हातको मैला सुनको थैला के गर्नु धनले, साग र सिस्नु खाएको बेस आनन्दी मनले महाकवि लक्ष्मीप्रसाद देवकोटाका यी पङ्क्तिमा मात्रै सीमित रहेन अहिले सिस्नुको चर्चा ।
कुनै बेला गाउँघरमा दुई छाक खानाको जोहो गर्न नसक्नेहरूले समेत तुच्छ खानाको रूपमा लिने गरेको सिस्नु अहिले शहरका ठूला–ठूला डिपार्टमेण्ट स्टोर, तारे होटल, रेष्टुराँहरूमा महङ्गो खानाको परिकार मध्येमा पर्न थालेको छ । घरभित्र छिराउन मिल्दैन भनिने सिस्नु अहिले डिपार्टमेण्ट स्टोरहरूमा सजिएर दिनमै हजारौं रुपैयाँ बराबरको बिक्री हुन थालेको छ।
गोर्खा, सिन्धुपाल्चोक, दोलखा लगायत देशका विभिन्न ग्रामीण मुलुकहरूमा रहेका विभिन्न सहकारीले सङ्कलन गरेको सिस्नुलाई राजधानीमा ल्याएर प्रशोधन गरी प्याकेजिङ र ब्रान्डिङमा जुटेको हिमालयन एग्रो प्रोडक्टले तयार गरेको राबानामक ब्रान्डको सिस्नु सुप र चिया अत्यन्तै लोकप्रिय रहेको दाबी गर्छन प्रबन्ध निर्देशक विशाल राई, वार्षिक ६० देखि ७० लाखको सिस्नु पाउडर बिक्री गर्दै आएका राईले यसकै आन्तरिक र विहिरिय बजार विस्तार गर्न तर्फ लागेको बताउँछन्।