अब कांग्रेस केन्द्रीय समिति १४१ सदस्यीय

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति १४१ सदस्यीय हुने भएको छ ।कांग्रेसले पार्टीको विधानलाई नेपालको संविधानले गरेका नयाँ व्यवस्था सङ्घीयताका आधारमा राज्य पुनःसंरचना, संघीय संसद, प्रदेशसभा र स्थानीय तहको पुनःसंरचना, समावेशी समानुपातिक सिद्धान्तका आधारमा प्रतिनिधित्व सुनिश्चित गर्ने गरी विधान संशोधनको प्रस्ताव तयार गरेको छ ।

सोही अनुसार पार्टीको विधान संशोधन मस्यौदा समितिका संयोजक एवं महामन्त्री पूर्णबहादुर खड्काले समितिको लिखित प्रतिवेदनसहित संशोधनका लागि प्रस्तावित विधानको मस्यौदा आज केन्द्रीय कार्यसमिति बैठकमा पेश गरे । मस्यौदा प्रतिवेदन केन्द्रीय समिति बैठकले पारित गरी पार्टीको महासमिति बैठकमा पेश गरिनेछ । महासमिति बैठक यही मङ्सिर २८ देखि पुस ३ गतेसम्म काठमाडौँमा हुँदैछ । महासमिति बैठकले पारित गरेसँगै पार्टीको संशोधित विधान लागू हुनेछ ।प्रस्तुत मस्यौदामा पदाधिकारीको सङ्ख्या र निर्वाचन प्रक्रिया हालको विधान अनुसार नै रहने व्यवस्था गरिएको छ । कार्यसमितिको संख्या भने बढाएर १४१ हुने प्रावधान राखिएको समितिका प्रवक्ता रमेश लेखकले जानकारी दिए । समानुपातिक समावेशी सिद्धान्तका आधारमा सबै वर्ग र समुदायको सहभागिता सुनिश्चित गर्दा केन्द्रीय समितिको सङ्ख्या बढ्ने उनले बताए ।

हाल ८५ सदस्यीय केन्द्रीय कार्यसमिति रहेको काङ्ग्रेसमा १ सभापति १ महामन्त्री र १ कोषाध्यक्ष निर्वाचित हुने तथा १ उपसभापति १ महामन्त्री र १ सहमहामन्त्री मनोनयन हुने व्यवस्था छ ।