ठिहीमा आगो ताप्दा थाहै नपाई आउन सक्छ विपत्ती, यी विषयमा ध्यान दिनुस्

जाडोबाट जोगिन नागरिक दाउरा वा घुर बालेर आगो ताप्ने बढेका छन् । विशेषगरी बाक्लो हुस्सु, कुहिरो र शीतलहरले तराईको जनजीवन प्रभावित पारिरहेका बेला आगो ताप्नेक्रम पनि बढेको छ ।

त्यसरी आगो ताप्दा थाहै नपाई लगाएको कपडाबाट आगो सल्किएर मानिसको ज्यानसमेत गएका घटना आइरहेका छन् । केही दिनअघिमात्रै आगो ताप्दा कपडामा सल्किएर दुई जनाको मृत्यु भएको थियो । पछिल्लो २४ घण्टामा मात्रै त्यसरी आगो लाग्दा कपडामा आगो सल्किएर चार जनासहित पाँच जना घाइते भएका छन् ।


राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार चिसो बढेसँगै आगलागीका घटना बढेको र त्यसबाट मानिसको ज्यान जानेक्रम पनि बढेकाले आगो ताप्दा सावधानी अपनाउन अनुरोध गरेको छ ।


सुरुमा आगो ताप्ने क्रममा सल्किँदा न्यायो नै महसुस हुने र आगो नियन्त्रण बाहिर गएपछि मात्रै थाहा पाउने अवस्थाले मानिसको ज्यान नै जोखिममा पर्ने गरेको आगलागी विज्ञहरू बताउँछन् ।


प्राधिकरणकी प्रवक्ता शान्ति महतले पछिल्लो २४ घण्टामा त्यसरी कपडामा आगो सल्किएर चारसहित पाँच जना घाइते भएको बताउनुभयो । त्यसैले आगो ताप्दा धेरै नै ख्याल गर्न उहाँले सबैमा अनुरोध गर्नुभएको छ । प्राधिकरणले सार्वजनिक सूचना तथा भिडियो सन्देशमार्फत नै आगलागीबाट जोगिन अनुरोध गर्दै आएको छ ।

आगोले जलेर पाँच घाइते

प्राधिकरणका अनुसार पछिल्लो २४ घण्टामा आगलागीबाट पाँच जना घाइते भएका छन् । उदयपुरको कटारी नगरपालिका–४ आँपटार बस्ने चार वर्षीया बालिका आफ्नै घरमा ताप्न बालेको आगोमा परेर घाइते भएकी छिन् ।


यस्तै, सप्तरीको मिर्चैया नगरपालिका–१ मा पनि २५ वर्षीया महिला घुर बालेर बच्चालाई सेक्ने क्रममा साडीबाट आगो सल्किन गई घाइते भएकी छिन् । धनुषाको जनकनन्दिनी गाउँपालिका–४ खजुरीमा ४५ वर्षकी महिला आगो ताप्ने क्रममा जलेर घाइते भएकी छिन् । उनलाई उपचारका लागि प्रादेशिक अस्पतालमा जनकपुर लगिएको छ । सो क्रममा गोठमा  आगो सल्किन जाँदा एउटा पाडी मरेको र भैँसी घाइते भएको छ । 


अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–२ मा आगो ताप्ने क्रममा कपडामा आगो सल्किएर ७० वर्षीया वृद्धा गम्भीर घाइते भएकी छिन् । उनको २५ प्रतिशत भाग जलेको र मिसन अस्पताल पाल्पामा उपचार भइरहेको छ ।रासस

समाचार, विचार बाडौं, सेयर गरौं । केही अनलाइनले हाम्रा सामग्री हुबहु र तोडमोड गरी प्रयोग गरेको पाइएकाले गैरकानुनी कार्य नगर्न अनुरोध छ ।