सुन्दरीलाई सफलताको सूत्र सिकाउँदै राजेश हमाल

मिस तामाङ पोखराको तालिम सुरु भएको छ । अहिलेसम्म नेपाली चलचित्रका महानायक राजेश हमाल, टेलिभिजनकर्मी सन्दीप क्षेत्री तथा जिपी तिमिल्सिना, ¥याण्डम रिडर्स सोसाइटी अफ नेपालका निवर्तमान अध्यक्ष उपेन्द्र पौडेल, नेपाल पत्रकार महासंघका अध्यक्ष दीपेन्द्र श्रेष्ठ, सञ्चारकर्मी रविन गुरुङ लगायतले तालिम प्रदान गरिसकेका छन् ।

४५ दिन लामो तालिमका लागि विभिन्न क्षेत्रका विज्ञले सहजीकरण गर्ने कार्यक्रम संयोजक जयन्ती मोक्तानले जानकारी दिइन् । तालिममा महानायक हमालले सफलताका सूत्रका विषयमा आफ्ना धारणा राखेका थिए । उनले हरेक व्यक्तिमा अन्तरनिहीत क्षमता हुने हुँदा त्यसको सही सदुपयोगले मात्रै सफलता हासिल गर्न सकिने बताए । हमालले व्यक्तिको तुलना कुनै अर्को व्यक्तिसँग हुन नसक्ने बताए ।

हास्य कलाकार सन्दीप क्षेत्रीले आफूमा भएको डरलाई जितेर आत्मविश्वासका साथ अगाडि बढ्नुपर्ने बताए । सहजकर्ता उपेन्द्र पौडेलले कम्युनिकेसन स्किल बारे जानकारी गराउँदै आफ्ना कुरा निर्धक्क राख्न सक्नेले मात्रै अरुका कुरालाई पनि ग्रहण गर्न सक्ने बताए । नेपाल पत्रकार महासंघका अध्यक्ष दीपेन्द्र श्रेष्ठ र टेलिभिजनकर्मी जिपी तिमिल्सिनाले उद्घोषण कलाबारे सहजीकरण गरेका थिए ।

तालिमका दौरान सहभागीले तामाङ भाषा, संस्कार, सभ्यता तथा रहनसहनबारे जानकारी हासिल गर्ने आयोजक बैदाम तामाङ सेवा समाजका अध्यक्ष ज्याक तामाङले जानकारी दिए । तामाङ समुदायका नारीको अन्तरनिहीत प्रतिभा, बौद्धिक क्षमता तथा व्यक्तित्व विकास गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गर्न लागिएको आयोजकको भनाइ छ ।

बैदाम तामाङ सेवा समाज कास्कीले हरेक वर्ष ल्होसारको अवसरमा मिस तामाङ पोखरा तथा ल्होसार म्युजिकल फेस्टिभल गर्दै आएको छ । यस वर्ष समाजले मिस तामाङ पोखराको चांैथो संस्करण आगामी माघ १२ गते गर्दैछ ।

प्रतियोगिताको फाइनलमा पहिलो नेपाल आइडल बुद्ध लामाको विशेष प्रस्तुति रहनेछ । प्रतियोगितामा देशभरबाट १४ जना तामाङ समुदायका युवती सहभागी छन् ।
काठमाडौंका रीता लोप्चान, पोखरा बुद्धचोकका सुमी तामाङ, विरौटाका कञ्चन तामाङ, बाटुलेचौरका सोफिया स्याङ्बो, बिरौटाका सुस्मा लोप्चान, लामागाउँका श्वेता पाख्रिन, सृजनाचोकका आशा तामाङ, एयरपोर्टका अस्मिता तामाङ, घारीपाटनका रिस्ता घिसिङ, काठमाडांैका जेमेना घिसिङ, रामेछापका सजना वाइबा, रत्नचोकका अमृता तामाङ, लेकसाइडका मिनु थोकर र नालामुखका प्रीति तामाङ छन् ।


मिस तामाङ उपाधि बिजेतालाई ताज, ट्रफी, प्रमाणपत्रसहित नगद ५० हजार रुपैयाँ साथमा म्युजिक भिडियोको अवसर तथा आकर्षक गिफ्ट ह्याम्परहरु प्रदान गरिने आयोजकले जनाएको छ । फस्ट रनर अपले ३० हजार र सेकेन्ड रनर अपले २० हजार नगदसहित ताज, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । भ्युअर्स च्वाइसमा १ जना प्रतिस्पर्धीलाई नगद १५ हजार प्रदान गरिनेछ ।