मन्दिरको प्रसाद खाँदा ११ को मृत्यु

भारतको कर्नाटक राज्यमा अवस्थित एक मन्दिरमा बाँडिएको प्रसाद खाएपछि एघार व्यक्तिको मृत्यु भएको छ । मन्दिरमा वितरण गरिएको प्रसाद विषाक्त भएकाले त्यो खानेहरूको मृत्यु भएको स्वास्थ्य अधिकारीहरूले शनिबार जानकारी दिएका छन् ।

प्रसाद खाएकामध्ये ९३ जना बिरामी परेकामा २९ जनाको अवस्था गम्भीर रहेको उनीहरूले बताएका छन् । बिरामी भएकाहरूलाई कर्नाटक राज्यको माइसोरमा रहेका विभिन्न अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ ।

विषाक्त खानाका कारण एघारको मृत्यु हुनाका साथै ९३ जनालाई घाइते भएका छन् । घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको र तीमध्ये २९ जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

घटनास्थलनजिकै रहेको स्वास्थ्य कार्यालयका अधिकृत के. एच. प्रसादले मन्दिरमा वितरण गरिएको प्रसादमा विषाक्त पदार्थ मिसिएको हुन सक्ने बताए ।