मलेसियामा यही महिना नयाँ राजा

मलेसियामा बाहलवाला राजाले पद त्याग गरेकाले यही महिना नयाँ राजा चयन गरिने भएको छ ।

नयाँ राजा चयनसँगै उनको पदबहाली समारोह पनि यही महिना गर्ने कार्यतालिका बनाइएको राजप्रासाद अधिकारीहरुले सोमबार बताएका छन् ।

मलेसियाका नौ वटा राज्यबाट पालैपालो हरेक पाँच वर्षमा नयाँ राजा चयन गर्ने अनौठो प्रचलन रहेको छ । पछिल्ला राजा सुल्तान मुहम्मद पाँचौँले आफ्नो कार्यकाल पूरा नहुँदै आइतबारदेखि लागू हुनेगरी राजगद्दी त्यागेको घोषणा गर्नु भएपछि नयाँ राजाको खोजीका लागि निर्वाचन भएको हो ।

रूसी पूर्वसुन्दरीसँग विवाह गरेकाले उनले समय अगावै राजगद्दी त्यागेको अनुमान गरिएको छ । मलेसियामा सन् १९५७ यता कुनै राजाले राजगद्दी त्याग गरेको यो पहिलो घटना हो ।

उनले गत नोभेम्बरमा औषधि उपचारका लागि भन्दै लामो बिदा लिएका थिए । नयाँ राजा चयन गर्नका लागि यही जनवरी २४ तारिखका दिन सम्बन्धित निकायको बैठक बोलाइएको अधिकारीहरुले जनाएका छन् ।

नयाँ चयन भएका राजाले जनवरी ३१ मा पदबहाली गर्ने उनीहरूको भनाइ छ । मुस्लिम–बहुल मलेसियामा संवैधानिक राजतन्त्रात्मक व्यवस्था रहेको छ । उनीहरु विषेशगरी मुस्लीम मलाय समुदायबाट चयन हुन्छन् । मलेसियामा राजालाई अति धेरै सम्मान गरिन्छ भने उनीहरुको आलोचना गर्न कडा प्रतिबन्ध रहेको छ । एएफपी