इमर्जेन्सी लगाएर मेक्सिको सीमामा पर्खाल लगाउँछु : ट्रम्प

विपक्षी डेमोक्र्याटसँग विवाद बढेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सङ्घीय सरकारको खर्च वर्षौँसम्म रोकेर लम्ब्याइदिन आफू तयार भएको धम्की दिएका छन् ।

वरिष्ठ डेमोक्र्याट नेतासँग भएको वार्तापछि उनले मेक्सिकोसँगको सीमानामा पर्खाल बनाउन आवश्यक परे कंग्रेसलाई बाइपास गरेर राष्ट्रिय सङ्कटको स्थितिको घोषणा गर्नसमेत सकिने बताएका हुन् । मेक्सिकोसँगको सीमानामा पर्खाल बनाउने रकम कङ्ग्रेसले उपलब्ध नगराएको खण्डमा आफूले बजेटसम्बन्धी विधेयकमा हस्ताक्षर नगर्ने ट्रम्पले चेतावनी दिएका छन् ।

मेक्सिकोमा पर्खाल बनाउने बजेट कङ्ग्रेसले उपलब्ध नगराएको भन्दै उत्पन्न विवादका बीच सरकारी खर्च बन्द भएको तेस्रो साता हुन लागेको छ । गत डिसेम्बर २२ देखि ८ लाख सङ्घीय कर्मचारीले तलब पाएका छैनन् । यस विषयमा संसद्ले अटेर गरिरहेमा आफूले राष्ट्रिय सङ्कटको स्थितिको घोषणा गरेर एक्लै अघि बढ्ने भनी राष्ट्रपति ट्रम्प चेतावनी दिँदै आएका छन् ।