देख्दै गरेको आधा सपना सिरानीमा थन्क्याउँदै
जुनेली रातमा उठेर
घुमाउदै चट्टानको बढेमान जाँतो
टिप्दै जुनका बुँदहरु
खै!आमाले मकै पिस्नुहुन्थ्यो कि रहर पिस्नुंहुंन्थ्यो
गाउँदै गरेको प्रेमको गीत टक्क रोकेर
आफ्नै उचाईभन्दा दोब्बर अग्लो
आफ्नै वजनभन्दा गर्हौ ढिकी
पैतालाले उचाल्नुहुन्थ्यो या बाध्यताले
यसरी कम्तीमा तीन दिनलाई सामल जोहो गरेपछि
बल्ल आउँथ्यो तीज गाउँमा
र पो तीज तीजजस्तो लाग्थ्यो।
तीजलाई भनेर साँचेर राखेको
गैरीबारीको ठूलो कान्लाको खरुकी घाँस
कम्तीमा छ सात भारी काटेर मतानमुनि थन्क्याएपछि
अर्थात् कम्तीमा
तीन दिनलाई घाँस काटेर पुर्याएपछि
अनि बल्ल आउंथ्यो तीज गाउँमा।
एकझमट मुलकुलो
पाखेखेतका सबै गरा फोक्टा छिचोलेपछि
छाँगेखोलाको पानी पाडारेखेतका
हरेक समाहा नाघ्दै जब पुछार गरा पुग्थ्यो
नौगरेका गरागरा सपना डुलेपछि
बल्ल तीज आउँथ्यो गाउँमा।
चौको भर्सेलामाथिको धुवाँ छोपिएको घुर्मैलो भित्ता
रातो सिन्दुरे माटोले पोतेपछि
कम्तीमा हाम्रो लागि तीन दिनलाई लुगा धोएपछि
आमा र हजुरआमाले
बिहेको रातो साडी कन्तुरबाट झिकेर
सुकाउनुहुन्थ्यो आँगनको डिलको पानी रङ्को बलामा
इन्द्रेणी जस्तै बनाएर
अनि मात्र आउँथ्यो तीज गाउँमा।
कोइली गाइ र मैनाभैँसीको घीउ खारेर
ठूल्ठूला दुईचार हर्पे भरिएपछि
जगमठेमा फलेको सफेद तोरी नखुवा मिलमा पिसेर
घरभरि आलो तेलको बास्ना चलेपछि
ढुङ्ग्रेबाँसको अग्लो ढुंग्रोमा
पहेलै पाकेको काक्राको खल्पी अमिलो भएपछि
फिलुङ्गेको धुले अचार ढिकीमा कुटेर तयार गरेपछि
बल्ल आउँथ्यो गाउँमा तीज।
कुनै एक बिहान उज्यालो बनेर
मामाहरु आमालाई लिन आउनुहुन्थ्यो
आमा थप उज्यालो बनेर फर्केपछि
अनि मात्र आउँथ्यो तीज गाउँमा ।
मेरी हजुरआमाले मेरी आमाले
तीजका नाममा न पार्टीप्यालेसमा डिस्को देख्नुभो
न फेसनको साडी,न छड्के तिलहरी,न महँगा गहना
न सुनको हार,
न उन्मादको लवज
न मादक अनुहार
जिन्दगी भीर र कुहिनो गर्दै बिताउँदै गर्दा पनि
सोचे झैँ जिन्दगी भएन भनेर
कुनै दिन गुनासो गर्नु भएन
न कहिल्यै हार मान्नुभो ।
थियो एउटा रुमानी धुन आफ्नै आवाजमा
अहिले पनि दोहोर्याउँ लाग्ने चयनको बासुरी
भुल्नै नसक्ने संङ्गिनी भाका
आँखामा टल्किन्थे हर्षका सितारा
अनि मात्र आउँथ्यो तीज गाउँमा।
अहिले प्रश्न गर्छु आफैँलाई
आज तीज तीजजस्तो छैन कि,
मलाईमात्र यस्तो लाग्छ?
गाउँ छोडेपछि
छोडिए धेरै कुरा
सँगै गाउँमै छुटेछ तीज पनि।