रविविरुद्ध मुद्दा दर्ता हुँदै

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति रवि लामिछानेसहित ५ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा अभियोगपत्र पुगेको छ । जिल्ला सरकारी वकिलको कार्यालयले आइतबार अभियोगपत्र पठाएको हो ।

उनीहरु पाँचै जनालाई प्रहरीले कास्की जिल्ला अदालतमा उपस्थित गराइसकेको छ । पोखराको सूर्यदर्शन सहकारी ठगी आरोपमा पक्राउ परी हिरासतमा उनीहरुविरुद्धको अभियोगपत्र दर्ता हुने क्रममा छन् ।
उनीहरलाई हिरासतमा राख्न पाउने म्याद शुक्रबार सकिएको थियो । गएको सोमबार कास्की प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएपछि मङ्गलबारबाट लागू हुने गरी अन्तिम पटक अदालतले चार दिनको म्याद दिएको थियो ।
प्रहरी प्रतिवेदनमा लामिछानेसहित ५१ जनालाई प्रतिवादी बनाउन सिफारिस गरिएको छ भने एक अर्ब ५१ करोड ४० लाख १९ हजार एक सय ९४ रुपैयाँ बिगो मागदाबी लिन राय दिइएको छ ।
उनीहरुलाई प्रहरी प्रतिवेदनमा सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धिकरण गरी तीन अभियोगमा मुद्दा चलाउन सिफारिस गरिएको छ । कास्की जिल्ला अदालतमा मुद्दा दर्ता भई विचाराधीन रहेका १९ जनाविरुद्ध पनि अनुसन्धान गरी पूरक प्रतिवेदन प्रहरीले बुझाइसकेको छ । १९ जनाविरुद्ध संगठित अपराध र सम्पत्ति शुद्धिकरण अभियोग थपेर शुक्रबार पूरक अभियोग दर्ता भएको छ ।