चिप्लेढुंगाको पार्किङः पैसा दे नत्र मारिदिन्छु !

क्याप्सनः चिप्लेढुंगामा सवारी चालकलाई रोकेर पैसा मागिरहेका एक युवा र सवारी चालकसँग उठाएको पैसा गन्दै दुई युवा ।

पोखरा महानगरले यहाँ पार्किङ शुल्क उठाउँदैन तर चिप्लेढुंगामा सवारी पार्किङ गर्नेहरुले पैसा तिनुपर्छ । केही महिनादेखि चार÷पाँच युवा मिलेर यहाँ पार्किङ गर्ने सवारी चालकहरुसँग पैसा असुलिरहेका छन् ।

फरक क्षमताका ती युवाले चालकहस्सँग न्यूनतम १० रुपैयाँदेखि ५० रुपैयाँसम्म लिएको पाइएको छ । पैसा नदिने, छैन भन्नेहरुलाई दुव्र्यवहार गर्ने, पिट्छु, तलाई मारिदिन्छु भन्न पनि उनीहरु पछि पर्दैनन् ।

शुक्रबार युवाहरुले जबर्जस्ती पैसा असुलेपछि चालक सुजन तामाङले मुख्य बजारमै दादागिरी चलिरहेको भन्दै गुनासो गरे । ‘यहाँ हरेक चोटि आउँदै पैसा लिन्छन्, नदिए जथाभावी बोल्छन्, पिट्नै आउँला जस्तो गर्छन्,’ उनले भने ।

अर्का एक चालक रिजन शर्माले केको पैसा दिने भनेपछि युवाहरु मिलेर कठालो नै समाए । पैदलयात्रीहरुले रोकेपछि पार्किङ उठाउने युवाहरुले सांकेतिक भाषामा धम्की दिए, ‘झोलामा भएको चक्कुले रेटेर मारिदिन्छु । अब यहाँ पार्किङ गर्न आउलास् ।’

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले त्यसरी पैसा असुल्नु गैरकानुनी भएको बताउँदै तिनीहरुलाई कारवाही गरिने बताए । चिप्लेढुंगा क्षेत्रमा अवैज्ञ रुपमा पैसा असुल्न केही व्यवसायीको समेत मिलेमतो रहेको देखिएको छ ।

एक व्यापारीले भने, ‘हाम्रो अगाडिको सडकमा हामीले उठाउन दिएका हौँ, जोसुकै आएर जे गरे पनि फरक पर्दैन ।’ चिप्लेढुंगा पोखराको व्यस्त बजार क्षेत्र हो ।