अझै ३० घण्टा मनसुन सक्रिय रहने भएको छ। जल तथा मौसम विज्ञान विभागले नेपालमा अझै ३० घण्टा मनसुन सक्रिय रहने सम्भावना रहेको जनाएको हो।
आगामी ३६ घण्टाका लागि गरिएको मनसुनी प्रणालीको अवस्थिति र सम्भावित फैलावटको विश्लेषणबाट बागमती, गण्डकी, मधेस र कोसी प्रदेशका अधिकांश स्थानमा मनसुन सक्रिय हुने देखिएको विभागले जनाएको छ।
विभागका अनुसार, सक्रिय मनसुनको ठूलो प्रभाव बागमती र मधेसमा देखिनेछ। विभागले नदीको तटीय क्षेत्रमा रहेकाहरूलाई सुरक्षित स्थानमा जान पनि आग्रह गरेको छ।
विभागले पछिल्लो ६ घण्टामा मधेश र बागमती प्रदेशमा हल्कादेखि मध्यम पानी परेको जनाउँदै सतर्कता तह पार नगरेको जनाएको हो । कोशी प्रदेशमा भने हल्का मात्रै पानी परेको जनाएको छ ।
तर, रातीदेखि भने जलसतहले सतर्कता तह पार गर्ने जनाइएको छ । सूचनामा काठमाडौं बागमती जलाधार र कमला जलाधार केन्द्रमा जलसतह बढ्दै गएकोले रातीदेखि जोखिम बढ्ने जनाइएको छ ।
विभागको सूचना अनुसार रातीदेखि नै नवलपरासी पश्चिम, नवलपरासी पूर्व, तनहुँ, लम्जुङ्, गोरखा, धादिङ, चितवन, मकवानपुर, बारा, पर्सा, रौतहट, सर्लाही, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुली र आसपासका जिल्लाहरू भई बहने स९साना नदीनालाहरूमा आकस्मिक बाढीको जोखिम रहेकोले सचेत रहन पनि अनुरोध गरिएको छ ।
आइतबार बिहानदेखि बेलुकीसम्मको अवधिमा नारायणी, कालिगण्डकी, सेती, मादी, मर्स्याङ्दी, दरौंदी, त्रिशुली, पूर्वी राप्ति, बागमती, कमला र आसपासका नदीहरु तथा तिनका शाखा नदीहरूमा बहाव उल्लेख बढ्ने र सतर्कताको तह आसपास पुग्न सक्ने भएको नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध गरिएको छ ।
आइतबार रातीदेखि भने कोशी, कन्काई लगायत नदी जलाधारका क्षेत्रमा समेत बहाव उल्लेख्य बढ्न सक्ने भएकोले कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन आवश्यक रहेको सूचनामा जनाइएको छ ।




