मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भगवान् सीताराम विवाह महोत्सवको रौनक छाएको छ । जनकनन्दिनी सीताको विवाह भएको दिनको स्मरणमा मिथिलावासी यसलाई विशेष महोत्सवका रूपमा मनाउने गर्छन् ।
महोत्सवमा सहभागी हुन नेपाल, भारतलगायत अन्य राष्ट्रका श्रद्धालु र पर्यटकको उपस्थितिले महोत्सव श्रद्धाको उत्सवसहित भव्य बन्दै गएको छ ।
एक साता अघिदेखि नै वैवाहिक विधि शुरु भए पनि बुधबार हुने वैवाहिक समारोहमा सहभागी हुन जनकपुरधाममा जनसागर ओर्लिसकेका छन् । जानकी मन्दिरका सहायक महन्त रामरोशन दास यस पटकको जन्तीमा भारतका उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको पनि सहभागिता रहने कार्यक्रमले जनकपुरधाम भरिभराउ रहेको बताउँछन् ।
उत्तर प्रदेशका मुख्यमन्त्री योगी बुधबार बिहान लखनउबाट विशेष विमानबाट जनकपुरधाम आई जानकी मन्दिरमा पूजाअर्चना र बाह्र बिघामा हुने स्वयंवर कार्यक्रममा सहभागी हुनेछन् ।
त्यस्तै प्रदेश नं २ सरकारले आयोजना गर्ने सम्मान, भण्डारा कार्यक्रममा पनि उत्तर प्रदेशका मुख्यमन्त्री योगी सहभागी हुने कार्यक्रम छ । उत्तर प्रदेशका मुख्यमन्त्री योगी भोलिपल्ट नै साँझ लखनउ फर्किने कार्यक्रम रहेको जनाइएको छ ।
सो अवसरमा बाह्रबिघा मैदानमा हुने स्वयंवर कार्यक्रममा सेनाद्वारा हेलिकोप्टरबाट पुप्पवृष्टि गराउने कार्यक्रम पनि रहेको छ । यसैबीच ऊँट, घोडा, हात्तीसहितको सवारीमा अयोध्याबाट जन्ती पनि जनकपुरधाम आइसकेको छ ।
त्रेतायुगमा मिथिला नरेश जनकले छोरी सीताको स्वयंवरका लागि राखेका शिव धनुषलाई अयोध्याका राजा दशरथका जेठा सुपुत्र रामले तीन टुक्रा पारेपछि मङ्सिर शुक्ल पञ्चमीका दिन राम र सीताको विवाह सम्पन्न भएको थियो ।
गोश्वामी तुलसी दासको रामायणअनुसार जनकपुरधामको बाह्रबिघा मैदानमा आयोजना गरिएको सो स्वयंवरमा देवीदेवताको उपस्थिति रहेको थियो । सीतालाई छोरी–बहिनीका रूपमा मान्ने मिथिलावासी महोत्सवमा देवीदेवताको सहभागिता शरीर नभए पनि अदृश्य रूपमा उपस्थित हुने विश्वासले हर्ष र उल्लासका साथ प्रतिछायाँ जन्तीको आगमनदेखि बिहेसम्म सहभागी हुन्छन् ।
यस महोत्सवमा हिन्दूका अतिरिक्त बौद्ध, शिख र इसाईलगायत अन्य धर्मावलम्बी पनि सामेल हुने गरेका छन् । महोत्सव मनाउने क्रममा मिथिलाको संस्कृतिअनुसार तिलकोत्सव, मटकोर, स्वयंवर र विवाह संस्कार सम्पन्न हुने गरेको छ ।पौराणिक व्यवस्थाअनुरूप राममन्दिरबाट बाजागाजा, झाँकीसहित भगवान् रामको प्रतिमालाई विशेष रूपमा निर्मित डोला सिंहासनमा राखी बाह्रबिघा मैदान पु¥याइन्छ ।
त्यस्तै जानकी मन्दिरबाट सीताको प्रतिमालाई विशेष सुसज्जित डोलामा राखी बाह्रबिघा मैदानमा लगिने चलन रहेको छ ।बाह्रबिघामा स्वयंवर विधि, परीक्षण र वैवाहिक विधि सम्पन्न भएपछि सीतारामलाई जानकी मन्दिरमा ल्याई मिथिला संस्कृतिअनुसार विवाह सम्पन्न गरिन्छ । त्यस अवसरमा निस्किने भगवान्को डोला शोभायात्रामा देशका विभिन्न ठाउँलगायत सीमावर्ती भारतीय क्षेत्रका श्रद्धालु, पर्यटक पनि सहभागी हुने गर्छन् ।