प्रधानमन्त्री संविधान संशोधन गर्न तयार

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय जनता पार्टी, नेपालको माग तत्काल सम्बोधन गर्न तयार भएका छन् ।

राजपा नेपालको अध्यक्ष मण्डलसँग मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्रीले संविधान संशोधन गर्ने लगायतका माग छिटोभन्दा छिटो गर्न सरकार तयार रहेको बताएका हुन् । 

राष्ट्रिय जनता पार्टी, नेपालका नेतृत्वसँगको भेटमा प्रधानमन्त्री ओलीले उनीहरुको माग छिटोभन्दा छिटो समाधान गरेर अघि बढ्न तयार रहेको बताएका प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिए ।

सरकारलाई दिएको समर्थन फिर्ता लिनेगरी आन्तरिक छलफलमा जुटिरहेका राष्ट्रिय जनता पार्टीका नेतृत्वसँग प्रधानमन्त्रीले सात दिनेको समय मागेको छ । 

एक हप्ता भित्र आफूहरुको माग सम्बोधनका लागि आवश्यक तयारी गर्न प्रधानमन्त्रीले समय मागेका र आफूहरुले दिएको राष्ट्रिय जनता पार्टी, नेपालका संयोजक राजेन्द्र महतोले बताए ।

‘हामीले सांसद निर्वा्चित रेशम चौधरीको सपथ, आन्दोलनकारी माथि लागेका मुद्दा, बन्दीहरूको रिहाइका विषयमा सरकारको धारणा माग्यौं,’ अध्यक्ष मण्डलका नेता महतोले भने, ‘प्रधानमन्त्रीले सात दिन दिनुस, म छलफल गरेर निर्णय गर्छु भन्नुभयो। हामी उहाँको जवाफ कुर्छौं।’

राष्ट्रिय जनता पार्टी, नेपालका नेताहरुको सहमति अनुसार संविधान संशोधन गर्नुपर्नेे, प्रतिनिधिसभामा निर्वा्चित पार्टीका सांसद रेशमलाल चौंधरीलाई सपथ खुवाउने व्यवस्था गनुपर्ने, विभिन्न राजनीतिक आन्दोलनमा परी जेल चलान भएका र अनावश्यक मुद्दा लगाइएका आफ्ना पार्टीका कार्यकर्तालाई रिहा तथा माफी दिनुपर्ने लगायतको माग रहेको छ । 

त्यस अवसरमा एक हप्ताभित्र पनि आफूहरुको माग सम्बोधन गर्ने तयारी नभए सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी पनि राष्ट्रिय जनता पार्टी, नेपालका नेताहरुले दिएका थिए ।