कोही युरोप, अमेरिक, मलेसिया, कतारामा छौं
युवा शक्ति सकेसम्म देश छाड्ने हतारमा छौं
मलिला ती खेतबारी बाँझै चौर बनाएर
अझै हामी अर्कैको देश धनी पार्ने रफ्तारमा छौं ।
नाता अनि सम्बन्ध त पुल जस्तै हुनुपर्छ
सम्बन्ध त सधैं सङ्लो मूल जस्तै हुनुपर्छ
जता फाइदा उतै झुक्ने सूर्यमुखी हुनुहुन्न
सम्बन्ध त बाह्रैमासे फूल जस्तै हुनुपर्छ ।
शकुन ज्ञवालीका मुक्तकले भने जस्तै विमानस्थलबाट उड्नेहरु बर्सेनि बढिरहेका छन् । गाउँहरु वृद्धाश्रम जस्ता बन्दै छन् । सहरहरुमा पनि युवाको संख्या कम हुँदै छ । दसैं सुरु भइसक्दा मखमली र सयपत्रीहरु फूल्ने तर्खरमा छन् । सँगसँगै दसैं मनाउन गाउँ, घर फर्किने नेपालीको ताँती देखिँदै छ । केही दिनअघि आएको बाढी, पहिरोले धेरै नेपालीको मन अमिलो बनाएको छ । यही पीडाकै बीचमा पनि यसपालिको दसैं संघारबाट भित्र छिरिसकेको छ । यही ताँतीको सदस्य बनेर यही साता नेपाल आइपुगेकी छन् शकुन्तला ज्ञवाली ।
बारम्बार व्यवस्था बदलिए पनि अवस्था नबद्लिएकोमा उनको रोष छ । देशको अवस्था बद्लिएको भए शकुन जस्तै धेरै नेपालीले जीवनको अर्थ खोज्दै शायद परदेशिनुपर्ने थिएन ।
गुल्मीको कोलौदीमा जन्मिएकी उनको कर्मभूमी फेरिएको एक दशक नाघेको छ । अहिलेको भर्चुअल दुनियाँमा उनको परिचय पनि फेरिएको छ । संगीत कर्मसँगै साहित्यमा पनि उत्तिकै सक्रिय उनी अहिले शकुन ज्ञवालीका रुपमा चिनिन्छिन् । ४ वटा कविता सञ्चयन प्रकाशनपछि गत वर्ष उनको मुक्तक संग्रह ‘खबरमा छु प्रिय !’ प्रकाशित भएको थियो । यहाँ त्यही संग्रहबारे पाठक प्रतिक्रिया राख्ने जमर्काे गरिएको छ ।
ढोंगी समाजप्रति कटाक्ष गर्दै उनी समाज र मान्छेको असली रुप दुःख पर्दा देखिने औंल्याउँछिन् ।
सकुनका मुक्तकमा समाज स्वार्थी बन्दै गएकोमा चिन्ता व्यक्त गरिएको छ । ढोंगी समाजप्रति कटाक्ष गर्दै उनी समाज र मान्छेको असली रुप दुःख पर्दा देखिने औंल्याउँछिन् । जीवनलाई पाठशाला ठान्ने उनी दुःखबाट पार पाउने प्रयत्न गर्दा गर्दा मान्छेको जीवन सकिने बताउँछिन् । समाजशास्त्रमा स्नातकोत्तर उनी समाज र मान्छेका पीडालाई मुक्तकमा उन्छिन् र मुक्तक लेखनबाटै मन हलुंगो भएको अनुभूत गर्छिन् ।
हिजो कुरा काट्नेहरु पनि मुखले ठिक्क पार्न आउँछन्
हिजो टाढिएकाहरु नै आज सम्बन्ध नजिक सार्न आउँछन्
तपाईले प्रगति गर्नुभयो भने नौटंकी नै छ हाम्रो समाज
हिजो तपाईका खुट्टा तान्नेहरु नै आज धाप मार्न आउँछन् ।
बोल्दाखेरि सभ्य अनि शिष्ट बन्न जान्नुपर्छ
आफ्नो अक्कल नपुगेमा अरुले भन्या मान्नुपर्छ
पुल पनि पर्खाल पनि ढुंगाले नै बन्छ हजुर
पुल बन्ने कि पर्खाल बन्ने आफूले नै छान्नुपर्छ ।
अक्षर अक्षर बटुलेर गाँस्न सिकें मैले
अक्षरसँग खेल्दाखेल्दै हाँस्न सिकें मैले
अक्षर कोर्न नजान्या भए टुटी सक्थें होला
अक्षरले नै ऊर्जा दियो, बाँच्न सिकेँ मैले ।
शकुनको हृदयमा देशको माया गाढा देखिन्छ । प्रकृति, संस्कृति, सभ्यता र गाउँघरका बिम्ब जताततै प्रयोग गर्ने उनी देशको व्यवस्थाप्रति पनि जानकार छिन् । बारम्बार व्यवस्था बदलिए पनि अवस्था नबद्लिएकोमा उनको रोष छ । उनका केही मुक्तकमा यसको अभिव्यक्ति देख्न सकिन्छ । देशको अवस्था बद्लिएको भए शकुन जस्तै धेरै नेपालीले जीवनको अर्थ खोज्दै परदेशिनुपर्ने थिएन शायद । आफ्ना अनुभूतिलाई सिर्जनाको रुप दिएको स्वीकार्ने उनी अरुका दुःख, पीडा र प्रेमिल अनुभूतिलाई पनि मुक्तकमा चित्रण गर्न खप्पिस देखिन्छिन् ।
जति जति पीडा उति मुस्कुराउँछु अचेल
जिन्दगीलाई गीत बनाई गुन्गुनाउँछु अचेल
दुःख फिट्न सिकेकी छु धन्य ईश्वर मैले !
आफ्नै पीडा गजल बनाई सुनाउँछु अचेल ।
दिनदिनै बेचिएर रमाउँछ मान्छे
इमान जमान गुमाएर कमाउँछ मान्छे
पैसाबाहेक केही हेर्दैन दायाँ अनि बायाँ
पैसा खातिर दुष्टको पाउ समाउँछ मान्छे ।
देश कहिले फर्कूला खै, दोधार त यसमा छु
सुहाओस् या नसुहाओस् यै विदेशी भेषमा छु
दिनरात यही चिन्ताले पोल्ने गर्छ भित्रभित्रै
मुटुभरि देश बोक्छु, आफू भने विदेशमा छु ।
पुस्तकमा रहेको भूमिका र शुभकामनाको लामो ४० पेजको खण्ड छोटो भइदिएको भए राम्रो हुने थियो भन्ने पाठकलाई लागिरहन्छ । रुवाइयत शैलीका मुक्तकहरु रहेको कृतिमा केही ठाउँमा रहेका हिज्जेको गल्ती र प्रुफमा रहेका कसरमसरले काँहीकाँही पाठकलाई अल्मल्याउन सक्छ । आफैं लेखक, प्रकाशक, वितरक, सम्पादक हुनुपर्ने वाध्यताबाट गुज्रिइरहेको नेपाली साहित्यमा यस्तो हुनुलाई उति अनौठो मान्नु जरुरी छैन । मुक्तकको सिद्धान्तअनुरुप पहिलोमा विषयवस्तुको सुरुआत, दोस्रोमा विकास, तेस्रोमा कौतुलता र चौथो पङक्तिमा विषयवस्तुको चामत्कारिक समापनको कसीमा परिमार्जन गर्न सकिने केही ठाउँमा कृतिमा देखिन्छन् । पहिलो मुक्तक संग्रह भएकाले भावी कृतिमा यस्ता कमजोरीहरु सुधारिएलान् भन्ने अपेक्षा गर्न सकिन्छ ।
पोखराबाट ७ हजार २ सय किमी पर पुगेर जीविविषाका अनेक क्रियामा व्यस्त हुँदा पनि नेपाली साहित्यमा उनले देखाएको अनुराग र समर्पण स्तूत्य छ ।
पोखराबाट ७ हजार २ सय किमी पर पुगेर जीविविषाका अनेक क्रियामा व्यस्त हुँदा पनि नेपाली साहित्यमा उनले देखाएको अनुराग र समर्पण स्तूत्य छ । ‘खबरमा छु प्रिय’ प्रवास र गाउँको झझल्को, पीडा, अनुभूति र नेपालीको जीवनलाई चित्रण गर्न सक्षम छ । छुट्टै विधाका रुपमा तग्रिँदै गरेको नेपाली मुक्तकले देश र प्रवास दुवैतिरबाट यस्तै यस्तै सयौं कृतिको अपेक्षा गरेको छ । अन्त्यमा शकुनको एउटा मुक्तकः
न कसैलाई जित्नु छ मैले, न कसैसँग हार्नु छ मैले
न कसैसँग मीत लाउनुछ, न कसैलाई पानी बार्नु छ मैले
लडाइँ, झगडा, तँछामछाड केका लागि कुन्नि
कसैलाई चोट नपु¥याई आफ्नै जीवन गुजार्नु छ मैले ।