कथा: सुन्तलाको बोक्रा

बस बिरौटामा रोकियो । सहिद चोक उभिएको म बस चढ्न हतारिएको थिएँ । निक्कै समयको प्रतिक्षापछि बस आयो । सोचँे, यो बस राष्ट्र बैंक चोकबाट मोडिन्छ र रत्नचोक हुँदै पुथ्वीचोकबाट बगर खुईकिन्छ तर ड्यामसाईडबाट बिरौटातिर लाग्यो । यात्रुको प्रतिक्षामा रोकियो । 

म कम्प्युटर इन्टिच्युटमा २ बजे पुग्नु थियो । मन अतिशय आतिएको थियो, ‘कति खेर जान्छ भाई ?’ मैले कन्डक्टरलाई सोधेँ । ‘एक छिन रोक्छ’, उसले अमिल्दो आँखाले हेर्दै भन्यो । त्यति मुखले भने पनि उसका आँखाले केही बढी भनिरहेझँै लाग्यो, ‘हतार भए ट्याक्सीमा गए हुन्छ ।’ 

त्यसपछि म चुपचाप बसेँ । बसभित्र पनि एकदम सुनसान, एकदम धैर्यशील थिएँ । मन भने कता हो कता पुग्दै फर्कदै गरेको थियो । चञ्चले गतिमा हिँडडुल गरिरहेको थियो । त्यही अनुरुप विचार पनि अनियन्त्रित भईरहेका थियो । कुन बेला एउटा केटी आएर आडमा बसिछ, मैले पत्तो पाइन् । कोरोनाको उपहार मुखमा लाएकी, बचेको मुहार हेर्दा पनि नराम्री छैन जस्तो, माक्स भित्र पनि हिस्सी परेको अनुहार छोपिए जस्तो । कुनै मंगोलिएन अनुहार तर निश्चित रुपमा भन्न नमिल्ने । 

मोबाइलमा बोलेपछि म उतापट्टि फर्किएँ । निकै सुरम्य स्वरमा बोलिरहेकी थिई, मैले बेवास्ता गरँे । तर सम्भव भएन । पटक पटक उसको बोली सुनिरहँे, ‘बेलाबखतको हाँसो सुन्न समेत म बाध्य भएँ । 
मोबाईल राखेर उसले बेगबाट सुन्तला झिकी । छोडाउन थाली । मैले उसलाई फेरि पुलुक्क हेरेँ । अपलक हेरेँ । उसले सुन्तला छोडाउँदै गर्दा मलाई हेरी । आखाँ जुधेँ । तर जुधाईमा खासै अर्थपूर्ण र अन्तरङ्गभाव रङमङिएन । कनुै अनुराग, कुनै आकर्षण र कुनै अशक्तिले मेलो पाएन । अर्थात कुनै पनि भावले मलाई उनीतर्पm चुम्बकिय रुपमा मोहित गरेन । 

उनले सुन्तलाको बोक्रा हातमा लिएर भनिन्, ‘झ्याल खोल्नोस् न ।’ 
‘जाडो छ किन खोल्नु र’ मैले बुझपचाएझँै गरेर भनेँ । 
‘सुन्तलाको बोक्रा फाल्न ।’ उसले अलिकति संकोच नमानि भनी । 

केटी भर्खरकी थिई, फक्रिसकेकी फुल जस्ती । अर्थात भनौँ २२÷२३ वर्षकी  । लवाई र बोलाई सुन्दा राम्रै परिवारमा हुर्ककी जस्ती । राम्रै शिक्षा र संस्कार पाएकी जस्ती । सहरमा खाई खेलेर बढेकी जस्ती तर यस्तो निम्नकोटीको आचरण ! मैले दङ्ग पर्दै भनेँ, ‘बसभित्र खाएर सबैले झ्यालबाट फोहोरमैला फाल्ने हो भने सडक कस्तो बन्छ । सम्पूर्ण पोखरा नै डम्पिङ साईड बन्छ होला । अनि कसरी पोखरा पोखरा जस्तो बन्छ र पर्यटकको आँखामा पर्छ ?’ 

उसले मेरो कुरा सुनेर खासै असर अनुभूत गरिन । न त गल्तीबोध मुहारमा झल्कियो । न त मेरो विचार सही रुपमा मनन गरी । उल्टै हातमा लिएको सुन्तलाको बोक्रा बसभित्र सिटको पछाडि लोतेलोते पारामा हातबाट खसाली । 

‘मैले सुन्तला खाएको भए बोक्रा वेगमा राख्ने थिए र बसबाट झरेपछि कुनै त्यस्तो निश्चित ठाउँमा फाल्ने थिएँ ।’ मैले जे सोचँे त्यो बोलेँ । 
सायद उसलाई अनावश्यक तर्क लाग्यो कि ? मेरो बोलिले केही घोचपेच ग¥यो कि ! मैले भने कुनै चासो राखिन् । त्यति भनेर म झ्यालतिर फर्कँे । जे देखिन्छ त्यसैमा भुलेँ । 

फेरि पुर्वस्थितिमा रहेँ । फेरि उनीतिर फर्केँ । उनले मतर्फ फर्केर, आँखा जुधाएर भनिन्, ‘तपाईँँ मास्टर हो ?’ 
कति ठाडो बोलि ! बिना कुनै छलकपट, बिना कुनै घुमाईफिराई बोलेको देख्दा यो केटी मगर्नी या गुरुङसेनी हुनुपर्छ । मैले सोच्दासोच्दै उत्तर दिएँ, होइन म वकिल हो ।’ 

त्यसपछि उ केही क्षण बोलिन् । 
‘किन मास्टर हो र भनेर सोध्नुभयो ?’ मैले कुराकानी पुनः जोड्दै भनेँ । 
‘अघि मैले सुन्तलाको बोक्रा बाहिर फाल्न लाग्दा तपाईँँले दिएको लेक्चर सुनेर गेस गरेकी ।’ 
‘त्यति सानो कुरालाई लिएर मास्टर भएको अनुमान गर्ने त । के अर्तिउपदेश र सल्लाह मास्टरले मात्र दिन सक्छन् र ?’ मैले माक्स खोल्दै आदर्श छाटेँ ।  

‘मैले त तपाईँँलाई मोरल्स साईन्स पठाउने सर जस्तो लाग्योे । साँच्चै प्रोमिस ।’ उसले लालित्य दलेर भनी । 
किन किन त्यति भनेपछि उ मसँग अझ लहसिई, मेरो शरीरमा मात्र होइन मनमा पनि एक प्रकारको मनतातो तरङ्ग सञ्चारित भयो । मैले सित्तिमिती अनुभव नगरेको रसानुभूति जताततै फैलियो । त्यतिसम्म कि मुखमा पनि एउटा अनौठो मिठ्यास सगसगायो । त्यस्तै अनुभूतिमा निमग्न म आफँैमा मख्ख भएँ । के बोलौँ ? के बोलौँ ? म चुपचाप बसँे । 

उ भने म तर्फ फर्केर चलायमान हाउभाउमा भनी, ‘मास्टर र वकिलमा कुन पेशा राम्रो हो ?’ 
‘पेशा पनि रङ जस्तो हुन्छ र ? कुन राम्रो कुन नराम्रो भन्ने । जुनसुकै पेशाको आ–आफ्नो ठाउँमा उत्तिकै महत्व हुन्छ । उत्तिकै मान्यता र प्रतिष्ठा हुन्छ ।’ मेरो मुखबाट प्वाक्क फूत्कियो । 
‘आई मिन कुन ठुलो हो भनेको ।’ 

उसको कुरा सुनेर मलाई हाँस उठ्यो तर हाँसिन । आफ्ना नराम्रा दाँत देखाएर उसमा वितृष्णा भर्न चाहिन् कि ! या त हाँसोलाग्दो कुराले मलाई उ काँचोकचिलो लाग्यो । सोझी भनौँ वा अल्पज्ञानी । जेहोस् मनमा लागेको जिज्ञासा सोधी । उसको कमजोरी भन्दा पनि सरलताले मलाई प्रभावित पा¥यो । तव मैले उसलाई एउटा उपकथा सुनाउने विचार गरेँ । 
‘तपाईँँलाई म एउटा सानो किस्सा सुनाउँछु है ?’ 
 ‘हुन्छ ।’ 

“एउटा असाध्यै घमण्डी राजा थियो अरे । जतिबेला पनि मभन्दा महान कोही छैनन भन्ने घमण्ड गर्दथ्यो अरे । अरुलाई निकै सानो–होचो र तुच्छ ठान्दै निन्दा गर्दथ्यो अरे । एकदिन राजा तालमा डुङ्गा चढेर आनन्द लिइरहेका थिए अरे । डुङ्गा रोकेर नाउले सोधेछ, ‘महाराज तपाईँँ ठुलो कि म ठुलो ?’ राजाले उसको अप्रत्यासित प्रश्न सुनेर दुविधामा परेछन् । ‘भन्नोस् न महाराज तपाईँँ ठुलो कि म ठुलो ? ‘उसको कडा र कठोर स्वर सुनेर राजा विचलित भएछन् र सचेततापुर्वक भनेछन्, ‘तिमी ठुलो ।’ 

मैले बोल्दै गए, यदि राजाले म ठुलो भनेको भए नाउले डुङ्गा छाडेर आफु मात्र तैरिएर पारी जान सक्थ्यो । तपाईँँले बुझ्नु भयो नि, समय परिस्थिति अनुसार मान्छे ठुलो र सानो देखिन सक्छ । मुख्य कुरा कर्म ठुलो हुन्छ ।”  
उसले मेरो कुरा मनग्य सोच्छे, मेरो कुरामा सहमत जनाउँछे र आफ्नो प्रश्नको सतप्रतिशत सही जवाफ पाएर चुप लाउनेछे भन्ने सोचेको थिएँ । तर  उ त झन भरभराएर बोल्न थाली, ‘मलाई त वकिल भन्दा मास्टर पेशा नै ठुलो लाग्छ ।’ 

‘किन ?’ 
‘म पनि तपाईँँलाई एउटा किस्सा सुनाउँछु है ?’  
‘हुन्छ ।’ 
“एउटा वकिलले मास्टरलाई पोखरी बेचेछ । वकिलले पोखरी बेचेको एक महिनापछि मास्टरसँग भनेछ, ‘मैले त पोखरी मात्र बेचेको पोखरीको पानी बेचेको होइन । पानीको थप पैसा दिनोस् ।’ तब मास्टरले भनेछ ‘केको पानीको पैसा दिने ? मलाई त पोखरी मात्र चाहिएको हो तिम्रो पानी चाहिएको होइन । बरु तिम्ले आफ्नो पानी मेरो पोखरीमा राखे वापत मलाई भाडा देउ ।’ मास्टरको कुरा सुनेर वकिल खिस्स परेर बाटो लागेछ । 
उसले आफ्नो तर्क सुपुष्ट पार्दै भनी ‘मास्टर नहुने हो भने वकिल, डाक्टर जस्ता व्यक्ति कसरी जन्मने थिए र ! हैन त ?” 

उसको तर्क मेरा लागि क्युन्टल बराबरको भारी बन्यो । निकै सोचनिय र मननिय लाग्यो । केटी सुरुमा देख्दा बोल्न सक्छे, तार्किक रुपमा सशक्त छे जस्तो लाग्दैनथ्यो । मलाई लागेको भान र भाव सर्वथा गलत सावित भयो । मान्छेलाई छोटो समयमा बुझ्न, चिन्न खोज्नु स्वयम्मा हतार हुँदो रहेछ । अर्थात मान्छेलाई मुहार र उमेर हेरेर उभित्रको परिपक्कता आकलन गर्न सकिँदो रहेनछ । म पराजित मुडभावमा बसिरहेको थिएँ । 
बस अझै चलेको थिएन । कोरोनाको लकडाउन भर्खरै खुलेको भएर होला बसभित्र मान्छे त्यति बाक्ला थिएन । औँलामा अटाउने थिए । बसधनी नै आफै कन्डक्टरको काम गरिरहेको थियो । 

‘जाने होइन दाई कस्तो हतार छ ।’ एउटाले मेरै समस्या बोले जसरी भन्यो । 
बस मालिकले आँखा ठुला पारेर हे¥यो । सायद बसमा मान्छे कम हुँदाको असन्तुष्टि उसले त्यसरी नै व्यक्त ग¥यो । म भने पहिले जस्तो हतार मानसिकतामा थिइन् । आडकी केटी या उसँगको गफले मलाई अभ्यस्त र रोमाञ्चित बनाएको थियो । अगाडि पछाडि, छेउछाउकाले के सोच्लान् ? हामी केही असहज नठानी आफ्नै पारामा गफिरहेका थियौँ । 

जव बस महेन्द्रपुलमा आयो । उसले भनी ‘म यही झर्छु, तपाईँँलाई यहीसम्म साथ दिन सकँे ।’ 
म केही बोलिन । मनले भने एकतर्फी संवाद बोलिरहेको थियो – फेरि अब कहिल भेट होला र । यात्रामा भेटिएका सबै मान्छे अर्काे पटक भेटिन्छन् भन्ने के ग्यारेन्टी । 
अर्को मनले खण्डन ग¥यो – त्यति चासो दिन पनि ठिक हुन्न । भेट भएको मान्छेसँग सत्य र सरस बोल्ने हो । सद्व्यवहारले आफ्नो परिचय दिने हो । 

मैले पछिल्लो तर्कलाई आत्मसाथ गरँे । चुपचाप उ झर्न लागेको हेरिरहेँ ।  
तर अचम्म लाग्यो । उसले अघि सिटमुनि फालेको सुन्तलाको बोक्रा वेगमा राखी र मलाई पुलुक्क हेरी । उसको आँखाहरुले भनिरहेझैँ लाग्यो, ‘तपार्इँले भन्नु भएको ठिक हो । फोहोर जथाभावि फाल्ने प्रचलन गलत हो ।’