
आज २० वर्ष भयो विजय ढकाल ‘विश्वास’को सहादत भएको । उनलाई पोखराको निर्मलपोखरीको साम्मीको पाखामा तत्कालीन नेपाली सेनाले नियन्त्रणमा लिएको थियो । विजयको साथमा कुनै हतियार थिएन । हतियारविहीन व्यक्तिलाई सेनाले चरम यातना दिएर हत्या गरेको थियो । भनिन्छ यौटा क्रान्तिकारीको सहादतले हजारौं क्रान्तिकारीको उदय हुन्छ । भयो पनि त्यस्तै ।
विजय लगायत सयौं सहिदको सहादतले जनयुद्ध निर्णायक मोडमा पुग्यो । शाही सत्ताको जग हल्लियो, देश नै जनयुद्धमय भयो । जनयुद्धले गणतन्त्र बीउ रोप्न सफल भयो । क्रान्तिले राजाको प्रजातन्त्रमा रमाएका दलहरूलाई गणतन्त्रसम्म आउन बाध्य बनायो ।
विजय ढकालले सानै उमेरमा ‘क्रान्ति’ सुने, क्रान्ति पढे । उनका बुवा साहित्यकार घनश्याम ढकालले क्रान्तिकारी कथा र उपन्यास लेखिरहँदा उनको बाल मनमा क्रान्ति चेत आफ्नै तरिकाले छिर्यो । असल मातापिताका सन्तान विजयलाई जीवन र जगतको यथार्थ बोध गर्न लामो समय लागेन । सानै उमेरमै आफ्नै आमा पारु ढकालबाट गाउँ समाजका बेथिति र अन्यायको बारेमा ज्ञान भयो ।
महान क्रान्तिकारी योद्धा थिए उनी । उनी सहादतले मात्रै महान बनेका होइनन् । सहादतभन्दा अगाडि नै थुप्रै सुन्दर इतिहास रचेका थिए ।
उनको घर वामपन्थी लेखक, साहित्यकार र राजनीतिकर्मीका लागि यौटा साझा चौतारी थियो । त्यही चौतारीमा भएका छलफलले उनलाई अन्यायका विरुद्ध लढ्न सिकायो । सानै उमेरमा अर्थात् स्कुले जीवनमै उनी विद्यार्थी आन्दोलनमा होमिए । २०४६ सालमै विद्यार्थीमाझ राजनीतिक व्यक्तित्वका रूपमा स्थापित भए । राजनीतिमा लागे पनि अध्ययनमा निकै रुचि थियो । कुनै पनि विषयवस्तु एक चोटि हेरेपछि त्यसबारे घन्टौं बहस र भाषण गर्न सक्थे उनी । पृथ्वीनारायण कलेजमा उनको प्रतिभा र क्षमता देखेर फरक विचार राख्नेहरु पनि प्रभावित भएका थिए ।
तत्कालीन नेकपा (माओवादी)को विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी)मा संगठित हुँदादेखि नै उनीमाथि सरकारले धरपकड गर्न सुरु गर्यो । थुप्रै पटक हिरासत र जेलसम्म पुर्यायो । जेल पर्ने र छुट्ने क्रम धेरै नै भएपछि उनी भूमिगत नै हुनु प¥यो । २०५६ साल मंसिर २६ गतेदेखि पूर्ण भुमिगत भएर माओवादी पार्टीले दिएको जिम्मेवारी उनी सम्हाल्न थाले । कास्कीमा माओवादी आन्दोलन रक्षात्मक अवस्थामा भएका बेला उनी जिल्ला सेक्रेटरी जस्तो उच्च पदमा पुगे ।
उनी त्यो पदमा आएपछि कास्की, पर्वत जिल्लामा माओवादी आन्दोलन सशक्त हुँदै आयो । दिनहुँ जनसमर्थ थपिँदै गयो । कास्की माओवादीले राम्रो उचाइ पायो । उनको नम्र शैली र क्षमता देखेर थुप्रै पत्रकार, लेखक, साहित्यकार, वकिल, उद्योगपतिहरु आन्दोलनमा होमिन थाले । यही कुरा तत्कालीन सत्ताको टाउको दुखाइको विषय बन्यो । प्रतिकूलतालाई अनुकूलतामा लैँजादै उनी आफ्नो लक्ष्यमा अघि बढिरहे । भन्थे, ‘जीवन स्वयंमा एउटा लडाइँ हो भने युद्धबाट किन डराउने ?’
अहोरात्र मुक्तिका लागि संघर्षको मैदानमा खटिँदै गर्दा २०६१ पुस २९ गते आजकै दिन उनी दुश्मनको कब्जामा परे ।
उनका साथमा भएका तीन जना साथीहरू भाग्न सफल भए । निहत्था विजयमाथि सेनाले गोली वर्षायो । उनको एउटा खुट्टाको पिडुलामा गोली लाग्यो । उनले घाइते अवस्थामा पनि घेरा तोड्न खोजेका थिए तर सकेनन् । दुश्मनले कब्जामा लिए । कब्जामा लिएपछि उनलाई यातना दिन थाले । विचार र आस्थाबाट खारिएका महान योद्धाबाट कुनै सूचना प्राप्त गर्न नसकेपछि आगो बनेकाहरुले विजयको टाउकोमा छपनी प्रहार गरे । निर्मम यातना दिएर उनको हत्या गरे ।
महान क्रान्तिकारी योद्धा थिए उनी । उनी सहादतले मात्रै महान बनेका होइनन् । सहादतभन्दा अगाडि नै थुप्रै सुन्दर इतिहास रचेका थिए । उनको क्षमताको वर्गदुश्मन पनि प्रशंसक थियो । साथीभाइका प्रेरणाका स्रोत थिए उनी । विजय जहाँ पुग्थे, त्यहाँ सबैको मन जितेर फर्किन्थे । थुप्रै अनुजका लागि विजय दाइ थिए, थुप्रै अग्रजका लागि विजय बाबु थिए ।
जसको नेतृत्व उनी युद्धमा होमिएका थिए, बलिदानी गरेका थिए । त्यही शक्ति बारम्बार सक्ताको नेतृत्वमा पुग्दा पनि विजयका सपना साकार हुने दिशामा काम भएको देखिँदैन । नेकपा माओवादी केन्द्र धेरै पटक सत्तामा पुग्यो, अहिले प्रमुख प्रतिपक्षी छ । न जनयुद्धको मर्म सम्बोधन हुन सकेको छ, न सहिद, बेपत्ताका सपनामा साकार हुने संकेत छ । शान्ति प्रक्रिया पनि यसरी लम्बिएको छ कि, प्रक्रिया सकिए पनि पीडितले न्याय पाएको वा नपाएकोमा खास भिन्नता महसुस नगर्ने गरी सेतीमा पानी बगिसकेको छ ।
आज उनको स्मृतिमा भएको कार्यक्रममा फूलमाला चढाउँदैमा र एक मिनेट मौनधारण गर्दैमा क्रान्तिको अभिभारा पूर्ण हुँदैन । केही मान्छे शासकमा पुग्दैमा क्रान्ति सफल हुँदैन । भौतिक शरीर अन्त भए पनि आज विचार र कर्मले हामीमाझ बाचिरहेका छन् उनी । विजय दाइ हार्दिक श्रद्धाञ्जली !