पर्यटक व्यवसायी गोविन्दराज पहारीले शिशु विकास तथा स्याहार केन्द्रमा अक्षय कोष स्थापना गरेका छन् । केन्द्रको १२ औं वार्षिक साधारण सभा पहारीले आफ्ना बुबाआमा लीलाधर र सेतुको स्मृतिमा अक्षयकोष स्थापनाका लागि १ लाख ९ हजार रकमको चेक केन्द्रलाई हस्तान्तरण गरेका हुन् । बालबालिकाको शिक्षा र व्यक्तित्व विकासका लागि सघाउन आफूले कोष स्थापना गरेको बताए ।
कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले विपन्न वर्गका बालबालिकाको हितमा काम गर्न विदेशी दाताको मुख ताक्नुपर्ने अवस्था हटाउन सबै लाग्नुपर्ने औंल्याए । संघले बालश्रमिक तथा निम्न वर्गका बालबालिकाको हितमा काम गर्दै आएको बताउँदै उक्त कामका लागि संघले समेत विदेशी दाताकै सहयोग लिएको बताए ।
कार्यक्रममा केन्द्रका पूर्व अध्यक्ष गोविन्दराज पहारी, मित्रलाल पहारी, क्रिस्टल मन्टेसरी, धर्मराज खड्का, सामुदायिक सेवा केन्द्र वैदामका अध्यक्ष मीना भट्टराई, केन्द्रका लेखा परीक्षक टीकाराम सापकोटा लगायतलाई सम्मान गरिएको थियो ।
संस्थाको अधिवेशनबाट अध्यक्षमा अनिल थापा चयन भएका छन् । उपाध्यक्षमा विष्णु केसी, सचिवमा धर्मनाथ उपाध्याय, सहसचिवमा मीना ढकाल, कोषाध्यक्षमा ललिता ढुंगाना र सहकोषाध्यक्षमा रामेश्वर न्यौपाने चयन भएका छन् । सदस्यमा सन्तुमाया श्रेष्ठ, इन्दिरा गैरे र संगीता बराल छन् ।२०५२ सालमा स्थापना भएको शिशु स्याहार केन्द्रमा अहिले २५ बालबालिका छन् ।