साल्मेडाँडाबाट आन्दोलनमा ओर्लियो गेसो

गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) का संस्थापक सभापति पदमबहादुर गुरुङले तेस्रो आन्दोलनको घोषणा गरेका छन् । मंगलबार स्याङ्जाको साल्मेडाँडामा बन्दै गरेको गोरखा स्मारकमा गरिएको पत्रकार सम्मेलनमा उनले सो घोषणा गरेका हु ।

बेलायतले गोर्खालाई गर्दै आएको भेदभावको फेहरिस्त प्रस्तुत गर्दै उनले भने, ‘पहिलो र दोस्रो विश्वयुद्धमा ६० हजारभन्दा बढी गोर्खालीलाई किन मारियो ? त्यसको हिसाब खोज्छौं ।’ गेसोको पहिलो आन्दोलन सफल भएको र दोस्रो आन्दोलनले पनि छिट्टै साकार रुप लिने उनले दाबी गरे ।

उनले यो आन्दोलन पनि शान्तिपूर्ण हुने बताए । यो आन्दोलनमा नेपालको राष्ट्र, राष्ट्रियता र सार्वभौमिकतामाथि आँच पुग्ने गरी ब्रिटिसले गरेको अतिक्रमणमाथि प्रश्न उठाइने उनले प्रष्ट गरे । नेपालका मंगोल नश्लका जातिको मौलिक धर्म, संस्कार र संस्कृतिलाई पूर्णरुपमा किन नष्ट गरियो भनी उनले प्रश्न गरे ।

आफ्नो अभियान सुरु भएको जानकारी दिँदै उनले पहिलो चरण अन्तर्गत समिति गठन गरेर पहिलो र दोस्रो विश्वयुद्ध लगायत अनेकौं क्षेत्रीय युद्धमा ज्यान गुमाएकाको खोजी गरिने उनले सुनाए । नेपालीले बेलायत गएर लड्नु पर्नाका कारणका विषयमा प्रतिवेदन तयार गरिने उनले उल्लेख गरे ।

तेस्रो चरणको आन्दोलन कुनै व्यक्ति, जाति वा समुदायको सवाल नभई सबै नेपाल र नेपालीको सार्वभौमिकता र स्वाभिमानसँग जोडिएको विषय भएका उनको भनाइ छ । उनले भने, ‘यो सबैको आन्दोलन भएकाले सबैको सहयोग रहने अपेक्षा छ ।’

गेसो पश्चिमाञ्चल क्षेत्रीय समितिले आयोजना गरेको पत्रकार सम्मेलनको अध्यक्षता गेसोका क्षेत्रीय सभापति हर्कबहादुर पुनमगरले गरेका थिए ।