लोकल सिनेमाद्वारा ६ फिल्मको घोषणा, कथा ७२ मंसिर २८ देखि

लोकल सिनेमाले ६ वटा फिल्मसहित कम्पनी सुरुवातको औपचारिक घोषणासँगै आफ्नो पहिलो फिल्मको प्रदर्शन मिति पनि घोषणा गरेको छ । लोकल सिनेमा ब्यानरमा बनेको ‘कथा ७२’ आउँदो मंसिर २८ गतेदेखि देशैभर प्रदर्शन हुने भएको छ ।

विभिन्न अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलहरुमा छनौट भई सहभागी भइसकेको फिल्म ‘कथा ७२’ आउँदो मंसिर २१ देखि सुरु हुने काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म फेस्टिभल (किम्फ)मा नेपाल प्रिमियर हुँदैछ । त्यसलगतै मंसिर २८ देखि नेपाली फिल्म हलहरुमा प्रदर्शन गर्ने तयारी भएको हो । मौलिक कथावस्तुमा चलचित्र निर्माण गर्ने अभियानका साथ लोकल सिनेमाले आफ्नो पहिलो प्रस्तुतिको रुपमा ‘कथा ७२’ प्रदर्शन गर्न लागेको हो ।

वि.सं २०७२ सालको महाभूकम्पले मानवीय सम्बन्ध र संवेदनामा पारेको प्रभावमाथि बनेको चलचित्र ‘कथा ७२’ लाई प्रवीण स्याङ्बोले लेखन, निर्देशन गरेका हुन् । लोकल सिनेमा प्रा।लिको निर्माण तथा आइसफल प्रोडक्सन र दक्षिण अफ्रिकी कम्पनी बिफ्याट मोटेलको सहकार्यमा निर्माण भएको यस चलचित्रलाई ‘सन डान्स् अन्तर्राष्ट्रिय अर्वाड’ विजेता चिन्तन राजभण्डारीले खिचेका हुन ।

प्रदर्शन मिति तय गरेसँगै फिल्मको ट्रेलर य्ट्युवमा पनि सार्वजनिक भएको छ । यसअघि अन्तर्राष्ट्रिय महोत्सवहरु केन्द्रित हुँदै भिमियोमा ट्रेलर सार्वजनिक गरेको थियो । ‘कथा ७२’ को २ मिनेट २६ सेकेन्डको ट्रेलरमा सिन्धुपाल्चोकको प्रशिद्ध उच्च पहाडी क्षेत्र पाँचपोखरी, भोताङ लगायतको क्षेत्रका सुन्दर दृश्यहरु समेटिएका छन् । फिल्ममा मानवीय यात्रामा महाभूकम्पको प्रभावलाई प्रतिकात्मक दृश्यमा देख्न सकिन्छ ।यस फिल्म डर्वन इन्टरनेशनल फिल्म फेस्टिभल–दक्षिण अफ्रिका, सिकागो इन्टरनेशनल फिल्म फेस्टिभल–अमेरिका, हानोइ इन्टरनेशनल फिल्म फेस्टिभल–भियतनाम, सियाटल इन्टरनेशनल फिल्म फेस्टिभल–अमेरिकामा छनौट भइ प्रदर्शन भइसकेको छ ।

निर्देशक प्रवीण स्याङबोको दोस्रो चलचित्र हो, यसअघि प्रवीणले २०६९ मा ‘अध्याय’ निर्देशन गरेका थिए । ‘कथा ७२’को आकाश पौडेल, सुशान्त श्रेष्ठ र प्रवीण स्याङ्बो, रामकृष्ण पोखरेल निर्माता रहेका छन् । फिल्ममा आकाश मगर, सुप्रिया राना, भुइसाल लामा, पाल्मो सन्जु, केदार श्रेष्ठ, शारदा अधिकारी, रोमस लगायतको अभिनय रहेको छ ।