मुस्ताङका विभिन्न स्थानमा स्थानीयलाई लोकल यातायात सेवा सुविधा प्रदान गर्न यहाका यातायात व्यवसायी सहमत भएका छन् । मुस्ताङका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षत्रीको अध्यक्षमा गत हप्ता जिल्ला प्रशासन कार्यालयमा विभिन्न यातायात व्यवसायी तथा सरोकारवालाबीचको संयूक्त बैठकले आउदो मंसिर १९ गते देखि आलोपालो मिलेर लोकल सेवा संञ्चालन गर्न सहमत भएका हुन् ।
बैठकमा मुस्ताङ जीप तथा बस व्यवसायी,धौलागिरी बस संञ्चालक समिति,घोडाघोडी यातायात,म्याग्दी जीप तथा बस संञ्चालक समिति र म्याग्दी कोरला यातायात प्रा.लि. आदी समितिका प्रतिनिधिले सहमतिमा हस्ताक्षर गरे । यातायात व्यसायीबीच भएको सहमतिमा जोमसोम देखि घाँसा र घासा देखि जोमसोम नियमित लोकल यातायात सेवा उपलब्ध हुने प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले जानकारी दिए ।उनका अनुसार जोमसोम देखि माथिको भाग मुक्तिनाथ,कागबेनी र छुसाङमा समेत स्थानीयलाई लोकल यातायात सेवा उपलब्ध हुने जनाए ।
केही वर्षअघि मुस्ताङ जीप तथा बस व्यवसायीले जोमसोम,घासा,मूक्तिनाथ,कागबेनी र छुसाङ आदी स्थानमा नियमित दिनको दुई समय लोकल सेवा उपलब्ध गराएको थियो । पछिल्लो समय मुस्ताङमा सेन्डिकेटप्रथा पूर्णरुपमा खारेज भएपछि समितिले लोकल सेवा हटाएको हो ।लोकल सेवा संञ्चालन हुदा मुस्ताङमा एउटा मात्र मुस्ताङ जीप तथा बस व्यवसायी समिति थियो ।जिल्लामा अन्धाधुन्ध नीजी,हरियो,सार्वजनिक यातायातको साधन तथा समिति थपिएपछि स्थानीयले पाउन यो सेवा बन्द हुन पुगेको थियो ।
मुस्ताङ जीप समितिले मूनाफा सबैले कमाउने उत्तरदायित्व आफुहरुले मात्र गर्ने कुरा न्यायोचित नभएको उल्लेख गरेको थियो ।प्रशासनमा पटक पटक बसेको बैठकपछि अन्य समितिले पनि लोकल सेवा उपलब्ध गराउन राजी भएका हुन् ।
स्थानीय सरोकारवालाहरुले सहमति भएपनि कार्यान्वय महत्वपूर्ण भएको बताएका छन् ।उनीहरुका अनुसार हवाई सेवामा नेपाली यात्रुलाई पहिलो प्राथमिकता दिने निर्णय व्यवहारिक नभएको उल्लेख गर्दे स्थानीय यातायात व्यवसायी समेतले दिने सेवा पनि संङ्का रहेको जनाए ।