१३८ नयाँ एचआइभी सङ्क्रमित

सन् २०१८ को हालसम्म जिल्लामा १३८ जना एचआइभी सङ्क्रमित थपिएका छन् ।

भरतपुर अस्पतालमा रहेको एड्स हेल्थकियर फाउन्डेसन (एएचएफ) नेपालले सङ्कलन गरेको तथ्याङ्क अनुसार यो वर्ष फेला परेका सङ्क्रमितमध्ये ७० पुरुष, ६३ महिला र ५ बालबालिका रहेका छन् ।

फाउन्डेसनका क्षेत्रीय कार्यक्रम संयोजक कृष्णहरि सापकोटाका अनुसार यस वर्ष सङ्क्रमित १० जनाको मृत्यु भएको छ । जसमध्ये आठ जना पुरुष र दुई जना महिला रहेका छन् । हाल सो कार्यालयबाट एक हजार ६५९ जनाले दर्ता भएका छन् । तीमध्ये ८५३ जनाले एआरभी औषधि खाइरहेको उनले बताए । जसमा ३७३ पुरुष, ४०८ महिला र ६९ बालबालिका छन् ।

सन् २०१७ मा १३५ जना नयाँ सङ्क्रमित थपिएका थिए । सन् २००७ मा स्थापना भएको सेन्टरमा यस वर्ष ५६७ जनाको भाइरल लोड परीक्षण गरिएको छ भने ६३७ जनाको सिडिफोर गणना गरिएको सापकोटाले बताए । कार्यालयले यस वर्ष ८६ हजार ६१२ वटा कण्डम वितरण गरेको जनाएको छ ।

सेन्टरले यस वर्ष अस्पताल र समुदायमा १३ हजार ३ सय ७२ जनाको एचआइभी परीक्षण गरेको थियो । नेपालमा ३१ हजार २० एचआइभी सङ्क्रमित रहेको अनुमान रहेको छ । हालसम्ममा १९ हजार ७ सय २ जना सम्पर्कमा रहेको सेन्टरले जनाएको छ । जसमध्ये १५ हजार २ सय ६० ले देशका विभिन्न ठाउँबाट औषधि प्रयोग गरिरहेका छन् ।