
तनहुँको भानु नगरपालिका १३ स्थित सम्जुरमा भालुले अन्नबाली खाइदिएपछि स्थानीय चिन्तित भएका छन् । विगत २ सातादेखि भालुले खेतबारीमा लगाएको अन्नबाली खाइदिँदा स्थानीय चिन्तित भएका हुन् ।
रातको समयमा भालुले खेतबारीमा कोदो खाइदिने गरेको स्थानीय अगुवा रफिक मियाँले जानकारी दिए । आफूले लगाएको ३ मुरी कोदो भालुले खाइदिएको उनको गुनासो छ । उनले माउ र २ वटा बच्चासहितको भालुले स्थानीय हमेजदिन मियाँ, उजेली मियाँ, जमिर मियाँ, हाकिमदिन मियाँ, सौकत अली मियाँले लगाएको कोदो खाइदिएको बताए ।
भालु रातभर गाउँमा डुल्ने र घरको आँगनमा राखिएको फर्सी, भैसी बाख्रालाई खुवाउनका लागि राखिएको कुँडोसहितको पानीसमेत खाइदिने गरेको स्थानीय जमिर मियाँले बताए । ‘अलि पहिला त खेतबारीको अन्नमात्रै खाने गरेको थियो, अहिले त घरमै आएर समेत खानेकुराहरु खाइदिने गरेको छ,’ उनले भने ।
उनका अनुसार भालुको आतंकक बढेपछि सर्वसाधारण रात पर्नेबित्तिकै घरमै बस्ने गरेका छन् । उनले रातिको समयदेखि बिहान उज्यालो हुने बेलासम्म भालु गाउँघरमै डुल्ने गरेको जानकारी दिए ।