कविता: बा भैदिएको भए

आज बा भैदिएको भए
मैले बा लाई भन्थे
बा म पनि बा बने!

अचेल मेरो छोराले
मलाई बा भन्दा
मैले मेरा बा लाई
खुव सम्झिन्छु!
मेरो छोराले मेरो दायाँ हातको
औला समाउदा
मैले बा लाई सम्झिन्छु
छोराले केही कुरामा
जिद्दि गर्यो भने
बा लाई सम्झिन्छु
आमाको रङ उडेको अनुहार हेर्दा
बा लाई सम्झिन्छु
आमाले दाईलाई भाईको ख्याल गर्नु भन्दा
बा लाई सम्झिन्छु
आमाले मलाई दाइ बा समान हुन भन्दा
बा लाई सम्झिन्छु
दाइ को मुहार हेर्छु
बा लाई सम्झिन्छु
घरको मईन खाबो हेर्दा
बा लाई सम्झिन्छु
मैले आँखा खोल्दा बा लाई सम्झिन्छु
मैले आँखा चिम्लदा बा लाई सम्झिन्छु
बस् यत्ति भन्छु
मैले बा लाई हरपल सम्झिन्छु

आज बा भैदिएको भए….

बा हुनु भनेको
बा हुनु मात्र रहेनछ
सन्तानको मार्गदर्शक हुनु रहेछ
बा हुनु भनेको बा हुनु मात्र रहेनछ
सिङ्गो घर हुनु रहेछ!
बा हुनु भनेको नथाकि किन
परिवारको पुरै भार बोक्नु रहेछ
बा हुनु भनेको
परिवार एक हुनु रहेछ
बा हुनु भनेको परिवारमा
खुसि हुनु रहेछ
बा हुनु भनेको सन्तानको
आशीर्वाद हुनु रहेछ
बा हुनु भनेको
छोरा छोरिको आत्मविश्वास बढ्नु रहेछ
बा हुनु भनेको
छोरा छोरिको हिम्मत हुनु रहेछ

बा ले दु:ख कहिल्यै देखाएनन्
बा ले आँसु कहिल्यै झारेनन्
बा कहिल्यै थाकेनन्
बा ले यो कुरा कहिल्यै भनेनन्
छोरा,
बा हुन अफ्ठ्यारो रहेछ

आज बा भैदिएको भए
मैले बा लाई भन्थे
बा म पनि बा बने!
र हजुरकै पदचाप
पच्छ्याई रहेछु!

“बा’को मुख हेर्ने एवं कुशे औसीको सबैलाई शुभकामना”