कविताः विचारको आगो

कृष्ण सेन
सशक्त विचारको
आगो हो
कृष्ण सेन
सशक्त कविताको
विम्व हो
उसले के गल्ती
गरेको थियो ?
निस्तेज अनुहारका
आँखामा
आगो बालिदिएको थियो
गाउँ, घर, पँधेरा र
गोठको अन्धकार
पिएको थियो
जनादेश बाँडिरहेको थियो
काँडाघारी फाँडिरहेको थियो
नदीनाला बेचेर
सत्ता र भत्ता
कुम्लाउँने
विदेशी थोत्रा
विम्वहरूलाई
चिनाइरहेको थियो
समताको फूलबारी सिर्जना
गर्नेतिर सबलाई
हिँडाइरहेको थियो
कान्छी,भट्टी र देशको
करूण कहानी
सुनाइरहेको थियो
प्रमिथसलेझैं
स्वर्गबाट आगो
चोरिरहेको थियो
छरपस्ट आगोलाई
एक ठाउँमा जोरिरहेको थियो
उसका यी कामलाई नै
अपराध ठान्यौ तिमीहरूले
एउटा धप्प बलेको
कविलाई
नेल र हत्कडी लगाएर
कारागारको अँध्यारामा
तान्यौ तिमीहरूले
तैपनि विचारलाई
मार्न सकेनौ
उसलाई भित्र पार्न सकेनौ
काव्य, खण्डकाव्य
जन्माइरह्यो उसले
चारैतिर अन्भाइरह्यो उसले
उसका विचारलाई
अब्बल चट्टान ठानेर
पछि त हिरासतमै
उसका नैसर्गिक
अधिकारलाईसमेत् कुल्चेर
यसरी काट्यौ
उसको शरीर
जसरी मासु पसलेले
मासु काट्छ
यसरी बग्यो उसको रगत
सम्झँदा
धर्ती फाट्छ

ऊ मरेको छैन
उसका कवितात्मक
विम्वहरू
देशैभरि छाउँने छन
सबैले हातहातमा
रातो घाम पाउँने छन्
*