कविता: लाटाे छु

हाे म लाटाे छु ।
साथी म लाटाे छु ,
तिमीलाई मूर्ख लाग्ने म निर्दोष देख्छु,
तिमीलाई ज्ञानी लाग्ने बेहोस देख्छु ।
तिमी बोल्न जान्नेलाई बुद्धिमान मान्छौ,
म वाचालहरूलाई वैमान मान्छु ।
तिमी आफैलाई जान्ने विद्वान् ठान्छाै ,
म तिमीलाई आफ्नै वास्तविकतादेखि अञ्जान ठान्छु ।

म फुल्न दिन्छु फूललाई तिमी फूलाउन खोज्छौ ,
म आफै भुल्छु प्रेममा तिमी भुलाउन खोज्छौ ।
तिमी छल-कपट गर्नुलाई बुद्धिमानी मान्छौ,
म कपटीलाई अधर्मको जालमा फसेको ठान्छु ।

तिमी गल्ती लुकाई झुठ बोल्न सक्छौ ,
म मात्र वास्तविक कुरा खोल्न सक्छु ।
तिमी बनिसकेको मूर्ति, म काचो माटाे हुँ ।
हाे साथी म अति लाटाे हुँ ।
साथी म लाटाे हुँ ।

तिमी सबैलाई झुकाउन खोज्छौ, म आफै झुक्छु,
तिमी धेरै माथि उड्न चाहान्छौ, म बस् उठ्छु ।
तिमी निदमा सपनामा देख्छाै,
मेरा सपनाहरूकाे संसारमा रात पर्दैन,
त्यसैले मेरा सपनाहरूलाई निद लाग्दैन ।

म अनविज्ञ छु, तिम्राे राजनितिक चालमा,
तिम्रो त्यो हरेक घुमाउरो जवाफमा सवालमा ।
मलाई ज्ञान छैन, बस् म भक्ति गर्छु
तिमी हरेक कुरामा, आशक्ती गर्छौ ।
तिम्राे दिमागकाे नाफा र नाेक्सानकाे गीत गाउँछ,
मेराे हृदयले शान्ति र प्रेमकाे वेदध्वनि गुनगुनाउँछ ।

फरक छ साथि!
बिल्कुल फरक छ तिमी र ममा
तिमी कति टाठाे-बाठाे छौ,
अनि म कति लाटाे छु ।
तिमीलाई तिम्राे बठ्याइमा गर्व छ ।
मलाई मेराे प्राकृतिक स्वरूपमा पश्चाताप छैन ।
तिमीलाई नदी दुई बाधकाे बिचमा हिडेकाे मनपर्छ ,
मलाई दुई किनाराको बिचमा हिडेकाे मनपर्छ ।
तिमीलाई गमलामा फूलेकाे गुलाफ मनपर्छ,
मलाई अक्करमा फूलेकाे सुनाखरी मनपर्छ ।
साच्चै”मभन्दा तिमी धेरै बाठाे छाै ।
म तिमीभन्दा धेरै लाटाे छु ।
साथि म लाटाे छु ।