अथक अधिकारकर्मी, पृथक वामपन्थी

टेकनाथ बरालसँग लेखक ।

मानवअधिकारवादी तथा वामपन्थी नेता टेकनाथ बरालको निधन भएको आज एक वर्ष पुगेको छ । उहाँको वार्षिकीमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । लामा र सेतै फुलेका दाह्री कपाल, झरिसकेका दाँत तर जोश, जाँगर १६ वर्षे तन्नेरीको जस्तो । झलक हेर्दा पुरोहित जस्तो तर नास्तिक । सेतै फुलेको दाह्री उहाँको पहिचान बन्यो । ‘दाह्री बा’ धेरैल चिन्ने सरल नाम बन्यो । मानवअधिकारको क्षेत्रमा सक्रिय बराल राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समिति नेपालका संस्थापक अध्यक्ष हुनुहुन्थ्यो ।

२०६० सालतिर हुनु पर्छ टेकनाथ बरालसँग मेरो पहिलो भेट भएको । सरल र सहज भाषामा मानवअधिकार सबै मानिसले मानव भएको नाताले पाउनु पर्दछ भन्ने अधिकारहरू हुन् भनेर मेरो मस्तिष्कमा उहाँले छाप पर्नु भयो । जसले मलाई मानवअधिकारको अभियानमा लग्ने प्रेरणा, ऊर्जा र प्रोत्साहन थपिरह्यो । राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समिति नेपालको उमेरले सबैभन्दा जेठो टेकनाथ बराल हुँदा कान्छो सदस्य बनेर म अभियानमा जोडिएको थिएँ । बरालका पदचाप पछ्याउँदै मानवअधिकार र सम्पदा संरक्षणको अभियानमा निरन्तर लाग्दै उहाँले स्थापना गरेको संस्थाको नेतृत्व सम्हालेर मैले फेरि अर्को समितिलाई यसको बागडोर हस्तान्तरण गरिसकेको छु ।

२० वर्षको संगतमा मैले चिनेका टेकनाथ बराल नेपालका सबैजसो राजनीतिक र मानवअधिकारका आन्दोलनमा पोखराबाट नेतृत्वकर्ता हुनुहुन्थ्यो । साधुजस्तो सादगी जीवन बिताउनुभएका बराल विचारमा भने प्रगतिशील हुन्थ्यो । सत्ता र शक्तिबाट सधैँ टाढा रहने उहाँ अहिलेका युवालाई चुनौती दिन सक्ने खालका वैचारिक, वैज्ञानिक र जीवनसापेक्ष विचार राख्नु हुन्थ्यो ।

२०६२÷०६३ को नागरिक आन्दोलनताका उहाँले भनेको सम्झन्छु–युग सधैँ प्रगतिशील हुन्छ । आजका युवाले नयाँ सोच र आदर्श राखेको छैन भने ऊ मभन्दा वृद्धहरूको भीडको सदस्य मात्र हुन्छ । दोस्रो जनआन्दोलन र त्यसपछिका सबैजसो आन्दोलनमा मानवअधिकारको अनुगमन गर्न बरालसँगै हिँड्ने अवसर मैले पाए । हक्की स्वभावका बराल त्यो उमेरमा पनि प्रहरीको गाडी रोकेर कसलाई नियन्त्रणमा लिइएको हो, कुन थानामा लग्न लागेको हो, मानवअधिकार हनन हुने गरी कुनै यातना दिइएको छ कि भनी खबरदारी गर्नुहुन्थ्यो ।

बरालको खबरदारीपछि प्रहरीले नै कतिपय आन्दोलनकारीलाई त्यही छोडिदिन्थे । गिरफ्तार भयकाहरू पनि ‘दाह्री बा’ले नाम टिप्नु भयो भनेपछि साँझ ससम्मान घर आइपुग्थे । बरालका योगदानका क्षेत्र अनेक छन्, उहाँ बहुआयामिक व्यक्तित्व हुनहुन्थ्यो । विभिन्न खालका आन्दोलनमा युवा, महिलालाई सहभागी गराउन र उत्प्रेरणा जगाउन उहाँको भूमिका स्तूत्य छ ।
सम्पदा संरक्षण, विभिन्न चरणमा हुने नागरिक आन्दोलन, मानवअधिकारका आन्दोलनमा उहाँ सबैभन्दा अघि हुनुहुन्थ्यो ।

कुनै कम्युनिस्ट दलमा आबद्ध नभए पनि उहाँ कम्युनिस्ट आचरण, सिद्धान्त र सांस्कृतिक रूपान्तरणको वकालत गर्नुहुन्थ्यो । उहाँलाई हामी राष्ट्रिय सम्पदा, स्वाभीमान र कम्युनिस्ट आन्दोलनका अगुवाका रूपमा स्मरण गरी रहन्छौं
। संविधान जारी नगरी पहिलो संविधानसभाको म्याद थप गर्ने कुर चलेपछि जनताको संविधान जारी नगरी संविधानसभा भवनबाट संविधान सभा सदस्यलाई निस्कन दिनुहुन्न भन्दै हामीलाई संसद भवन घेर्न काठमाडौँ जान आव्हान गर्नु भएको थियो ।

उमेर ६८÷७० पुगेको व्यक्ति दिनभर गाडीमा यात्रा गरी थकित हुँदा पनि रातभर सभा भवन पश्चिम गेटमा धर्नामा हामीसँगै बस्नुभएको थियो । देशको सीमा संरक्षण, राष्ट्रिय स्वाधीनता र मानवअधिकार भनेपछि बरालमा छुट्टै जोश र जाँगर भरिएको ऊर्जा देखिन्थ्यो । उहाँ कहिले टनकपुर पुग्नुहुन्थ्यो महाकाली बचाउन, कहिले सुस्ता पुग्नुहुन्थ्यो मिचिएको सीमा जोगाउन । उहाँले लुम्बिनी परिसरमा सम्पदाको बैठक राखेर हामीलाई सम्पदा संरक्षणमा निरन्तर लग्न अनुरोध गर्नु भयो, तिलौराकोट पु¥याउनु भयो । लुम्बिनी परिसरमै दुई सय बिरुवा रोपेर पोखरा फर्कँदा उहाँसँगको सत्संग जीवनभर अविस्मरणीय बन्यो ।

विभिन्न धर्म र समुदायका मानिसले अपनाई आएका सांस्कृतिक चाडपर्व, बिहे, व्रतबन्ध र मृत्यु संस्कार जस्ता कार्यमा भड्किलो विकृत संस्कृतिको रुपान्तरणमा उहाँका् निकै चासो र चिन्ता रहन्थ्यो । बराल जहाँ जहाँ जानुहुन्थ्यो, व्यक्ति र समाजले अँगालेका सांस्कृतिक मूल्यमा रहेका नमिल्दा पक्ष हटाउन आवाज उठाउनु हुन्थ्यो । उहाँको एउटा प्रमुख व्यक्तित्व समाज सुधारकको पनि थियो । एउटा कम्युनिस्ट योद्धाभन्दा पनि पछिल्ला दशक बराल मानवअधिकारवादीका रूपमा क्रियाशील रहनु भयो । वातावरण संरक्षण, संम्पदा संरक्षण, बालअधिकार संरक्षण उहाँको अभियान बन्यो ।

गत वर्ष आजकै दिन उहाँको निधन हुँदा गण्डकसहित देशभरका नेपाली वामपन्थी र मानवअधिकारकर्मीहरुले अपुरणीय क्षति भएको उल्लेख गरेका थिए । ब्रह्मण परिवारमा जन्मिएर पितृसत्तात्मक सोच परित्याग गरी सांस्कृतिक रुपान्तरण, माक्र्सवादसम्मत जीवन र समाज व्यवस्थाका हिमायती बराल पृथक खालका वामपन्थी नेता हुनुहुन्थ्यो । पुष्पलालदेखि मनमोहन, भरतमोहन जस्ता नेताहरुको संगत गर्नुभएका बराल पछिल्लो समय कुनै वामपन्थी पार्टीमा आवद्ध नभए पनि वामपन्थीहरुको एकता र समाजवादको वकालत गर्नुहुन्थ्यो

कसैको मानवअधिकार हनन भए सबैभन्दाअघि पंक्तिमा पीडित पक्षको अधिकारका लागि उहाँ उभिनुहुन्थ्यो । अथक अधिकारकर्मी र पृथक वामपन्थी नेता बरालको अभाव खड्किइरहेको छ । उहाँले अवलम्बन गरेको मार्ग हुँदै उहाँको लक्ष्यतर्फ अघि बढ्नु नै सच्चा श्रद्धाञ्जली ठहर्छ ।