल्ला सामुदायिक अस्पतालमा ल्याइएको र उपचार सम्भव नदेखिएपछि पोखरास्थित मनिपाल शिक्षण अस्पतालमा रेफर गरिएको थियो । मनिपाल अस्पतालमा उपचारका क्रममा मैतीको मृत्यु भएको स्थानीयले बताएका छन् ।