सरकारले राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स(एआई) नीति, २०८२ स्वीकृत गर्ने निर्णय गरेको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले पेस गरेको उक्त निर्णयलाई मन्त्रीपरिषद्को साउन २६ गते बसेको बैठकले स्वीकृत गर्ने निर्णय गरेको हो ।
नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले आज बिहीबार मन्त्रालयमा पत्रकार सम्मेलनमार्फत सो जानकारी दिनुभएको हो । उहाँले मन्त्रीपरिषद्ले गरेका अरू निर्णय पनि पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
नागढुङ्गा सुरुङमार्गको उपभोग दस्तुर तोकियो
नागढुङ्गा सुरुङमार्गको उपभोग दस्तुर तोक्ने सरकारको निर्णय रहेको छ । जसमा (कार-भ्यानहरूको काठमाडौँ आउँदा ६५ र जाँदा ६०, मिनी बस-ट्रकको काठमाडौँ आउँदा ११५ र जाँदा र ८०, बस-ट्रकको काठमाडौँ आउँदा २६० र जाँदा २००, भारी उपकरणको काठमाडौँ आउँदा ६०० र जाँदा २५०) शुल्क तोकिएको छ ।




