कथा: साहित्य औषधि

घरको अवस्था अनुकूल थिएन । आर्थिक रूपमा पनि । मेरो व्यक्तिगत अवस्था स्वरूपमा पनि । श्रीमती सुशीला कान्छो छोरा लिएर स्याङ्जा थिइन् । घरमा जेठो छोरो अमृत थियो ।

मलाई कानूनमा स्नातक पास गर्छु जस्तो लाग्थेन । त्यसताका भेडा च्याङ्ग्रा व्यापार गर्दथेँ । असोजदेखि चैत्रसम्म मैले नौ लट भेडा च्याङ्ग्रा जोमसोमबाट पोखरा लिएर आएँ । साँवा, नाफा सबै पाटनरले खाइदिए ।

बी.एल. तेस्रो वर्षको फर्म खुल्यो । परीक्षा दिने निधो गरेँ । घरकाले पत्याएनन् । एउटा मुसलमान बुच्चडसँग दुई हजार मागेँ । जसलाई भेडाको कारोबारमा चिनेको थिएँ । उनले सोधे– ‘कति पढेको छस् ?’

‘स्नातक तेस्रो वर्षको फर्म भर्न लागेको ।’
‘यत्रो पढेको मान्छेले किन भेडा–च्याङ्ग्रा खेद्ने काम गरेको त ?’

मैले उनको उत्तर दिन आवश्यक ठानिन । तर पनि उनले दुई हजार दिए । लिएर भोलिपल्ट फर्म भरेँ । घन घोटी बन्चरो भने झैँ गरेँ परीक्षाको तयारी गरेँ । तीन महिनामा १७ वटा विषय पास गरेँ । तब लाग्यो म डिग्री पढ्छु ।

आफन्तसँग पैसा सापट मागेर काठमाडौँ गएँ । लगभग नेपालकै प्रसिद्ध उद्योगपति सूर्यबहादुर केसीले मलाई हिमश्री फुड्समा जागिर दिनुभयो । एउटा कार्यक्रममा कविता सुनेको आधारमा ।

जुन जागिर मेरो काठमाडौँ बसाइको नुनपानी बन्यो । बिहान गृहकार्य, दिउँसो अफिस, बेलुका त्रिचन्द्र क्याम्पसको पढाइमा व्यस्त भएँ । यस्तो व्यस्तताका बाबजुत पनि ममा भावनाहरूको वर्षा हुन्थ्यो । मैले कविता, कथा र लेखहरू लेख्न थालेँ । अफिसको फ्याक्स मेसिनबाट पठाउँथे । रचनाको पारिश्रमिक पनि तरकारी खर्च बन्यो । त्यसका अतिरिक्त एउटा साहित्यिक माहोलमा मन मस्तिष्क आवद्ध भयो । एफ.एम.मा कविता भनेर पनि पुरस्कार हात पार्न थाले । तर काठमाडौँ बसाइँलाई निरन्तरता दिन सक्ने आधार भएन । जब जागिर छोडे । पत्रिकाबाट आउने पारिश्रमिक तरकारी किन्दा पसलेले धनिया या हरिया खुर्सानी थपिदिए जस्तो मात्र थियो ।

घरबाट साथ सहयोग थिएन । उसो त आम्दानीको स्रोत नै थिएन । ठूलै आशा बोकेर काठमाडौँ गएको म झोला र काठको बाकसभरि साहित्यिक किताब बोकेर फकिएँ । यतिबेला मलाई लाग्छ, म जे जस्तो अवस्थामा फर्किएको भए पनि म भित्रको साहित्यले मलाई मान्छे बनाएको थियो । एउटा सचेत नागरिक बनाएको थियो । तर भुसका थैलाहरूले मलाई बुझेनन् । कथा, कविता लेखेकै भरमा, विचार नमिलेकै भरमा मलाई पागल भने ।

प्रसङ्ग जोडौँ, जब म काठमाडौँबाट आएँ, मेरो उद्देश्य थियो, एउटा कथासङ्ग्रह प्रकाशित गर्ने । शीर्ष कथा पनि तयार पारिसकेको थिएँ– शान्तिको लुतो । जुन कथा आफैँमा सुन्दर र समयानुकूल थिए । म त्यसैको तयारीमा थिएँ । एकदिन भगत गौतम (नाम परिवर्तन) ले भने– दिनेश गाउँको बारेमा थाहै होला, अब हामी युवा मिलेर गाउँको विकास गर्न एक जुट भएका छौँ । बुढाहरूबाट केही हुनेवाला छैन । त्यसका लागि टोल सुधार समिति बनेको छ । तिम्ले पूरा साथ दिनुप¥यो भन्ने खालका शब्द प्रकट गरेँ ।

उनले थपेँ– ‘हाललाई पाटन सम्याउने र घेर्ने काम शुरु गर्न थालेका छौँ । ब्रिटिस क्याम्पसले सहयोग गर्ने भएको छ ।’
मैले अरू केही भनिन् । ‘बुढाहरूलाई पनि समेट्दा राम्रो हुन्थ्यो होला नि ।’ मेरो त्यति शब्दले म विकास विरोधी कहलिए । त्यसपछि मेरा पछि पनि मान्छे लागे । मलाई पनि मनोवैज्ञानिक रूपमा प्रहार गरे । मेरो प्रतिवाद पानीमा लठ्ठी हाने जस्तो भयो । उल्टै बुबाको कान भर्न पछि परेनन्, कविता लेख्ने मान्छे पागल हुन्छन् भनेर ।

साहित्य नबुझ्ने मान्छे । त्यति लेखपढ र सचेत पनि नभएकाले बुबालाई सही लाग्यो नै होला । बुबाले जसरी हुन्छ मलाई औषधि खान बाध्य पार्नु भयो । आज औषधि खान लागेको २३ वर्ष भयो । औषधि खाँदाखाँदै हात काम्ले लगाएका विभिन्न कमजोरी देखा परे । अधिवक्ता हुनुको हेतुले ल फर्ममा जोडिएँ तर मुद्दामा वहस पैरवी गर्न सकिन । यतिसम्मकी एउटा मुद्दा पनि लेख्न सकिन । केही बैनाका कागज सिवाय । एउटा राम्रो पक्ष तर मैले लेख्न भने छोडिन । छ वटा पुस्तक प्रकाशित भए अब पाँच वटा पाण्डुलिपि छन् । यदि लेख्न छोडेको भए २० वर्षका डिप्रेशनका कुनै न कुनै पलमा म आत्महत्या गरेको हुन्थे । ताकि आत्मबल र ऊर्जा प्रदान गर्न यस्ता कविता पनि लेख्थेँ ।

यसरी नै कविता लेखेपछि मन हलुका हुन्छ । मेरो औषधि त कविता हो जस्तो लाग्छ । कविताले नछोडेसम्म स्वस्थ छु जस्तो लाग्छ ।
कत्ति बाँच्न मन लागिरहेको छैन
यो जीवन,
यस्तो लाग्छ, यदि म अहिले मरे भने
अर्को जुनीमा गजबको
अजबको जीव भएर जन्मने थिए कि
अनि यी मानवीय घटनाहरूबाट
छुट्कारा पाइन्थ्यो कि
त्यसैले खरबारी डिलमा पुग्छु
फराल्न मन लाग्छ
जीवनको महत्व सम्झेर पछाडि हट्छु
घाँस काट्न जाँदा
रुखको हाँगामा आँखा अडिन्छ
डोरी डालीमा झुण्डिन्छ
तर वरिपरिका रुख बिरुवा हासी खुसी
बाँच्नलाई बाँचे जस्तो मात्र होइन
बाँचेकै जस्तो लाग्छ
तब डोरी फुकाउँछ
बजार जान्छु
झोलङ्गे पुलमुनी हेर्छुु
जीवन साच्चिकै प्रिय लाग्छ ।
म एक्लै संसारसित लड्न सक्छु लाग्छ
तब म भित्र बलशाली मान्छे प्रवेश गर्छ ।

यस्ता कविता पनि फुर्छन् , मन हलुका पनि हुन्छ, मनमा स्फुर्ती मिल्छ । फेरि पनि लाग्छ एउटा कवि कसरी पागल हुन सक्छ ? यदि महसुसमा भैहाले पनि साहित्य छ नि औषधिको काम गर्ने ।