
किन कामको श्रेणी छुट्याइन्छ ? आखिरमा काम त काम हो, जुन काम बदनियतसँग जोडिन्न, जुन काम गर्दा कुनै वर्ग वा समुदायलाई हानि पुग्दैन, जुन कामले जीवनयापनलाई महत्व दिन्छ, अनि जुन कामले आर्थिक उन्नतिमा टेवा पु¥याउँछ, त्यो कामलाई किन निन्दा गरिन्छ ? कि सो कामलाई सम्मानका दृष्टिले हेरिन्न ? किन हरेक कामलाई पैसाको मापदण्डले कसी लगाइन्छ ? र येनकेन जति सक्यो उति बढी पैसा कमाउने व्यक्तिलाई मात्र मनग्य सम्मान गरिन्छ ? यस्तै यस्तै प्रश्न उपर घोत्लिएको थिएँ ।
मलाई यो भाव बिहान मामाले आमालाई भनेको वाक्यांशबाट आएको थियो । म र आमा मामाघरमा गएका थियौँ । माइजू बिरामी थिइन् । एक छिन बसियो, त्यही खाना खाइयो । हिँड्ने बेलामा मामाले आामालाई पाँच सयको नोट दिँदै भने–‘ला राख, यसो चिया खाजा खान हुन्छ ।’
‘पर्दैन दाइ अहिले त, भगवान्का कृपाले नूनपानी खाने बाटो भएको छ ।’
जाबो तरकारीको कमाइले यत्रो फुर्ती निकालिस् त बाइ, कतै तरकारी बेचेर काठमाडौंमा घर घडेरी जोड्छेस् क्या हो ?
आमाले त्यस्ता कुरा सुनेर खिस्रिक्क मन पार्नुपर्दथ्यो तर कुनै दुःख मनाउ नगरी भन्नुभयो, यति ठूला कुरा त नगनेसी न दाइ, तैपनि जग्गा र छोरा हुनेको भाग्य कताबाट कसरी चम्कन्छ थाहा हुँदैन भन्छन् ।
‘ल–ल तिमोरुको भाग्य बल्नु भनेको, हाम्लाई पनि न्यायो हो ।’ मामा खिस्स हारेर भन्नुभयो । ममा र आमाबीच हाँसो ठट्टा धेरै पहिलेदेखि चलिआएका होलान् । दाजुबहिनी बीचका कुरा सतहमै रंगमगिए होलान् । भित्रेनीमा असर नपर्ला तर मलाई ‘जाबो तरकारी बेचेर’ भन्ने शब्दले छोयो । हल्काफुल्का हिसाबले मात्र छोएन । भित्रभित्र घोच्यो ।
आफू सरकारी जागिरे भएर हात लामा गर, औला बंग्याएर जे जसो गरेर हुन्छ कमाए होलान् तर आमाको मेहनतलाई किन हेय गर्नु पर्दथ्यो । विदेशमा कृषकको मान महत्व अरू कर्म गर्ने भन्दा बढ्ता हुन्छ भन्छन् । हुन त उनको मात्र दृष्टिकोण त्यस्तो होइन । सबै मान्छेले कृषिलाई हेप्छन्, हेला गर्छन् । एकदम तल्लो दर्जाको काम ठान्छन् । जेसुकै सोचून्, तरकारी खेतीले कसैसँग हात पसार्न परेको छैन । बिहान बेलुकाको समस्या टरेछ । चाडवाडको मुखमा बुझो लगाइएको छ । भोलि मैले जे गरुलाँ गरुलाँ । आमाले भने यति सहज तबरले घर व्यवहार चलाउनु भएको थियो । त्यस मानेमा म आमाप्रति गर्व गर्दथे ।
मभित्र थिएँ । बाहिर पिँढीमा आमा, साइली भाउजू, विमला दिदी र ठूली बहिनी थिए । पोखरेली कान्छी कटेरातिराट हातमा पछ्यौरा हल्लाउँदै आएर भनिन्, “हाम्रा त जति दुःख गरे पनि काउली फलेनन् रहरै भयो काउली खान ।”
“सवेदार्नीको पेन्सन छ बुढी रहरै भयो काउली खान भन्छेऊ, किनेर खान सक्दिनौ । पैसा दिए त दिइहाल्छिन् क्यारे नि बजैले,” विमला दिदीले भनिन् ।
“गाउँमा बसेर पनि तरकारी किनेर खान्छन् ?”
गाउँ अरे, थाहा छैन महानगरपालिकाको वडा नं. २० भएको । सो कुरा जमाना कहाँ पुगिसकेछ तिमी तरकारी किनेर खान्न भन्छेऊ । माखो चियामा परे पनि चुसेर खाने र फाल्ने जस्तो व्यहोरा रहेछ बाइ यिनको त ।”
पोखरेली कान्छीले चर्को डाको गर्दै भनिन्, “धेरै सेखी लाएर नबोल, भुइँमा न भाँडामा होलिस् । तेरी आमा समान कि मान्छे हुँम अलि विचार गरेर बोल । नत्र कुन दिन, कुन खाल्टोमा जोकेलिस् । कसैलाई नआएको बैँस आएको ।”
‘झगडा नै त नगरो न । बोल्दा अलिकति सकिमर्की हुन्छ क्यारे नि,’ साइली भाउजूले मिलाउने ध्ययले भनिन् ।
“हुन त हो क्या । मैले पनि कति मेहनत गरे, कुखुराको मल कति हाले छम्कट्टै भएनन् । आफू भने कुखुरा पनि छैन । साच्चै बजै क्यारी लाउछेऊ भन त ? केही न केही रहस्य त छ क्या तिम्रा घरमा मात्र काउली फल्नुमा,” जूनकीरी फूपैले भनिन् ।
‘तिम्रा पोइहरू महिनामै ३०–३० हजारको जागिर खान्छन् । आफ्नो न समाउने हाँगो, न टेक्ने अखेटो त्यसैले उनै भगवान्ले हेरेका भन्न प¥यो नि !,’ आमाले भन्नुभयो– ‘यही तरकारी खेती पनि हुँदैनथ्यो भने त झोली थाप्दै हिँड्नु पर्दथ्यो ।’
एकछिन माहोल स्तब्ध भयो ।
“के गर्नु, हिजो त कराहीमा ओइरने केही नभएर सरासर आएर छयाक्क काटेर लैजाऊ स्तो भएको ।”
पुइँपुइँती लखेट्लिन् होला क्यारे नि बजैले देखिन भने त ।
के लखेट्दाम आफ्नी बुहारीलाई । तरकारीमा हाल्ने मरमसला पनि दिएर पठाउँदाम क्यारे नि । वरिपरि हासो गुञ्जन्छ ।
‘बुढिमाउ मनमा दुःख भए पनि हसिली छन् । उल्टासुल्टा कुरा गरेर हसाउँछिन् । त्यही भएर त यिन कहाँ आउन मन लाग्छ,’ माहिली काकीले भनिन् ।
‘दुःख र आँसु देखाएर शत्रु हसाउनुमात्र हो । कसले कसको भागमा के हालिदिन्छन् र ?’, पोखरेली कान्छीले भनिन्– ‘जे छ आफ्नो पाखुरा र कर्ममा छ ।’
हुन त हो, दुःख देखाउनु र फाटेको कपडा लगाउनु एउटै हो । त्यसै भएर यो दिनभरि माटोसँग मिलेर तरकारी लाउनु किनेर खानु वेश लाग्छ, जूनकीरी दिदी भन्छिन् ।
भित्र खाटमा पल्टिरहेको मलाई लागिरहेको थियो, आज यो समयमा आउञ्जेल पनि कताबाट यस्ता मान्छे बाँकी रहे ? किन कर्मलाई सम्मान गर्ने बानी व्यहोरा बसेन ? मलाई खसखस लागिरह्यो । झन् तरकारी खेतीमाथि प्रकट भएको हेय भावले त मलाई कत्ति चित्त बुझेन । मलाई सब यो बडप्पनको महत्वकांक्षा र पैसाको पक्षमा मान्छेहरूले बनाएको धारणा हो भन्ने लाग्यो । जोसुकै मान्छे धनी हुन चाहन्छ । थोरै लगानीमा धेरै आम्दानी गरे जस्तै थोरै पसिना बगाएर अकुत पैसा कमाउन चाहन्छु ।
जीवन बाँच्नुको अर्थ अनि आत्मसम्मानको महत्व बुझ्न हिचकिचाउँछ । त्योभन्दा म धनी हुनुपर्छ, जसरी भए पनि धनी हुनुपर्छ भनने सोच्छ । समाज पनि कृतध्न छ । एउटा परिश्रमी र स्वाभिमानी जीवन बिताइरहेको मान्छेलाई वेवास्ता गर्दछ । बरु गलत बाटोबाट आर्जन गरेको धनलाई महत्व र प्रतिष्ठा दिन्छा । कतै ऊ टाढा हुन्छ कि भनेर चाकडी गर्छ । शिर निहुराएर नमन गर्छ । उसका गुनगान गाउँछ । उसँग नाता सम्बन्ध बनाउँदा गौरव गर्छ ।
तर कहिले उसले सोच्दैन, त्यसरी रातारात धनी हुने व्यक्ति कसरी धनी भयो ? अर्थात् उसले कुन तरिकाले धन आर्जन ग¥यो । यदि गलत तरिकाले आर्जन गरेको हो भने त ठीक ठान्नु हुँदैन । उसलाई के धनी भएको हिसाबले कुनै प्रतिष्ठाको दर्जामा राखिनु