नेकपा, कांग्रेसको विकल्प हामी : रवीन्द्र मिश्र

- अर्को चुनावमा जनताले चुन्ने निर्विकल्प पार्टी बन्ने छौं

विवेकशील साझा पार्टीका केन्द्रीय संयोजक रवीन्द्र मिश्रले सत्तारुढ पार्टीका क्रियाकलापले जनतालाई निराश पार्दै गएको र प्रतिपक्षी नेपाली कांग्रेस पनि सशक्त हुन नसकेको दाबी गरेका छन् । उनले यी दुवै शक्ति असफल हुँदै गएकाले अबको विकल्प विवेकशील साझा पार्टी बनेको जिकिर गरे ।

उनले गएको निर्वाचनमा सत्तारुढ नेकपालाई जनताले मौका दिएको र त्यही मौका पनि निराशाको संकेत देखाएको बताए । ‘सत्तारुढ पार्टीले आशाको संकेतमात्रै होइन पूर्णतया निराशााको संकेत छोडेको छ,’ उनले भने, ‘२ तिहाइ समर्थन पाएर पनि केही गर्न सकेन । अब जनताले अर्को चुनावसम्म हामीलाई प्रतीक्षा नगरी सुखै छैन ।’ उनले अर्को चुनावमा पार्टी निर्विकल्प पार्टी बन्ने दाबी गरे ।

विवेकशील साझा पार्टी कास्कीले आइतबार पोखरामा गरेको पत्रकार सम्मेलनमा उनले अर्को चुनावमा पार्टीलाई निर्विकल्प बनाउन रणनीति अपनाएको दाबी गरेका हुन् । २ तिहाइ समर्थन पाएको पार्टीले विकास तथा समृद्धि ल्याउँछ भन्ने कुराबाट अब जनता विस्तारै बाहिर आइरहेको उनले आरोप लगाए ।

‘हामी व्यक्तिगत स्वार्थभन्दा माथि उठेर काम गरिरहेका छौं । पार्टीमा सबै जातजाति, भाषा, धर्म र क्षेत्रलाई समेटेका छौं,’ संयोजक मिश्रले भने, ‘अर्को पटकको चुनावमा जनताले चुन्ने निर्विकल्प पार्टी बन्ने छौं ।’ उनले अहिलेसम्म गार्डी बिग्रिए पनि बदल्ने विकल्प नभएको तर अब भने आफूहरु अत्याधुनिक र सुरक्षित तरिकाले गन्तव्य पु¥याउन आइपुगेको दाबी गरे ।

संयोजक मिश्रले पार्टी विस्तार गर्दा तल्लोदेखि माथिल्लो तहमा नगरेर माथिदेखि तल्लो तहमा सदस्य विस्तार गर्नु पार्टीको रणनीति भएको उल्लेख गरे । ‘हामीले सुरुमा माथिदेखि नै भूमिका विस्तार गर्दै आइरहेका छौं । सुरुमै प्रदेश संयोजक चुन्यौं भने जिल्ला र स्थानीय तहमा उनीहरुले भूमिका निभाउन सक्छन् ।’

मिश्रले पार्टीसँग राजनीतिमात्रै नभएर राजकाज चलाउन सक्ने सदस्य पाएको दाबी गरे । उनले भने, ‘हामी भ्रस्टचार विरोधी पार्टी हौं । विकास र समृद्धि चाहन्छौं । हामीसँग राजकाज चलाउन सक्ने नेतृत्व छ ।’ उनले अबको २ वर्षभित्र महाधिवेशन गर्ने जानकारी दिए ।

पार्टीका प्रवक्ता डा सूर्यराज आचार्यले हलमा भरिन आउने कार्यकताभन्दा प्रश्न उठाउन सक्ने नागरिक खोजेको बताए । उनले भने, ‘जुनसुकै समयमा पनि प्रश्न गर्न सक्ने सच्चा कार्यकर्ताको खोजीमा छौं । भाषण सुन्न हलमा आउने कार्यकर्ता होइन,’ उनले भने । उनले कानुन बनाउने कुरामा सत्तामा पहुँच हुनै पर्ने भएकाले आफू सक्रिय राजनीतिमा आएको सुनाए ।

‘कानुन बनाउने कुरामा जुनसुकै ठूलो प्राध्यापक भए पनि त्यसका लागि सत्तामा पहुँच हुनै पर्छ । त्यसैका लागि विवेकशील साझा आएको छ,’ प्रवक्ता आचार्यले भने । गण्डकी प्रदेशका संयोजक महेश भण्डारीले अबको आफ्नो जिम्मेवारी संगठन विस्तार गर्ने रहेको सुनाए ।