
बंगलादेशमा भएको आम निर्वाचनमा प्रधानमन्त्री शेख हसिनाको दलले बहुमत प्राप्त गरेको छ । उनको दल अवामी लिग अत्यधिक मतका साथ विजयी भएको त्यहाँको निर्वाचन आयोगले जनाएको छ ।
कुल ३५० संसदीय क्षेत्रमध्ये अवामी लिगले अहिलेसम्म २८१ स्थानमा बहुमत हासिल गरेको छ । स्थानीय समय अनुसार मतदान आइतबार अपराह्न चार बजेसम्म भएको हो ।
चुनावी पर्यवेक्षणले प्रधानमन्त्री हसिनाको दल विजयी हुने अनुमान पहिलेदेखि नै गरिँदै आएको थियो । यस चुनावमा बहुमत हासिल गरेसँगै शेख हसिना तेस्रोपटक बंगलादेशको प्रधानमन्त्री बन्ने पक्का भएको छ ।
मुख्य विपक्षी दल बंगलादेश नेस्नलिस्ट पार्टीले भने निर्वाचन परिणाम अस्वीकार गरेको छ । उसले निर्वाचनमा व्यापक धाँधली भएको आरोप लगाउँदै पुनः मतदानको माग गरेको छ । २२१ संसदीय निर्वाचन क्षेत्रमा व्यापक धाँधली भएको बीएनपीका प्रवक्ताले आरोप लगाएका हुन् ।
विपक्षी गठबन्धनका झण्डै ४७ उम्मेदवारले निर्वाचनमा गडबडी हुन लागेको भन्दै मतदान सुरु नहुँदै बुथ बहिस्कार गरेका थिए । विपक्षीहरुले चुनावअघि आफ्ना कार्यकर्तामाथि सरकारले ज्यादती गरेको आरोप लगाउँदै आएका छन् ।
बीएनपीले निर्वाचनका क्रममा भएको झडपमा आफ्ना थुप्रै कार्यकर्ता समेत गुमाएको छ । मतदानका क्रममा भएका हिंसात्मक घटनामा परी अहिलेसम्म १७ जनाको मृत्यु भइसकेकोे छ ।