तिम्रो जिन्दगी जल्यो!
तिम्रो मात्र होइन
नेपाल र नेपालीत्वमाथि
अपमानको पहिरो चल्यो
उडिसा जल्यो!
प्रेम!
ज्यान लिने प्रेम!
आफ्नै यौवनलाई
निर्वाङ्ग बनाउँने प्रेम!
तिमीले बल्ल
यथार्थ बुझ्यौ
गिद्ध रहेछ
तिमीले अँगालेको मान्छे!
प्रेमकै आँखा
ठुँग्यो उसले!
प्रेम यस्तै हो भने
प्रेमका सम्पूर्ण
उत्सवहरू बेकार लाग्छन्
प्रेमको ताजमहलमा
रगतका छिर्का परे
उसको चितुवा
प्रवृत्ति देखेर
कलेजसँग
गुहार माग्यौ
सुनेनन् उनीहरूले
नेपाली विद्यार्थीहरू
मुला थिचेझैं थिचिए
आगालाई निभाउँनुसट्टा
उल्टै,
मृत्युको आगातिर
धकेले तिमीलाई
सानो देश,
साना मान्छेको
पीडा कसले
सुनिदिन्छ र !
अविवेकी शासक,
अविवेकी संरक्षक,
भएको देशमा
कोपिलाहरू
फक्रन नपाउँदै
मत्त आगाको
सिकार हुन्छन्
*
फागुन 11,2081




